काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
सुदूरपश्चिममा मनाइने ‘भुवो’ पर्वका अवसरमा एमाले बझाङ–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीको सङ्गठनलाई अझ सशक्त बनाउन आवश्यक भएको बताउँदै कार्यकर्तालाई सोहीअनुरुप काम गर्न अनुरोध गर्नुभयो ।
“पार्टीलाई अझै प्रभावकारी र अनुशासित बनाउनुपर्ने छ, बेलैमा पार्टीभित्रको अनुशासन कायम गर्न सकिएन भने दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता मौलाउने छ”, उहाँले भन्नुभयो ।
त्यसअवसरमा एमाले सचिव लेखराज भट्टले बझाङलगायतका जिल्लामा मनाइने ‘भुवी’ पर्व पछिल्लो समयमा लोप हुँदै गएको उल्लेख गर्दै त्यसको संरक्षण र उजागर गर्नका लागि सबै लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।