२० पुस, जनकपुरधाम । सर्लाहीमा इँटा व्यवसायीको शव उखुबारीमा गाडेको अवस्थामा फेला परेको छ । हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको शव शनिबार उखुबारीमा गाडेको अवस्थामा फेला परेको हो ।
परिवारजनका अनुसार उनी पाँचदिनदेखि बेपत्ता थिए । खोजीको क्रममा आज हरिवन नगरपालिका–१० मा रहेको उखुबारीमा गाडिएको अवस्थामा उनको शव फेला परेको हो ।
परिवारका अनुसार प्रसाई पुस १५ गते बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट इँटाको पैसा लिएर फर्किने क्रममा बेपत्ता भएका थिए । सर्लाही प्रहरीले उनको शव उत्खनन गरेर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा लगेको छ । घटनाको प्रकृतिले उनको हत्या भएको प्रहरीको अनुमान छ ।
हत्या गरेको हुन सक्ने आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।