२२ पुस, बुटवल । रुपन्देहीको बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र दोस्रोपटक म्याद थप्दा पनि निर्माण पूरा हुन सकेको छैन । दोस्रो पटक थपिएको म्याद गत असोज मसान्तमा सकिएको छ । हालसम्म भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ७५ प्रतिशत मात्र छ । निर्माणको काम नसकिएपछि तेस्रोपटक म्याद थपको तयारी छ ।
६ दशमलव ४ बिघा जग्गामा फैलिएको केन्द्रको निर्माणको ठेक्का क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले पाएको छ । प्रदर्शनी केन्द्रको लागत करबाहेक एक अर्ब दुई करोड छ । प्रदर्शनीका बाहिरी संरचना सकिए पनि पार्टेसन, फिनिसिङ लगायत भित्री संरचनाका काम बाँकी छन् । निर्माण सम्पन्न भए यो देशकै ठूलो र नवीन प्रविधियुक्त प्रदर्शनी केन्द्र बन्ने छ ।
लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलमा नियमित व्यापार मेला र औद्योगिक प्रदर्शनी सञ्चालन गर्ने उद्देश्यले २०७६ जेठ १३ गते अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको शिलान्यास भएको थियो । केन्द्रको शिलान्यास हालका अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए । तर अर्थमन्त्री पौडेलकै गृहजिल्लामा निर्माणाधीन प्रदर्शनी केन्द्रमा बजेट अभावलाई कारण देखाउँदै काममा ढिलासुस्ती भइरहेको छ ।
२७ महिनाको अवधिमा निर्माण पूरा गर्ने सम्झौता भएपनि शुरुमा रुख कटान अनुमति पाउन ढिलाइ र कोरोना महामारीको कारण देखाउँदै पहिलोपटक २७ महिना म्याद थप भएको थियो । म्याद थपपछि भने बजेट अभावलाई कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेको आयोजना प्रमुख धर्मेन्द्र पन्थी बताउँछन् ।
‘ठेक्का सम्झौताको म्याद सकिए पनि निर्माण कम्पनीले काम भने गरिरहेको छ तर संघीय सरकारले आवश्यकता अनुसार पर्याप्त बजेट समयमा नदिँदा निर्माण कम्पनीले काममा ढिलाइ गरेको छ,’ पन्थीले भने ।
पन्थीका अनुसार प्रदर्शनी केन्द्रमा अझै १३ प्रतिशत काम बाँकी छ र त्यो काम सम्पन्न गर्न कम्तिमा ३८ करोड रुपैयाँ बजेट आवश्यक पर्छ । तर सरकारले यो वर्ष १२ करोड बजेट मात्रै दिएको छ । त्यो बजेट बाँकी काम पूरा गर्न पर्याप्त नभएको पन्थीको भनाइ छ ।
सरकारले गत वर्ष ५ करोड बजेट दिएको थियो र निर्माण कम्पनीले सोही बजेट बराबर मात्रै काम गरेको थियो । गत असारमा आएको ७ करोड बजेट भने खर्च हुन नपाई फ्रिज भएको थियो । ‘निर्माण कम्पनीलाई हाम्रो तहबाट बजेट भन्दा धेरै काम गर भनेर दबाव दिने अवस्था छैन’ पन्थी भन्छन्, ‘अब थप हुने म्याद भित्रै निर्माण पूरा गर्न आवश्यकता अनुसारको बजेट विनियोजन गर्नुको विकल्प छैन ।’
कस्तो बन्दैछ प्रदर्शनी केन्द्र ?
प्रदर्शनी केन्द्र बाहिरबाट हेर्दा तीन वटा भवन जस्तो देखिने गरी डिजाइन गरिएको छ । १२ हजार स्क्वायर मिटरको प्रदर्शनी केन्द्रलाई आवश्यकता अनुसार एउटै वा अलग–अलग प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।
फाउन्डेसनसहित भुईं तला फ्लोर टपिङ मार्बल प्रयोग हुने छ । सराउण्डिङ बिम सहित सिमेन्टेड भित्तो र छानासहित माथिको भाग स्टिलको छ ।
प्रदर्शनी केन्द्रका तीन वटा भवन भित्र ५ सय बढी स्टल राख्न मिल्ने र एकैपटक १० हजार जनाले अवलोकन गर्नसक्ने क्षमता छ । प्रत्येक भवन भित्र अलग–अलग स्टेज छन् । केन्द्रमा एकैपटक अटोमोबाइल्स बाहेक तीन प्रकृतिका मेला सञ्चालन गर्न सकिने छ ।
प्रदर्शनी केन्द्रमा एउटा साढे तीन सय स्क्वायर मिटर र अर्को साढे दुई सय मिटर स्क्वायर मिटरका बैठक हल छन् । टिकट काउन्टर र फुड कोर्ट (चमेना गृह) बन्दैछन् । फुड कोर्टमा दुई हजार जनाले एकैपटक खाजा/खाना खानसक्ने छन् । प्रदर्शनी केन्द्रमा हेभी इक्युपमेन्ट सहित कार, बस, डोजर लगायत गाडीको अटोमोबाइल्स प्रदर्शनीका लागि खुला प्रदर्शनी क्षेत्र समेत छ ।
यस्तै, एक लाख १० हजार वर्गफिट क्षेत्रफलमा बाल उद्यान, चार सय वटा चारपांग्रे र चार सय वटा मोटरसाइकल अट्ने पार्किङस्थल बनाइएको छ । पार्किङस्थल भने प्रदर्शनी केन्द्र सँगै बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँगको साझा हो ।
स्थायी प्रदर्शनी केन्द्र नहुँदा प्रदर्शनी तथा मेला आयोजकहरूले अस्थायी स्टल, सचिवालय, प्रवेशद्वार लगायतका संरचना निर्माणमा बर्सेनि झण्डै एक करोड रुपैयाँ खर्च गर्दै आएका छन् । यो निर्माण सम्पन्न भएपछि मेला सञ्चालनका लागि आयोजक र दर्शकलाई सहज हुने उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।
स्थायी प्रदर्शनी केन्द्र निर्माणाधीन रहेकै अवस्थामा गत वर्ष रुपन्देही व्यापार संघले र हालै पुस ३ देखि १८ सम्म बुटवल उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेला सम्पन्न गरेका छन् ।
प्रदर्शनी केन्द्रमा नियमित व्यापारिक गतिविधि गरेर व्यवसाय चलायमान बनाउन र बुटवललाई गुल्जार बनाउन प्रदर्शनी केन्द्रका बाँकी काम छिटो सकेर प्रयोगमा ल्याउन सरकारले ध्यान दिन आवश्यक रहेको पाण्डे बताउँछन् ।
आउँदो वर्ष उद्योग व्यापार संघ बुटवलले औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सञ्चालन गर्ने गरी बुटवल उपमहानगरपालिकामा निवेदन दिइसकेको छ ।
बुटवलमा उद्योगी र व्यवसायीका ४ वटा प्रमुख संस्थाले पालैपालो पुसमा व्यापार मेला तथा औद्योगिक प्रदर्शनी सञ्चालन गर्दै आएका छन् । पर्याप्त पार्किङ सुविधासहित फराकिलो प्रदर्शनी केन्द्र बुटवलको बजार क्षेत्र र मुख्य राजमार्गसँग जोडिएकाले यहाँ बिक्रेता र अवलोकनकर्ता आउन र यसको दिगो सञ्चालनमा सहज हुने रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारी बताउँछन् ।
‘ठूलो बजार र मुख्य राजमार्गसँगै जोडिएको प्रदर्शनी केन्द्र अन्यत्र विरलै पाइन्छन्, यस्तो पूर्वाधार बुटवलका लागि मात्र हैन देशकै लागि पायक पर्छ’ रुपन्देही व्यापार संघका अध्यक्ष अधिकारीले भने, ‘अब म्याद थप गरेर छिटो सम्पन्न गर्नुपर्छ ।’