२३ पुस, काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको छ ।
सीआईबीको कार्यालय लाजिम्पाटमा बोलाएर मंगलबार गुरुङमाथि सोधपुछ गरिएको हो । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले गुरुङमाथि सोधपुछ गरिएको पुष्टि गरे ।
‘आज दोस्रो पटक उहाँलाई बोलाएर घटना विवरण कागज गराएका छौं । अनुसन्धानमा सहयोग गर्छु भन्नुभएको छ’ बोगटीले अनलाइनखबरसँग भने ।
साढे १२ बजे सीआईबीको कार्यालयमा पुगेका गुरुङमाथि दिउँसो ५ बजेसम्म सोधपुछ गरिएको थियो ।
यसअघि २८ कात्तिकमा सीआईबीले गुरुङलाई आफ्नो कार्यालयमा बोलाएर सोधपुछ गरेको थियो ।
मितेरी सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका सचिव बोधबिक्रम थापाले महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध सीआईबीका उजुरी दिएका थिए ।
त्यसपछि यो सहकारीको अनुसन्धान सीआईबीले सुरु गरेको थियो । यो सहकारी ठगी प्रकरणमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योतीबहादुर भण्डारीविरुद्ध रेड नोटिस समेत जारी भएको छ । तर उनीहरू पक्राउ पर्न सकेका छैनन् ।