Wednesday, January 8, 2025
घरसमाचारमाओवादी बैठक : प्रचण्ड पनि महिनाको तीन दिन उत्पादनमा जोडिनुपर्ने

माओवादी बैठक : प्रचण्ड पनि महिनाको तीन दिन उत्पादनमा जोडिनुपर्ने

२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । आइतबारबाट काठमाडौंको धुम्बाराहीस्थित एक प्यालेसमा जारी बैठकको दोस्रो दिन सोमबार ८० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार ८० जना सदस्यले धारणा राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने क्रममा सबैजसो सदस्यले प्रष्ट विचार र राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्ने बताएका छन् ।

‘अध्यक्षको प्रतिवेदनमाथि ८० जना कमरेडहरूले बोल्नुभयो । प्रष्ट विचार, स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्नेमा सबैले अपिल गरेका छन्,’ दोस्रो दिनको बैठकपछि प्रवक्ता सापकोटाले भने, ‘जीवनशैली खुला पुस्तकको पानाजस्तो हुनुपर्छ, उच्च नैतीक चरित्र र सबैको विश्वास जित्ने खालको हुनुपर्छ भन्ने सबैको भनाइमा आएको छ ।’

त्यस्तै, अध्यक्ष प्रचण्डसहितका सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा केन्द्रीय सदस्यहरूले राखेको उनले बताए ।

‘अध्यक्षसहित सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तिमा महिनामा तीनपटक अध्यक्ष पनि जोडिनुपर्छ भन्ने छ । दण्डहिनताको अन्त्य गरिनुपर्छ भन्ने छ,’ उनले भने ।

त्यस्तै, विभागहरूलाई प्रभावकारी बनाउने कुरा केन्द्रीय सदस्यले उठाएको उनले जानकारी दिए ।

‘विभागहरूलाई प्रभावकारी बनाउने कुरा उठाउनुभएको छ । सडक र सदनलाई जोड्ने नीति अनुसार प्रभावकारी बनाउनुपर्छ, सदन छिटोभन्दा छिटो आह्वान गर्नका लागि दबाब सिर्जना गर्नुपर्छ भन्ने उठेको छ । अन्य दलसँग पनि कुराकानी गर्नुपर्छ भन्ने उठेको छ,’ उनले भने ।

पार्टी महाधिवेशनबारे मिश्रित प्रतिक्रिया नेताहरूले दिएको उनले बताए ।

‘महाधिवेशन गर्ने कुरामा सबैको सहमति छ । अभियानमा गएर मात्रै महाधिवेशनको मिति कार्यतालिका टोक्नुपर्छ भन्ने अधिकांशको भनाइ छ,’ उनले भने, ‘केहीले अहिले नै मिति नतोकौं पनि भन्नुभएको छ । महाधिवेशनको बारेमा मिश्रित कुराहरू आएका छन् ।’

सापकोटाका अनुसार आजको बैठकमा बोल्ने ८० जना नै केन्द्रीय सदस्यहरूले माओवादीलाई ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् ।

‘८० जना नै कमरेडहरूले अहिले माओवादी केन्द्रलाई ऐतिहासिक अवसर प्राप्त भएको छ । यसलाई गुम्न दिन हुँदैन । यसका लागि पार्टी एकताबद्ध भएर अगाडि जानुपर्छ भन्ने कुरामा सबैको एक स्वर छ,’ उनले भने ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -