Tuesday, January 7, 2025
घरसमाचारप्रसूति कक्षमा श्रीमानको माया

प्रसूति कक्षमा श्रीमानको माया

प्रसूतिको क्रममा एउटी महिलाले कतिसम्म कष्ट खेप्नुपर्छ ? अक्सर श्रीमानले देख्न, भोग्न र अनुभूत गर्न सक्दैनन् । किनभने श्रीमती प्रसूति पीडाले छट्पटाइरहँदा श्रीमान्‌लाई अलग्गै राखिन्छ ।

तर थापाथलीस्थित प्रसूति गृहको बर्थिङ युनिटमा त्यो पुरातन परिदृश्य बदलिएको छ । यतिबेला त्यहाँ प्रसूति पीडामा रहेकी श्रीमतीसँगै श्रीमान् पनि साथमा हुन्छन् । जीवन–मरणको दोसाँधमा रहेर एउटी महिलाले कसरी बच्चालाई जन्म दिन्छिन् ? श्रीमान्‌ले प्रत्यक्ष महसुस गर्न सक्छन् ।

जस्तो २८ वर्षीया सीता आचार्यको अनुभव सुनौं । उनी भन्छिन्, ‘जतिबेला मलाई व्यथाले च्याप्दै थियो, मलाई एक्लो र असुरक्षित लागेन । त्यसबेला श्रीमानले मेरो हात समातेर छेवैमा बस्दा मात्र पनि ठूलो राहत मिलेको थियो ।’

उनका श्रीमान् सुरजको पनि यहाँ अलग अनुभव छ । उनका अनुसार श्रीमती प्रसूति व्यथाले छट्पटाइरहँदा आफूलाई त्यो स्थिति एकदमै गाह्रो भएको थियो । ‘उनीहरूले कति दुःख गरेर बच्चा जन्माउँछन् भन्ने प्रत्यक्ष देखेपछि एउटी आमाप्रति थप श्रद्धा र माया बढ्ने रहेछ,’ सुरज भन्छन् ।

उनले श्रीमतीको प्रसूतिभर साथमै बस्ने, मसाज गरिदिने, पानी दिने, बेलाबखत हिंडाउने, शौचालय लैजाने, झोलिलो खानेकुरा खुवाउने गरेका थिए । यसरी प्रसूति पीडालाई दुवैले साझेदार गर्दा एकलाई सुरक्षा र सान्त्वना मिल्ने अनि अर्कालाई त्यसको पीडाबोध र महत्व हुने उनीहरूको अनुभव छ ।

‘श्रीमानको उपस्थितिले महिलामा सकारात्मक भावनाको विकास हुन्छ,’ बर्थिङ युनिटकी इन्चार्ज ललिता श्रेष्ठले सुनाइन्, ‘प्रसव पीडामा हुने जटिलतालाई सरलतामा बदल्छ ।’

ललिता श्रेष्ठ, बर्थिङ सेन्टर युनिट प्रमुख

उनका अनुसार महिलाको गोपनीयताको सवाल होस् वा मनोवैज्ञानिक सहयोग, श्रीमान्‌को उपस्थितिले ठूलो फरक पार्छ ।

प्रसूति अस्पतालको विशेष बर्थिङ युनिटको ठूलो हलभित्र छुट्टै बारिएका आठ वटा कोठा छन्, जहाँ श्रीमान् पत्नीसँगै बस्न पाउँछन्– भर्नादेखि डिस्चार्जसम्म । एक स्वास्थ्यकर्मीले दुई–तीन बिरामी मात्र हेर्छन्, जसले सेवाको गुणस्तर बढाएको छ ।

गर्भावस्थादेखि नै महिलाको शरीरमा हुने विभिन्न परिवर्तनले उनीहरूलाई भावनात्मक रूपमा कमजोर र असुरक्षित बनाइरहेको हुन्छ । यस्तो बेला श्रीमानको साथले ठूलो मनोवैज्ञानिक सहयोग पुर्‍याउने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी बताउँछन् ।

‘मेरो श्रीमान् यहीं हुनुहुन्छ भन्ने विश्वासले नै महिलालाई थप हिम्मत दिन्छ,’ डा. सुवेदी भन्छन्, ‘पीडामा श्रीमानको साथले औषधिभन्दा राम्रो काम गर्छ ।’

