Thursday, January 9, 2025
घरसमाचारयू-१९ देखि घरेलु क्रिकेटसम्म चम्किरहेका उदीयमान ब्याटर मयन

यू-१९ देखि घरेलु क्रिकेटसम्म चम्किरहेका उदीयमान ब्याटर मयन

मयनले १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न सुरू गरेका हुन् । सानैदेखि क्रिकेटमा रूचि भएका उनलाई परिवारबाट पनि निकै साथ मिल्ने गरेको छ ।

२३ पुस, काठमाडौं । नेपाली क्रिकेटमा लामो समयदेखिको समस्या हो ओपनिङ ब्याटिङ । ओपनिङ कुनै पनि टोलीको इनिङमा जितको मुख्य आधारका रूपमा हेरिन्छ भने एउटा राम्रो योगफल बनाउन वा लक्ष्य पछ्याउँदा ओपनिङ ब्याटिङलाई नै सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

नेपालको सिनियर टिममा ओपनिङको समस्या बल्झिरहँदा यू-१९ टिममा केही युवा ब्याटरहरूले आशा देखाइरहेका छन् । त्यसमध्ये एक भरपर्दा ब्याटर हुन् मयन यादव ।

१८ वर्षीय दाँयाहाते ओपनिङ ब्याटर मयनले नेपालको यू-१९ टोलीबाट गतवर्षको डिसेम्बरमा भएको यू-१९ एसिया कप खेलेका थिए र श्रीलंकाविरूद्ध अर्धशतक बनाएका थिए । उनको ब्याटिङमा शट सेलेक्सनहरू पनि निकै राम्रो देखिने गरेको छ ।

प्रधानमन्त्री कप र जय ट्रफीमा शतक

पिएम कपमा (बाँया) र जय ट्रफीमा (दाँया) शतक प्रहार गरेपछि मयन

मयनले गतवर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशबाट खेल्दै सुदूरपश्चिमविरूद्ध शतक बनाएका थिए । उनी मधेश प्रदेशका लागि प्रतियोगितामा शतक बनाउने पहिलो खेलाडी समेत बनेका थिए । प्रतियोगिताभर उनले ९ खेलमा २८७ रन बनाउँदै मधेशका दोस्रो सर्वाधिक रनकर्ता बने ।

अहिले जारी जय ट्रफी एलिट कपमा पनि उनको ब्याटबाट शतक निस्कियो । बागमती प्रदेशसँगको पहिलो खेलको दोस्रो इनिङमा उनले १२ चौका र २ छक्कासहित १०६ रन बनाएका थिए ।

पिएम कपमा बनाएको भन्दा यसपटकको शतक विशेष थियो किनभने यो परिवारकै अगाडि आएको थियो, उनले शतक बनाइरहँदा मैदान बाहिरबाट आमाले पनि हेरिरहेकी थिइन् ।

यसपटकको शतक अझै विशेष थियो किनभने यो रेड बल फर्म्याटमा परिवारकै अगाडि आएको थियो । जनकपुरमा उनले शतक प्रहार गरिरहँदा उनकी आमा पनि मैदानबाहिरबाट खेल हेरिरहेकी थिइन् ।

आमाको अगाडि शतक बनाउन पाउँदा निकै खुसी लागेको उल्लेख गर्दै उनले भने, ‘शतक हानेको बेला दिदी र मम्मी दुवैजना हुनुहुन्थ्यो । एकदम खुसी लाग्यो ममीले पनि देख्नुभयो भनेर । उहाँले एकदम गर्वको महसुस पनि गर्नुभयो।’

पिएम कपमा प्रहार गरेको शतकभन्दा अहिलेको शतक फरक भएको उनी आफैं पनि बताउँछन् । ‘पिएम कपमा सेतो बलमा थियो, अलि सजिलो हुन्छ ब्याटिङ गर्न । अहिले अब रेड बलमा भइरहेको खेल छ त्यसमाथि पनि विकेट हेर्दा बलरलाई फेभर गर्ने थियो अनि यहाँ पिचको अवस्थालाई एडप्ट गरेर खेल्नुपर्छ’ उनले भने ।

१३ वर्षदेखि क्रिकेट खेल्न सुरू, कुशल भुर्तेल र रोहित शर्मा आइडल

मयनले १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न सुरू गरेका हुन् । जनकपुरमा दाईहरूसँग मिलेर कभर्डहलमा क्रिकेट खेल्ने गरेको र प्रशिक्षक नविन सिंहबाट निकै सहयोग प्राप्त भएको उनी बताउँछन् ।

सानैदेखि क्रिकेटमा रूचि भएका उनलाई परिवारबाट पनि निकै साथ मिल्ने गरेको छ । यो कुरा जय ट्रफीमा मयनले शतक प्रहार गर्दा मैदानमै उपस्थित आमाको हर्षका आँसुहरूले पनि प्रमाणित गर्थे ।

‘घरमा बुबाआमा दुवैजना एकदम सकारात्मक हुनुहुन्छ, बुबा त आफैं पनि क्रिकेटका पारखी हो । एकदिन सपनामा देख्नुभएको पनि रहेछ अनि म क्रिकेटर भएको हेर्ने खुब रहर नै थियो उहाँको’ मयनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘मेरो एकदम केयर पनि गर्नुहुन्छ अनि क्रिकेटका लागि आवश्यक सुविधाहरू पनि उपलब्ध गराइदिनुहुन्छ।’

ओपनिङमा खेल्ने मयनका मनपर्ने खेलाडी पनि ओ‌पनर नै छन् । उनलाई नेपालबाट कुशल भुर्तेल मनपर्ने बताए भने भारतका स्टार क्रिकेटर रोहित शर्मा आफ्नो आइडल नै भएको बताए ।

