Thursday, January 9, 2025
घरसमाचारकिन हुँदैछ मदिराको प्याकेजिङमा क्यान्सर चेतावनी लेबल राख्‍ने बहस ?

किन हुँदैछ मदिराको प्याकेजिङमा क्यान्सर चेतावनी लेबल राख्‍ने बहस ?

काठमाडौं । चुरोटमा जस्तै मदिरामा पनि क्यान्सरसम्बन्धी चेतनाको सूचनासहितको लेबलिङ गर्नुपर्छ भन्ने बहस अमेरिकामा सुरु भएको छ । केही दिनअघि अमेरिकाका सरकारी शल्य चिकित्सक डा. विवेक मूर्तिले मदिरा सेवन र क्यान्सरको सम्बन्ध स्पष्ट रूपमा प्रमाणित भइसकेको प्रतिवेदनसहित उक्त प्रस्ताव पेश गरेका थिए ।

विभिन्न अध्ययनले मदिरा सेवनका कारण मुख, घाँटी, स्वरयन्त्र, कलेजो, स्तन, आन्द्राको क्यान्सर हुनसक्ने पुष्टि गरेको उनको दाबी छ । यद्यपि क्यान्सरको जोखिमबारे मानिसहरू अझै अनभिज्ञ रहेको जनाउँदै वरिष्ठ अमेरिकी चिकित्सकमा मूर्तिले एक रिपोर्ट प्रस्तुत गर्दै भने,  ‘यो जोखिमबारे थाहा दिन मदिराका बोतल तथा प्याकेजिङमा लेबलिङ राख्न अति आवश्यक छ ।’

उनले यस्तो प्रस्ताव राखेपछि कार्यक्रमा उपस्थित अमेरिकी चिकित्सकहरुले स्वागत गरेका थिए । लेबलिङ राखेमा मदिरा पिउँदा हुने दीर्घकालीन क्षति र यसले स्वास्थ्यमा पर्ने प्रभावबारे जानकारी हरकोही पिउने व्यक्तिले पाउने डा. मूर्तिको भनाइ छ । उनका अनुसार चाहे त्यो बियर होस् वा वाइन कुनै पनि किसिमको मदिराले क्यान्सर गराउन सक्छ ।

क्यान्सरको चेतावनी मदिराका बोतल तथा प्याकेजिङमा समावेश गर्नुपर्छ भन्ने आवाज उठाउने अमेरिका पहिलो देश भने होइन । यसअघि अस्ट्रेलिया, क्यानडा, युरोपेली संघ, न्युजिल्याण्डमा पनि मदिराको प्याकेजिङमा क्यान्सरको चेतावनी लेबल राख्नुपर्ने विषयमा नीतिगत बहस भएका थिए ।

अस्ट्रेलियामा विशेषगरी गर्भवती महिलालाई लक्षित गर्दै ‘गर्भावस्थामा मदिरा सेवन नगर्नुहोस्’ भन्ने चेतावनी अनिवार्य गरिएको छ । यद्यपि, क्यान्सरसम्बन्धी चेतावनीहरू समावेश गर्ने विषयमा अझै पनि छलफल जारी छ ।

क्यानेडियन सेन्टर अन सबस्टेन्स युज एण्ड एडिक्सनले उल्लेख गरेअनुसार क्यानडाको युकोन क्षेत्रमा सन् २०१७ मा मदिरामा क्यान्सरसम्बन्धी चेतावनी लेबल राख्ने पाइलट प्रोजेक्ट सुरु गरिएको थियो । यसले मदिरा सेवन र क्यान्सरबीचको सम्बन्धबारे उपभोक्तालाई जानकारी दिने उद्देश्य राखेको थियो । तथापि, मदिरा उद्योगको दबाबका कारण यो प्रोजेक्ट केही समयपछि रोकिएको थियो ।

युरोपेली संघमा पनि मदिरामा स्वास्थ्य चेतावनी समावेश गर्ने विषयमा नीतिगत बहस भइरहेका छन् । केही सदस्य राष्ट्रले क्यान्सर लगायतका स्वास्थ्य जोखिमहरूको चेतावनी लेबल अनिवार्य गर्न प्रस्ताव गरेका छन्, तर यो विषयमा सर्वसम्मति भइसकेको छैन ।

