२० पुस, कास्की । कास्कीको सुन्दर गाउँ हो, सिक्लेस । सदरमुकाम पोखरादेखि करिब ३८ किलोमिटरको दूरीमा पर्ने यो गाउँ मादी गाउँपालिका वडा नम्बर १ मा अवस्थित छ । करिब चार सय घरधुरी रहेको यस गाउँलाई गुरुङ भाषामा ‘च्यीली’ भनिन्छ ।
सिक्लेसको कला संस्कृतिको बारेमा धेरै सुनेको हुनाले त्यसको आनन्द लिन त्यहाँ जाने निधो गरियो । पोखराको सदरमुकामबाट बस वा बोलेरो जाने रहेछ । हामी सिक्लेस पुग्न आतुर थियौं ।
पाँच हजारमा गाडी रिजर्भ गर्यौं । सार्वजनिक यातायातमा भाडा तिर्नुभन्दा हामी ठूलो समय भएकाले रिजर्भमै जाने निधो गरेका थियौं ।
घडीमा दिउँसोको दुई बजिसकेको थियो । सिक्लेसका लागि रानी पौवा महेन्द्रपुल बाट हिँड्यौं । यात्राका क्रममा साथीभाइको गफ र मनोरम दृश्यले समय गएको पत्तै भएन ।
बोलेरोमा ‘सिक्लेसको मेलामा तिमीलाई भेटेको…’ गीत गुञ्जियो । सिक्लेसको मनोरम दृश्य हेर्न कतिबेला पुगिएला जस्तो भइरहेको थियो । बाटोमा पर्ने चिप्ली भन्ने ठाउँमा चिया नास्ता गर्यौं । ठाउँ ठाउँमा कच्ची सडक भेटियो ।
चालकले अब दुई घण्टा पूरै सडक कच्ची भएकाले रोक्न नमिल्ने बताए ।
चिया नास्तापछि गाडी चढ्यौं । लगभग २९ किलोमिटर यात्रा पूरै कच्ची थियो । यात्रामा निस्किएका हामी सबैमा एक प्रकारको डर थियो । हामीलाई चालकले सान्त्वना दिए ।
चालकले बताए अनुसार वर्षायाममा पनि यो बाटोमा सवारी गुड्ने रहेछ । नयाँ ठाउँको बारेमा बुझ्दै हामीले कच्ची सडक पार गर्यौं ।
बीच बाटोमा एउटा लामो झोलुङ्गे पुल आयो । हामीलाई पुलको छेउमा छाडेर चालकले घुमाउरो बाटो हुँदै पारि आउने बताए । हामीले त्यसै गर्यौं । वरिपरि जंगको दृश्य अत्यन्तै लोभलाग्दो थियो ।
त्यहाँबाट केहीबेरको यात्रापछि हामी पुग्यौं, सिक्लेस । पुगेको दिन सबै साथिहरू थाकेका थियौं । खाना खाएर सुत्यौं । भोलिपल्टका लागि हामीले बिहानै हाइकिङको योजना बनाएका थियौं । सूर्योदयका तस्वीर कैद गर्ने हाम्रो योजना थियो ।
कला, संस्कृति र प्राकृतिक सौन्दर्यताका कारण पछिल्लो समय यो गाउँ स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षणको गन्तव्य बन्दै गएको छ । हरियो वनजंगलले घेरिएको यो गाउँ लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित छ । बिहान सबेरै उठेर हेर्दा हिमाल छ्याङ्गै खुलेको देखिन्छ ।
सिक्लेसबाट डेढ घण्टा उकालो हिँडेपछि दुई हजार ३५० मिटरको उचाइमा रहेको राइजिङ डाँडामा पुगिन्छ । त्यहाँबाट लमजुङ र अन्नपूर्ण हिमालको अवलोकन गर्न सकिन्छ । हर्पथर, लामाथर, गैरीथर, धप्राङ्थर, सभाथर (कोइथर) सहित पाँच वटा टोल रहेको यहाँका स्थानीयको मुख्य पेशा कृषि र पर्यटन हो ।
पर्यटन पेशाबाट यहाँका स्थानीयले राम्रो आम्दानी गर्दै आएका रहेछन् । सिक्लेसको सौन्दर्यले जोकोहीलाई लोभ्याउँछ । तमु (गुरुङ) हरुको अन्तिम पैतृक राज्य (क्होलासोथर) बाट सिक्लेसको विस्तार भएको हो, त्यसैले यसलाई च्यीली क्हयाल्सा अर्थात् सिक्लेस राज्य पनि भनिन्छ ।
समुद्री सतहबाट एक हजार ९०० मिटर माथि छ, सिक्लेस गाउँ । अन्नपूर्णको दक्षिणी भागमा बसोबास सुरूवात हुँदा पहिलो बस्ती बसालेको ऐतिहासिक ठाउँ क्होलासोंथरबाट बसाइ सरेर सिक्लेसमा आएको भन्ने मान्यता छ ।
गुरुङ समुदायमा परम्परा र विश्वासले सिक्लेस पुग्नुपर्ने ठाउँ बनेको छ भने पर्यटकलाई गुरुङ समुदायको चालचलन र संस्कृति बुझ्न सिक्लेसले तान्छ । अझ प्रकृतिमा रमाउनेलाई त सिक्लेसले लोभ्याउँछ नै ।
क्हफुचे हिमताल र कोरी पुग्ने बाटो पनि सिक्लेस नै भएकाले पदयात्री एक रात बिताउन पनि सिक्लेस नै रोज्छन् । नेपाल सरकारले तोकेको सय गन्तव्यमा सिक्लेस पनि छ । गाउँमा आउने पर्यटकले न्यानो आतिथ्य पाउँछन् । गुरुङ भेषभुषामा सजिएका स्थानीय बासिन्दाले नमस्ते भन्दा पर्यटक प्रफुल्ल हुन्छन् ।
एकले अर्कालाई सहयोग गर्ने नै चलनले नै सिक्लेसलाई जोगाइराखेको छ । गाउँमा पाइने स्थानीय उत्पादन, परिकार लगायत खानेकुरा होटल र होमस्टेमा पाइन्छ ।
यो गाउँको आफ्नै भाषा, संस्कार, संस्कृति र परम्परा छ । यसलाई गुरुङ्गहरुको इतिहास अध्ययनको पाठशाला पनि भन्ने गरिएको छ । नेपालको अक्षांश र देशान्तर दुवै रेखाबाट काटिंदा कायम भएको मध्यबिन्दु कोरी र सबैभन्दा कम उचाइको हिमताल ‘क्हफचे’ यही वडामा छ ।
गुरुङ संस्कृतिको म्युजियम, वरिपरि लगाइएको फूलले जो कोही पयर्टकलाई लोभ्याउँछ । यहाँको चियाबारीले इलामकै झल्को दिन्छ ।
भोलिपल्ट बिहानको खाजा खाएर हाम्रो पोखरालाई निस्क्यौं । बस दुई बजे गुड्न तयार थियो । यात्रुहरू कोचाकोच थिए । हामी डराउँदै थियौं ।
केहीबेरमा बोलेरोबाटै हामी पनि पोखरातर्फ लाग्यौं ।
तस्वीरहरू : विकास श्रेष्ठ