बर्दिया । बर्दियाको गुलरियामा निःशुल्क कपडा बैङ्क सञ्चालनमा आएको छ । उद्योग वाणिज्य संघ गुलरिया र नेपाल पत्रकार महासङ्घ बर्दियाको संयुक्त आयोजनामा निःशुल्क कपडा बैङ्क सञ्चालनमा ल्याइएको हो ।
निःशुल्क कपडा बैङ्क सञ्चालन गरेपछि कपडा लैजानेको भिड लाग्ने गरेको छ । हुनेले कपडा दान गरौँ र नहुनेले लैजाऔँ भन्ने नारा सहित निःशुल्क कपडा बैङ्क सञ्चालनमा ल्याइएको हो । कपडा बैंकले ज्याला मजदुरी गरेर खाने गरिब परिवारलाई चिसोबाट बच्न सहयोग गर्ने नेपाल पत्रकार महासङ्घ बर्दिया शाखा अध्यक्ष निर्मल घिमिरेले बताउनु भयो ।
आज दिउँसो १२ बजे देखि सुरु गरिएको थियो । कपडा बैङ्कमा घरमा आवश्यक नभएका तर काम लाग्ने खालका कपडा बैङ्कमा दान गरिएको थियो भने कपडाको आवश्यकता भएकाहरूले कपडा लगेका थिए । बैङ्क सञ्चालन भएपछि आफ्नो साइज अनुसारका कपडा लैजानेको घुइँचो लाग्ने गरेको छ । कपडा बैङ्क आज र भोली दुई दिन सञ्चालन हुने छ ।
उद्योग वाणिज्य संघ बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले आफ्नो साइज नमिलेका तथा घरमा रहेका आँफुहरुलाई काम नलाग्ने कपडाहरू ल्याएर कपडा बैङ्कमा ल्याइदिनका लागि अनुरोध गर्नु भएको छ । केही बर्ष यता बर्दियाको गुलरियामा नियमित रुपमा निःशुल्क कपडा बैङ्क सञ्चालन गरिँदै आएको छ ।