यसले के देखाउँछ भने मदिराको सेवनले गम्भीर रुप लिने भएकाले नै अमेरिकासहित अन्य देशमा पनि मदिरामा क्यान्सरसम्बन्धी चेतावनी लेबल राख्ने विषयमा कानुनी र नीतिगत बहस भइरहेका छन् । तर पनि यी देशमा पूर्णरूपमा क्यान्सर चेतावनी लेबल अनिवार्य गर्न सकिरहेको भने छैन ।

यसैबीच कतिपय देशमा मदिराको मात्रा कम लिंदा क्यान्सरदेखि डराउन पर्दैन भनेर अफवाह फैलाएको पनि पाइन्छ । जसले गर्दा पनि क्यान्सर चेतावनी लेबल राख्ने कि नराख्ने भन्ने ? विषयमा कुनै निचोड निस्कन सकेको छैन ।

के भन्छन् नेपालका क्यान्सर विशेषज्ञ ?

क्यान्सर विशेषज्ञका अनुसार मदिरामा चेतावनी राख्ने प्रयास स्वागत योग्य भएपनि चुनौतीपूर्ण छ । क्यान्सर रोगको चेतावनी लेबल राख्नुपर्ने आवाज उठ्नु राम्रो भएपनि कार्यान्वयनमा ल्याउन गाह्रो हुने क्यान्सर रोग विशेषज्ञ डा. समिम अख्तर बताउँछन् ।

क्यान्सर रोग विशेषज्ञ डा. समीम अख्तर

किस्ट अस्पतालमा कार्यरत डा. अख्तर भन्छन्, ‘अन्तर्राष्ट्रिय स्तरमा बहस हुनु राम्रो हो । यो कुरा उठाउँदै गए भोलिको दिनमा रक्सीको बोतलमा चेतनामूलक सन्देश बोकेको लेबल पनि होला । तर तत्कालका लागि नेपालको हकमा सोचे जति सहज छैन ।’

उनी थप्छन्, ‘नेपालमा मदिरा सेवन सामाजिक र सांस्कृतिक रूपमा सामान्य मानिन्छ । कतिपय समुदायमा घरघरमै पनि रक्सी बनाउने चलन छ । त्यसैले लेबलिङ गर्नु चुनौतीकै विषय लाग्छ ।’

थोरै-थोरै गरी लत बस्दै गई क्यान्सर गराउन सक्ने रक्सीको अवगत नभएर पनि क्यान्सरको मुखमा धकेलिंदै गएको उदाहरण कैयौं रहेको उनी बताउँछन् ।

यता, भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसे पनि मदिरामा क्यान्सरको चेतावनी राख्दा क्यान्सरबाट धेरैलाई बचाउन सकिनेमा सहमत छन् ।

क्यान्सर रोग विशेषज्ञ डा. उज्जवल चालिसे

उनी भन्छन्, ‘चुरोटमा चेतावनी दिइन्छ, जसले गर्दा कतिपय खान डराएर पनि खान छाड्छन् । त्यसैगरी मदिराजन्य पेय पदार्थमा पनि क्यान्सरको चेतावनी राख्ने हो भने यसको लत बस्ने र क्यान्सरको जोखिम कैयौं हदसम्म कम हुनसक्छ ।’

थोरै मात्रामा मदिरा सेवन कति उचित ?

नेपालका कतिपय समुदायमा मदिरा संस्कारकै रुपमा स्थापित पेय पदार्थ पनि हो । अतिथि सत्कार तथा चालचलनकै रुपमा यो प्रचलनमा रहेको पाइन्छ । अझ पछिल्लो समय ‘थोरै खानु शरीरका लागि फाइदाजनक पनि हुन्छ’ भन्ने भ्रमकै कारण पनि धेरैले पिउन सुरु गरेको पाइन्छ ।

‘पहिला थोरै मात्रामा मदिरा लिएमा स्वास्थ्यलाई असर गर्दैन भन्ने थियो,’ डा. चालिसे भन्छन्, ‘पछिल्लो समय कुनै पनि मात्रा सुरक्षित नभएको केही अध्ययनले प्रमाणित गरिसकेको छ ।’

मदिराले केही मात्रामा शरीरलाई फाइदा गर्ने केही अध्ययनको दाबी झुटो हुन् त ?