प्रसूतिरोग विशेषज्ञका अनुसार श्रीमान्‌को उपस्थितिमा प्रसव पीडा कम हुने, संक्रमणको जोखिम घट्ने र आईसीयूमा भर्ना दर ५० प्रतिशतले कम हुने देखिएको छ ।

‘श्रीमान् साथमा हुनु केवल भावनात्मक सहयोग मात्र होइन, स्वास्थ्यकर्मीलाई पनि बढी जवाफदेही बनाउँछ’, डा. सुवेदी थप्छन् ।

प्रसव पीडा कम

पछिल्लो समय प्रसूति सेवामा परिवर्तन आएको छ । लेबर रूमको पुरानो अवधारणा विस्थापित हुँदै बर्थिङ युनिटले स्थान लिंदैछ । यहाँ नर्स, मिडवाइफ र तालिमप्राप्त दक्ष प्रसूतिकर्मी मुख्य भूमिकामा हुन्छन् । तालिमप्राप्त मिडवाइफले बिरामीको मुटुको चाल, योनीको अवस्था र अन्य जटिलता प्रत्यक्ष निगरानी गरिरहेका हुन्छन् । आवश्यक परेको अवस्थामा चिकित्सकले समस्याको व्यवस्थापन गर्छन् ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी पनि बर्थिङ युनिटमा श्रीमान्‌को उपस्थितिले सामान्य प्रसव (नर्मल डेलिभरी) को सम्भावना बढाउने बताउँछन् ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञका अनुसार पारम्परिक लेबर रूममा जस्तो एउटै हलमा धेरै सुत्केरी राख्ने प्रथा अब पुरानो भयो । त्यसले गोपनीयता र मर्यादामा आँच पुर्‍याउँछ । साथै, कुनै जटिलता आइपरे परिवारजनलाई विश्वास दिलाउन कठिन हुन्छ ।

बर्थिङ युनिटको व्यवस्था फरक छ । योनीको चार घर नखुलेसम्म बिरामीलाई बर्थिङ युनिटमा ल्याइँदैन । प्रत्येक कोठामा एक जना मात्र सुत्केरी राखिन्छ । तालिमप्राप्त मिडवाइफले मुख्य जिम्मेवारी लिन्छन् ।

‘लेबर रूममा एकै हलमा धेरै सुत्केरी हुन्छन्’ श्रेष्ठ भन्छिन्, ‘त्यहाँ गोपनीयता हुँदैन । श्रीमान् बस्न पाउँदैनन् । समस्या आउँदा परिवारले लापरबाही भयो भन्ने आरोप लाग्छ ।’

प्रसव समयमा स-साना समस्या आउने बित्तिकै श्रीमानसँग सहज तरिकाले भन्न सकिने हुँदा व्यवस्थापन गर्न सहज हुने डा. अधिकारी बताउँछन् ।

‘स्वास्थ्यकर्मीले व्यवस्थापन गर्दागर्दै पनि अत्यधिक रक्तस्राव, पाठेघर निकाल्न वा आईसीयूमा लैजानुपर्ने भयो भने त्यहाँको गतिवधि श्रीमानले देखिरहेका हुन्छन्,’ डा. अधिकारी थप्छन्, ‘यसो हुँदा प्रसवको समस्यामा गलत धारणा बन्ने सम्भावना कम हुन्छ ।’

जिन्दगीभरको याद          

प्रसवमा भएको बेलामा आमाले लिने अनुभव जिन्दगीभर याद रहिरहन्छ । चिकित्सकका अनुसार श्रीमानले मनोवैज्ञानिक सपोर्ट गरिरहेका हुन्छन् । योनी जस्तो प्रजनन् अंग श्रीमान् बाहेक अरू कसैले पनि देखेको हुँदैन । हरेक परीक्षणमा श्रीमानसँग हुँदा महिलाको ‘कन्फिडेन्स’ बढ्दै जान्छ ।

तर प्रसव हुँदा श्रीमान् सँगै बस्न हिच्किचाउने गर्छन् । अधिकांश अस्पतालमा पनि प्रसव पीडा हुँदा श्रीमान्‌लाई निषेध गरिंदै आएको छ ।

प्रसव पीडा योनीको चार घर खुलेपछि बढ्दै जान्छ । त्यसपछिको सामान्यतया ६ घण्टाभित्रमा १० घर खुलेपछि बच्चा जन्मिन्छ । श्रीमान् साथमा भएपछि प्रसव पीडाको अवधि अझै छोटो हुने विज्ञ बताउँछन् ।

बर्थिङ युनिटकी इन्चार्ज श्रेष्ठ पनि श्रीमानको साथले महिलामा सकारात्मक ऊर्जा मिल्ने बताउँछिन् । उनका अनुसार प्रेम र स्नेहले शरीरमा अक्सिटोसिन हर्मोन बढाउँछ, जसलाई लभ हर्मोन भनिन्छ । यो हर्मोनले प्रसवलाई छिटो र सहज बनाउँछ । श्रीमानको साथले महिलालाई एक्लोपन महसुस हुँदैन र प्रसव प्रक्रिया सरल बन्छ । यस्ता अनुभवले दम्पतीबीचको सम्बन्ध र पारिवारिक बन्धनलाई अझ बलियो बनाउँछ ।

डा. अधिकारी थप्छन्, ‘वर्षौंको अनुभवले श्रीमान्‌को उपस्थितिले आमा र बच्चा दुवैको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको देखाएको छ । प्रसूति सेवामा यो अवधारणाले सफलता पाएको छ । अन्य अस्पतालले पनि यस्तै मोडेल अपनाउन थालेका छन् ।

‘श्रीमतीको पीडा नजिकबाट देखें,’ सुरज भन्छन्, ‘यसले मलाई उनीप्रति झन् सम्मानित र बच्चाप्रति जिम्मेवार बनायो ।’ सीताले अनुभव सुनाउँदै भनिन्, ‘श्रीमान् छेउमा बस्दा हिम्मत मिल्थ्यो । गाह्रो हुँदा अँगालो मार्थे । भावनात्मक साथ मिल्थ्यो ।’

सुरजले थपे, ‘श्रीमतीको पीडा प्रत्यक्ष देखेपछि बुझें, बच्चा पाउनु कति कठिन छ । अब अरू साथीलाई भन्छु यस्तो बेलामा अझै श्रीमतीलाई साथ र स्याहार चाहिन्छ ।’

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल

बर्थिङ युनिटमा स्वास्थ्यकर्मीको निगरानी पनि बढी हुन्छ । ‘शल्यक्रिया दर घटेको छ । बिरामीको सन्तुष्टि बढेको छ,’ डा. अधिकारी भन्छन् ।

‘श्रीमानको साथले महिलालाई एक्लोपन महसुस हुँदैन । उनको प्रेम र सहयोगले प्रसव प्रक्रिया सजिलो बन्छ । सँगै हुनुको अनुभवले दम्पतीबीचको सम्बन्ध र बच्चाप्रतिको मायालाई अझ गहिरो बनाउँछ,’ डा. सुवेदी थप्छन् ।

प्रसूति गृहमा लेभर रूमको अवधारणालाई हटाउँदै बर्थिङ युनिट योजना छ । दैनिक रूपमा बर्थिङ युनिटबाट १२–१५ जनाको डेलिभरी हुँदै आएको छ । नर्मल डेलिभरी मिडवाइफ र तालिम प्राप्त दक्ष प्रसूतिकर्मीले मात्रै गराउनुपर्ने डा. अधिकारी बताउँछन् ।

‘विश्वव्यापी रूपमा हेर्दा मिडवाइफ र तालिम प्राप्त दक्ष प्रसूतिले डेलिभरीमा नर्मल डेलिभरी हुने सम्भावना बढी हुन्छ’ डा. अधिकारी भन्छन्, ‘चिकित्सकले समस्याको व्यवस्थापन राम्रो गरेपनि मिडवाइफ र तालिम प्राप्त दक्ष प्रसूतिले डेलिभरी भूमिका राम्रो देखिन्छ ।’

बर्थिङ युनिट परिवारमैत्री प्रसूति सेवाको मोडेल हो । यहाँ श्रीमान्‌को साथ र मिडवाइफको सीपले प्रसव सुरक्षित र सहज बनाउँछ ।

‘हरेक आमाले सुरक्षित र सम्मानजनक वातावरणमा आफ्नो बच्चालाई जन्म दिऊन्’ डा. अधिकारी भन्छन्, ‘यसको लागि श्रीमान्‌को साथ अपरिहार्य छ ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -