Friday, January 10, 2025
घरसमाचारवनमन्त्री शाहीद्वारा झापाका हात्ती प्रभावित क्षेत्रको अवलोकन

वनमन्त्री शाहीद्वारा झापाका हात्ती प्रभावित क्षेत्रको अवलोकन

भद्रपुर, झापा । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही (ठकुरी)–ले आज झापाका जङ्गली हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ ।

झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि साझा सङ्कल्प बनाउने कार्य थालनीका सन्दर्भमा मन्त्री शाहीले प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको हो । 

मन्त्री शाही, कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, सचिव, महाप्रबन्धक लगायतको टोलीले स्थलगत अध्ययन–अवलोकन गर्नुका साथै जिल्लामा हात्ती समस्या समाधानका लागि झापाको धुलाबारीमा अन्तरक्रिया समेत गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।

अध्ययन–अवलोकनपछि मन्त्री शाहीले हात्ती समस्या समाधानसँगै यहाँका सामुदायिक वनमा रहेको सिमसार क्षेत्रका पर्यटकीयस्थललाई थप व्यवस्थित रुपमा विकासका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । 

उहाँले हात्तीलाई वनभित्रै टिकाउने र हात्ती प्रभावित क्षेत्रलाई हात्ती पर्यटनका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विशेष योजना ल्याउने उहाँको भनाइ थियो । 

आगामी बजेटमा हात्ती समस्या समाधान र सिमसार क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएर समावेश गर्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस महामन्त्री एवम् झापा क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारको साझा सङ्कल्प तयार गर्ने काम थालिएको बताउनुभयो । 

“झापामा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सर्वदलीय छलफल गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “सर्वदलीय छलफलबाट प्राप्त सुझावलाई संघ, प्रदेश र स्थानीय सरकारको साझा सङ्कल्प बनाएर सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ ।”

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -