काठमाडौँ । नेकपा माओवादी केन्द्रले उत्तरी छिमेकी मित्रराष्ट्र चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्यी काउन्टीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट सिजाङ क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुः ख व्यक्त गरेको छ ।
आज पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले एक विज्ञप्ति जारी गरी चिनको सिजाङ क्षेत्रमा गएको भूकम्पले पुर्याएको मानवीय क्षति र भौतिक क्षति प्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेकपा (माओवादी केन्द्र) चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ नागरिकको साथमा रहेको उल्लेख गरेको छ ।
हिजो चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्यी काउन्टीलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी १ सय २६ जना भन्दा धेरै मानिसहरूको मृत्यु भएको थियो भने १ सय ८८ भन्दा धेरै घाइते भएका थिए । मङ्गलवार स्थानीय समय अनुसार बिहान ९ : ५ मा ७.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।
जारी विज्ञप्तिमा भूकम्प परी मृत्यु भएका सबै चिनियाँ नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र राहत तथा पुनर्स्थापनाका लागि शीघ्र सफलताको कामना गरेको छ ।
नेपालमा पनि भूकम्पको धक्का महशुस गरिए पनि कुनै मानवीय क्षति नभएको जानकारी दिँदै अझै पराकम्पन आउन सक्ने भएकाले चनाखो र सतर्क रहन आमनागरिलाई अनुरोध समेत गरिएको छ ।