२२ पुस, काठमाडौं । तरकारी फलफूल बचत तथता ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बागमती प्रदेशको गरिबी निवारण तथा सहकारीमन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा सहकारीका अध्यक्ष दुर्गालाल श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन प्रस्तुत गर्दै श्रेष्ठले चालु आर्थिक वर्षमा साकोसले ट्याबलेट बैंकिङ सेवा सञ्चालनमा ल्याएको जानकारी दिए । बचत संकलन गर्नको लागि अनलाइन सिस्टम लागू भएको भन्दै उनले सहकारी डिजिटल प्रविधिको उच्चतम प्रयोग गरिएको बताए ।
साधारणसभामा साकोसका सचिव हरिकृष्ण श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा सहकारीमा १७७ जना सदस्य रहेकामा वृद्धि भएर हाल दुई हजार २५७ पुगेको छ ।
सहकारीको शेयरपूजी अघिल्लो आव २०७९/०८० मा ६ करोड ९५ लाख ५ हजार रहेकोमा आव २०८०/०८१ मा ४.४५ प्रतिशतले वृद्धि भएर सात करोड २६ लाख पुगेको छ ।
सहकारीले अघिल्लो आव २०७९ /०८० मा ४६ करोड एक लाख ९८ हजार ऋण लगानी गरेकोमा आव ०८०/०८१ मा ५.१८ प्रतिशतले वृद्धि भएर ४८ करोड ४० लाख ४३ हजार ऋण लगानी पुगेको छ ।
संचालक समितिका सदस्य राजन पराजुलीका अनुसार सहकारीमा हाल नगद तथा बैंक मौज्दात ११ करोड ५२ लाख ८१ हजार पुगेको छ । तरकारी फलफूल सहकारीमा २४ लाख ५१ हजार रुपैयाँबराबरको सम्पत्ति पुगेको छ ।
सहकारीको कूल आम्दानी २०८०/०८१ मा १३ करोड ९९ लाख ३८ हजार रहेको छ । सहकारीको साधारणसभामा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दीपक पनेरुलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शेयर सदस्यका छोराछोरीहरूमध्ये गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएकाहरूलाई सम्मान गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले जानकारी दिइन् ।