कुशल र रोहित दुवै ओपनिङमा आक्रामक खेलाडीका रूपमा चिनिन्छन्, शट पनि राम्रो खेल्ने बताउँदै आफूलाई मन परेको उनको भनाइ थियो । ‘ दुवैजना निकै राम्रो खेल्ने ‌‌ओपनिङ ब्याटर हुनुहुन्छ, कुशल भुर्तेलको शटहरू भनपर्छ, रोहित शर्माबाट चाहिँ प्रभावित नै भएको थिएँ’ उनले बताए ।

एसिया कपमा श्रीलंकाविरूद्ध अर्धशतक

नेपालको यू-१९ क्रिकेट टोलीले सन् २०२४ को डिसेम्बरमा एसिया कप खेलेको थियो । नेपालले श्रीलंका, बंगलादेशसँग हार व्यहोर्दा अफगानिस्तानलाई हराएको थियो ।

श्रीलंकासँगको खेलमा मयनले अर्धशतकसहित ६२ रन बनाएका थिए । अर्धशतक प्रहार गर्दाको अनुभव सुनाउँदै उनले टेस्ट राष्ट्रविरूद्ध अर्धशतक प्रहार गर्न पाउँदा निकै खुसी लागेको बताए । ‘एसिया कपको त्यो एउटा खेलमा अर्धशतक लागेको थियो, त्यसले आत्मविश्वास बढाउन पनि निकै मद्दत गर्‍यो’ उनले भने, ‘टेस्ट राष्ट्रविरूद्ध त्यो इनिङ खेल्न पाउँदा निकै खुसी लागेको थियो।’

एसिया कपमा सहभागी हुनुअघि कर्नाटक यू-१९ सँग नेपालमै भएको अभ्यास खेलको सिरिजमा पनि मयनले निकै राम्रो प्रदर्शन गरेका थिए ।

सिनियर टिमबाट खेल्ने लक्ष्य

यू-१९ टिममा राम्रो प्रभाव पारिरहेका मयनले भविष्यमा राष्ट्रिय टोलीबाट खेल्ने मुख्य लक्ष्य रहेको बताए । ‘नेपालको सिनियर टिमबाट खेल्नु भनेको अल्टिमेट गोल नै हो, नेपालबाट खेल्ने सबैको सपना हुन्छ’ मयनले भने, ‘त्यसका लागि अझै धेरै मेहेनतको आवश्यकता छ, हार्ड वर्क गर्नुपर्छ अझै मैले।’

यसअघि यू-१९ टिमबाट राम्रो प्रदर्शन गर्दै छोटो समयमै सिनियर टिममा मौका पाइसकेका खेलाडीहरूको उदाहरण अहिलेको सिनियर टिममै पनि देख्न सकिन्छ । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, दिपेन्द्रसिंंह ऐरी, कुशल मल्लजस्ता खेलाडीहरू यू-१९ कै प्रदर्शनबाट सिनियर टिममा छाएका खेलाडीहरू हुन् ।

त्यस्तै केही खेलाडीले मौका पाउँदा पनि आफ्नो बेस्ट दिन सकेनन् भने केहीले मौका पाउनै बाँकी छ । यस्तोमा मयनका लागि पनि राष्ट्रिय टिमको ढोका खुल्ने अवसर जुर्न सक्छ त्यसका लागि कडा परिश्रम जरुरी हुने उनी आफैंको भनाइ थियो ।

त्यसका लागि अहिलेको यस बहुदिवसीय क्रिकेट प्रतियोगिता उनका लागि खुड्किलोको सुुरूवात पनि हुन सक्छ । व्यक्तिगत रूपमा पनि अहिलेको डेज क्रिकेटले निकै सहयोग पुग्ने उनको विश्वास छ । उनले व्यक्तिगत तथा समग्र नेपाली क्रिकेटका लागि यो बहुदिवसीय क्रिकेट निकै महत्वपूर्ण भएको बताए ।

‘डेज क्रिकेट महत्वपूर्ण हुन्छ खेलाडीहरूको लागि, नेपाली क्रिकेट र हामीजस्ता घरेलु खेलाडीलाई ग्रो गर्नमा एकदमै राम्रो भूमिका खेल्छ’ उनले भने, ‘डेज क्रिकेटमा मेरो पहिलो अनुभव पनि हो । रातो बलमा अभ्यासहरू गरिएको छ तर बहुदिवसीय खेल मैले पहिले खेलेको थिइनँ।

***

मयनले गत डिसेम्बरमा सम्पन्न नेपाल प्रिमियर लिग क्रिकेटमा जनकपुर बोल्टेसको टिमबाट खेलेका थिए । उनले जिमी नीशमजस्ता स्टार अलराउण्डरसँग एउटै डगआउट सेयर गर्ने मौका पाएका थिए ।

संयोगवश जनकपुरले उपाधि जित्दा विजयी शटमा २ रन पनि उनकै ब्याटबाट बनेको थियो । उनले एनपीएलमा छुट्टै अनुभव भएको उल्लेख गरे ।

‘एनपीएलमा भाइब्स नै छुट्टै थियो । ठुलो प्लेयरहरूसँग ड्रेसिङ रूम शेयर गर्दा धेरै कुरा सिक्ने अवसर पाइयो’ मयनले भने, ‘उनीहरूले कसरी तयारी गर्छन्, खेलअघि कत्तिको रिल्याक्स हुन्छन्, विकेटमा जानेबित्तिकै कति छिटो कन्डिसनलाई एडाप्ट गरेर कुन शटहरू खेल्छन् भन्नेजस्ता सबै कुराको अनुभव लिन पाइएको थियो ।

उनले सिनियर प्लेयरसँगै टिममा जोडिँदा पनि निकै फाइदा पुगेको बताए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -