Thursday, January 9, 2025
घरसमाचारनिमित्तले पनि राजीनामा दिएपछि काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन

निमित्तले पनि राजीनामा दिएपछि काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन

२३ पुस, काठमाडौं । निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि काठमाडौं महानगरपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ ।

पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपुर्‍याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको छ । छानबिन समिति बनेसँगै गुरागाईं बिदामा बसेपछि निमित्त प्रमुखको जिम्मेवारी शर्माले पाएका थिए ।

मेयर बालेन साह पारिवारिक भ्रमणमा थाइल्यान्ड गएको समयमै शर्माले पनि पदबाट राजीनामा दिएको महानगरले जनाएको छ । मेयर साह मंगलबार स्वदेश फर्किएका छन् ।

महानगरका प्रवक्ता नवीन मानन्धर र मेयर साहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले ५ पुसमा पत्रकार सम्मेलन गरी प्रक्रिया नै पूरा नगरी काठमाडौं टावरको नक्सा स्वीकृति दिएको भन्दै कानुन बमोजिम प्रक्रिया थालनी गर्ने जनाएका थिए ।

नक्सापास विवादमा महानगरले सर्वोच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सरकारका पूर्वसचिव शंकरप्रसाद पाण्डे र महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी सदस्य छन् ।

महानगर स्रोतका अनुसार मेयर साहले नै छानबिन भइन्जेल कार्यालय नआउनू भन्दै बिदा बस्न भनेका थिए । १७ पुससम्म बिदामा बसेका गुरागाईं कार्यालय आउने तयारी गरेपछि बालेनको सचिवालयले उनको कार्यकक्षमै ताला लगाइदियो । वातावरण नबनेपछि उनी अहिलेसम्म कार्यालय गएका छैनन् ।

गुरागाईंले प्रशासन विभागमा सम्पर्क गरी आफू आउनका लागि वातावरण बनाइदिन आग्रह गरे पनि कार्यकक्षमा ताला लगाएको जानकारी पाएपछि उनी आउन सकेका छैनन् ।

महानगरले त्यसबेला शिक्षा विभागका प्रमुख वरिष्ठ उपसचिव शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो । तर, शर्माले पनि महानगर प्रमुख बालेनको सचिवालयमा राजीनामा दर्ता गराएको महानगरका सहायक प्रवक्ता दिपक काफ्लेले बताए ।

‘निमित्त प्रमुखको राजीनामा स्वीकृत नभएकाले महानगरमा प्रमुख प्रशासकीय अधिकृत छैन भन्न मिल्दैन । महानगर आफ्नो ढंगले काम गरिरहेको छ,’ सहायक प्रवक्ता काफ्लेले भने ।

सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाओस् : बालेन सचिवालय

मेयर बालेनको सचिवालयले भने संघ सरकारले तत्काल महानगरमा प्रशासकीय प्रमुखका रूपमा सहसचिव खटाउनुपर्ने बताएको छ ।

‘गुरागाईंमाथि छानबिन भइरहेकाले उहाँलाई कामकाजको जिम्मेवारी दिनसक्ने कुरा हुँदैन । यसलाई बुझेर संघीय मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्ने हो,’ मेयरका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।

उच्च तहका कर्मचारीहरू बिदामा

महानगर प्रमुख प्रशासकीय अधिकृत विहनी बनेकै समयमा केही वरिष्ठ कर्मचारीहरू एकैसाथ बिदामा बसेको पाइएको छ ।

प्रशासन विभाग प्रमुख दिपक काफ्ले १७ पुसदेखि बिदामा छन् । यस्तै योजना अनुगमन तथा मूल्यांकन एकाई प्रमुख सुमित्रा लामिछाने सुवेदी पनि बिदामा बसेको स्रोतले बतायो ।

सुनिताले राखिन् विभागीय प्रमुखको बैठक

यसैबीच कार्यावाहक प्रमुख सुनिता डंगोलले विभागीय प्रमुखहरूको बैठक राखेर ब्रिफ्रिङ लिएकी छन् । नियत सफा राखेर काम गर्ने हो भने संकट टर्ने उनले सो अवसरमा बताएको कर्मचारीहरू बताउँछन् ।

‘दायित्व निर्वाह गर्ने क्रममा नियत सफा राखेर काम गर्नुपर्छ,यो कर्मचारीको धर्म हो,’ विभागीय प्रमुखहरूसँगको बैठकमा डंगोलले भनिन्, ‘काम गर्दै जाँदा परिस्थितिजन्य प्रशासनिक संकट आउन सक्छ । यो संकटबाट केवल कानुनले मात्र बचाउन सक्छ । यसकारण तपाईंहरू कानुनी व्यवस्थाप्रति पूर्ण इमान्दार र प्रतिबद्ध हुनुपर्छ ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -