बाँके । बाँकेमा पहिलोपटक लाहा खेती सुरु गरिएको छ। डिभिजन वन कार्यालय बाँकेले कोहलपुर–१२ स्थित सिर्जना सामुदायिक वनमा लाहा खेती विस्तार गर्दै स्थानीय स्तरमा नयाँ आयस्रोतको सम्भावना खोज्ने लक्ष्य लिएको छ। यो खेतीको औपचारिक सुरुआतसँगै लाहा खेती विस्तार तथा क्षमता विकास तालिम पनि सञ्चालन गरिएको छ।
डिभिजन वन कार्यालय बाँकेका अनुसार लाहा खेतीले सामुदायिक वनको संरक्षणसँगै स्थानीय उपभोक्ताहरूको आयस्तर सुधारमा ठूलो योगदान पुर्याउनेछ। लाहा विशेष गरी फर्निचर, सुनचाँदीका सामान र अन्य सामग्री निर्माणमा प्रयोग हुने महत्त्वपूर्ण कच्चा पदार्थ हो। कच्चा लाहाको प्रतिकेजी मूल्य १,००० रुपैयाँसम्म र प्रशोधन गरेपछि प्रतिकेजी २,००० रुपैयाँसम्म बिक्री हुने हुँदा यसले व्यावसायिक दृष्टिले पनि राम्रो सम्भावना बोकेको छ।
डिभिजन वन अधिकृत शङ्कर प्रसाद गुप्ताले बाँकेको वन क्षेत्रमा लाहा खेतीको सम्भावना प्रचुर रहेको बताउनुभयो। उहाँका अनुसार खेतीका लागि विज्ञहरूको टोलीले रूखको हाँगामा लाहा किरा (भ्रूण) छोडेर परीक्षण सुरु गरिएको छ। लाहा किरा बिरुवाको रस चुसेर खाना प्राप्त गर्ने भएकाले यो खेतीलाई थप मिहिनेत बिना सहजै विस्तार गर्न सकिनेछ।
यस्तै पूर्व सभामुख पूर्णाकुमारी सुवेदीले यस खेतीले सामुदायिक वन उपभोक्ताको आयस्तर सुधार गर्ने र वन विनाश रोक्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न उपभोक्ताहरूलाई आग्रह गर्नुभयो।
लाहा खेतीले सामुदायिक वनहरूको संरक्षणमा सघाउ पुग्नेछ। यस खेतीमा रूखका हाँगा काट्न नपाइने भएकाले वन क्षेत्रको दुरुपयोग रोक्न मद्दत गर्नेछ। साथै, स्थानीय उपभोक्ताहरूले लाहा उत्पादनबाट राम्रो आम्दानी गर्न सक्नेछन्, जसले उनीहरूको आर्थिक आत्मनिर्भरता बढाउनेछ।
लाहा खेतीका विज्ञ डम्बर विश्वकर्माका अनुसार यो खेती सहज र कम खर्चिलो छ। “लाहा उत्पादनका लागि धेरै श्रम आवश्यक नपर्ने भएकाले यसले वन क्षेत्रको दिगो व्यवस्थापनसँगै स्थानीय रोजगारीको अवसर पनि सिर्जना गर्नेछ,” उहाँले भन्नुभयो।