डा. चालिसे भन्छन्, ‘केही अध्ययनले मदिराको न्यून सेवनबाट फाइदा हुने दाबीलाई स्वीकार गर्न सकिंदैन । वाइनको फाइदाबारे कुरा उठेको हो । तर त्यसलाई प्रमाणित गर्न कठिन छ ।’

उनका अनुसार दिनको एक गिलास पिउनेलाई क्यान्सर लाग्ने जोखिम कहिले नपिउनेको दाँजोमा ४० प्रतिशतले बढ्छ । महिलामा तुलनात्मक रुपमा १० प्रतिशतले स्तन क्यान्सर हुने जोखिम रहने अध्ययनहरुले पुष्टि गरेको कुरालाई नकार्न नसकिने डा. चालिसे बताउँछन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि यसै भन्छ । ‘क्यान्सरको जोखिम मात्र हैन, मदिराको थोरै मात्रा पनि समग्र स्वास्थ्यको हिसाबले ठीक छैन । मदिराको थोरै मात्रा गर्दा गर्दै शरीरको प्रत्येक भागहरुलाई बिस्तारै गलाउने हुँदा मदिरा नखानु उपयुक्त हुन्छ,’ विश्व स्वास्थ्य संगठनले भनेको छ ।

मदिराले कसरी क्यान्सर गराउँछ ?

डा. अख्तरका अनुसार मदिरामा हुने रसायनहरुले डीएनए र प्रोटिनलाई क्षति गरी क्यान्सरको कोषिका विकास गर्न सहज वातावरण बनाउँछन् ।

‘मदिरा कलेजोमा गएर त्यहाँका भागहरु सुन्नाउने, कोषिका नष्ट गरी विकारहरु उत्पन्न गराउँछ । जसले पछि गएर सिरोसिस गराई कोषिकालाई क्यान्सरमा परिणत गराउँछ,’ उनी भन्छन् । त्यति मात्र हैन, मदिरा र चुरोटसँगै खाएमा क्यान्सरको जोखिम बढी गराउँछ ।

मदिराले हर्मोनको स्तरमा बाधा गरी कार्सिनोजेनस जस्ता सुर्ती तथा धुम्रपानयुक्त पदार्थलाई पनि शरीरमा अवशेषित गर्न सहज पार्छ । जो आफैंमा छाती, मुख र घाँटी क्यान्सरका कारक हुने डा. चालिसे बताउँछन् ।

क्यान्सरसम्बन्धी सचेतना पाठ्यक्रममै राख्नुपर्छ

क्यान्सर चेतना लेबलिङ राख्ने अभ्यास नहुँदै पनि मदिरा सेवन र यसले गर्ने स्वास्थ्य जोखिमबारे सञ्चारमाध्यम र विद्यालयका पाठ्यक्रममार्फत जानकारी दिने व्यवस्था गरे जनस्वास्थ्य सुधारमा उल्लेख्य भूमिका खेल्ने डा. अख्तर बताउँछन् । सरकारले मदिराजन्य विज्ञापनलाई कडाइ र बिक्रीमा नियन्त्रण लागू गर्न सके पनि धेरै राम्रो हुने उनको भनाइ छ ।

‘सबैभन्दा सुरक्षित कुरा भनेको पूर्ण रूपमा मदिरा नपिउनु हो । तर हाम्रो सामाजिक र सांस्कृतिक परम्पराका कारण धेरै मानिसले मदिरा पिउँदैनन् भन्न कठिन छ,’ उनी भन्छन् ।

क्यान्सरमा मदिराको प्रभाव कति ?

बेलायती समाचार पोर्टल द गार्डियनमा प्रकाशित एक आलेखअनुसार अमेरिकामा प्रत्येक वर्षेनी मदिराका कारण करिब एक लाख जनमा क्यान्सर पुष्टि भइरहेको छ । जसमध्ये वर्षेनी २० हजारको मृत्यु हुन्छ । यसले पनि के देखाउँछ भने मदिरा पिउने व्यक्तिमा क्यान्सर हुने जोखिम उच्च हुन्छ ।

मदिरा पिउन छोडे जोखिमको मात्रा ट्छ ?

धुम्रपान छोडेपछि जोखिम घट्ने समयबारे धेरै अध्ययन भएका छन् । तर मदिराको सन्दर्भमा कुनै खास अध्ययन भइसकेको छैन । केही अध्ययनले भने मदिरा छाडेको २० वर्षपछि कलेजो क्यान्सरको जोखिम नपिउनेको बराबरीमा पुग्ने देखाएका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -