बीरगंज । बीरगंज लगायत तराई मधेसका जिल्लाहरूमा बिगत ५ दिन एता बाक्लो हुस्सु र कुहिरो सहित अत्यधिक चिसो बढ्न थालेपछि जनजीवन प्रभावित भएको छ ।
अत्यधिक जाडो बढेको र चिसोबाट बच्न न्यानु लुगा लगाएर अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।
विशेषगरी जाडोको कारण बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निरज सिंहले बताउनुभयो ।
यसका साथै बाथ तथा गेठियाका रोग लागेका बिरामीलाई चिसोका कारण थप समस्या बढ्ने जोखिम भएको कारण यसबाट जोगिन बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरीर ढाकिने गरी न्यानो लुगा लगाउन आवश्यक रहेको सिंहले बताउनुभयो ।
केही दिन देखि वीरगन्ज स तराई मधेसमा अत्यधिक चिसो बढेकाले उच्च सतर्कता अपनाउन सिंहले आग्रह गर्नुभयो । हाल वीरगन्जको नारायणी अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन् ।
वीरगञ्ज क्षेत्रमा बिहानदेखि कुहिरो लाग्ने गरेको छ । यो क्रम अझै केही दिन कायम रहे थप चिसो बढ्ने अवस्था छ ।त्यसैले विशेष सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।
चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रका सार्वजनिक स्थान तथा चोकहरूमा दाउरा बितरणगरी आगो ताप्ने व्यवस्था मिलाएको छ भने प्रदेश सरकारले दाउरा तथा कम्बल वितरणका लागि पहल गरिरहेको जनाइएको छ ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्रकुमार यादवले सबै जिल्लामा कम्बल पठाइसकिएको बताउनुभयो । चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको यादवले जानकारी दिनु भयो ।