बाजुरा । सुदूरपश्चिम प्रदेशको सुप्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । बाजुरा, बझाङ, अछाम र डोटीको सिमानामा अवस्थित धर्तीको भू–स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जमा हिउँद भन्दा बर्खायाममा बढी पर्यटकहरू घुम्न आउने गरेको तथ्याङ्क छ।
राष्ट्रिय निकुञ्जका अनुसार खप्तडमा दिन प्रतिदिन स्वदेशी तथा विदेशी पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको हो।
खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार यादवले गत आर्थिक बर्ष २०८०।०८१ मा स्वदेशी विदेशी गरी करिब साढे तीन हजार पर्यटक घुम्न खप्तडमा पुगेका हुन् । निकुञ्ज कार्यालयका अनुसार गत वर्षमा ३ हजार ३ सय ७० जना स्वदेशी र सार्क राष्ट्रका ३२ तथा त्यस बाहेकका देशहरूबाट २६ जना खप्तडमा पुगेको तथ्याकंमा उल्लेख गरिएको छ ।
निकुञ्ज प्रमुख यादवले खप्तडमा लाग्ने गंगा दशहरा मेला बाहेक अरू समयमा घुम्न आउने पर्यटकहरूबाट शुल्क समेत लिने गरिएको छ।, त्यसमा स्वदेशी तथा विदेशीको फरक–फरक शुल्क निर्धारण गरिएको छ ।” खप्तडमा घुम्न आउने स्वदेशी पर्यटकहरूका लागि एक सय, सार्क राष्ट्रका लागि ७ सय ५० र अन्य विदेशी पर्यटकहरूका लागि एक हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको प्रमुख यादवले जानकारी दिनुभयो ।
खप्तड क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक स्थल, प्राकृतिक दृश्यका साथै विभिन्न जङ्गली जनावरसमेत देख्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटन लगायत क्षेत्र मनमोहक छन् । खप्तड क्षेत्रमा जेठ महिनामा गङ्गा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ ।
राष्ट्रिय निकुञ्जमा करिब ५ बर्ष अघि खप्तड क्षेत्रमा आउने पर्यटकको सहज आवास सुविधाका लागि दुई वटा आवास गृहका भवनहरू निर्माण गर्न सुरु गरिएका भएपनि हालसम्म पनि निर्माण हुन सकेका छैनन् । सुविधायुक्त भवन अभावमा खप्तड पुगेका पर्यटक भने चिसोले कठ्याङ्ग्रिएर रात बिताउन बाध्य छन् । ‘करोडौँका सुविधायुक्त भवन ठेकेदारको लापरबाही र अहिले बजेट अभावका कारण निर्माण सम्पन्न हुन नसकेर अलपत्र रहेको निकुञ्जले जनाएको छ ।