२० पुस, विराटनगर । धरानबाट उदाएको बराह ग्रुप अफ कम्पनी मार्फत खुलेका सहकारी र कम्पनीमा सर्वसाधारणको १४ अर्ब हाराहारी रकम डुबेको छ ।
शिव लामिछाने सहित उनको परिवारले सञ्चालन गरेको दुइटा सहकारी र अन्य कम्पनीमा सर्वसाधारणको १४ अर्ब हाराहारी रकम डुबेको हो ।
लामिछाने परिवारका सदस्यले धरानमा सञ्चालन गरेको बराह बचत तथा ऋण सहकारी संस्थामा मात्रै सर्वसाधारणको ६८ करोडभन्दा बढी रकम दुरुपयोग भएको छ । लामिछाने अध्यक्ष रहेको काठमाडौंको अभिमत बचत तथा ऋण सहकारी संस्था पनि संकटमा छ ।
बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित प्रदीप बास्तोलाका अनुसार बराह ग्रुप अफ कम्पनीमा देशभरि सर्वसाधारणको १४ अर्ब हाराहारी रकम डुबेको छ । धरानका सर्वसाधारणको मात्रै ९ अर्ब हाराहारी डुबेको उनको दाबी छ ।
बराह ग्रुपमार्फत लामिछाने परिवारले देशभरि २८ कम्पनी सञ्चालन गरेको उनको दाबी छ । सर्वसाधारणबाट संकलन भएको बचत पनि सोही कम्पनी मार्फत लगानी गरेको थियो ।
प्रदेश सहकारी रजिस्ट्रार तथा तथा प्रशिक्षण कार्यालय प्रमुख हरि खत्रीका अनुसार बराह बचत तथा ऋण सहकारीमा जम्मा भएको ६८ करोड अपचलन भएको छ । तर, ज्वेलरी र बराह ग्रुपमार्फत १४ अर्ब रकम अपचलन भएको उनको भनाइ छ । यो रकमको एकमुष्ट विवरण भने सार्वजनिक भएको छैन ।
सर्वसाधारणबाट संकलन, आफ्नैमा लगानी
भोजपुरबाट धरान झरेका इन्द्र लामिछाने (विश्वकर्मां) ले २०५२ सालमा धरानका लाहुरे परिवार लक्षित गरी बराह ज्वेलरी इन्टरप्राइजेज स्थापना गरेका थिए । ज्वेलरी मार्फत आकर्षक ब्याजको लोभ देखाएर बचत संकलन गर्थे ।
छोटो समयमा लाहुरेको सहर धरानमा मात्र होइन बराह ज्वेलरीले देशभरि चर्चा कमायो । हङकङ र दुबईमा पनि यसको शाखा खोलिएका थिए । ब्रान्डका रूपमा स्थापित भएपछि बराहले आफ्नो नामको पछाडि ‘विश्वासको प्रतीक’ उपनाम थपेको थियो ।
सुन पसलमा बचत तथा ऋण कारोबारमा रोक लागेपछि २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो । यो सहकारीमा गत जेठसम्म सर्वसाधारणको ६८ करोड ८३ लाख १० हजार ८ सय १६ रुपैयाँ बचत छ ।
धरानका १३ हजार ५ सय ७८ साधारण बचतकर्ताले ५ हजारदेखि १ करोडसम्म बचत गरेका छन् । गत जेठसम्म सेयर सदस्य संख्या ५ हजार २ सय १३ र १० करोड १८ लाख ६४ हजार सेयर पूँजी थियो ।
सहकारीले ६८ करोड ८३ लाख बचत संकलन गरेको थियो भने ७१ करोड ५८ लाख ६४ हजार ५ सय ३७ रुपैयाँ ऋण लगानी गरेको थियो । ऋण लगानीमध्ये ४१ करोड ३ लाखभन्दा बढी नियम विपरीत रकम आफ्नै कम्पनीमा लगानी भएको छ ।
बराह ग्रुप मातहत रहेको बराह ज्वेलरी प्रालिमा २७ करोड २८ लाख ४९ हजार, बराह फेमिली किचेनमा ३ करोड ४ लाख २७ हजार, बराह डिपार्टमेन्ट स्टोरमा ८७ लाख ९६ हजार १ सय ८८, बराह भेडेटार मल्टिपर्पोज प्रालिमा ४ करोड ८६ लाख ८९ हजार, बराह कृषि उपज तथा पशुपालन प्रालिमा ४ करोड ६८ लाख ३ हजार ३ सय ८२, बराह भेडेटार मल्टिपर्पोज प्रालिमा थप २८ लाख २५ हजार २ सय ३८ रुपैयाँ लगानी भएको देखिन्छ ।
यो लगानीको हिसाबकिताब संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले प्रतिनिधिसभा संसदीय छानबिन विशेष समितिमा बयानका क्रममा पनि प्रस्तुत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सनुसरीले बराह बचत तथा ऋण सहकारी संस्थाको ठगी अनुसन्धान गरिरहेको छ । सुनसरी प्रहरी प्रवक्ता रामप्रसाद तिम्सिनाका अनुसार ३ सय ३३ पीडितले बचत फिर्ताको मागसहित प्रहरी कार्यालयमा निवेदन दिएका छन् । प्रहरीले निवेदनका लागि सार्वजनिक आह्वान गरेका कारण यो संख्या बढ्ने उनले बताए ।
सर्वसाधारणको उजुरी लिएको प्रहरीले सहकारी ठगी प्रकरण अनुसन्धानका लागि सहकारी अध्यक्ष मानबहादुर विश्वकर्मालाई खोजिरहेको छ । केही दिनअघि घरमा उनलाई नभेटेपछि उनकी पत्नी संगीता विकलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा सञ्चालक समिति सदस्य विष्णु ताम्राकार, सहकारीका लेखापाल अपना श्रेष्ठ, ऋण उपसमिति सदस्य अस्मिता भण्डारी, लेखा सुपरीवेक्षण समिति संयोजक सुदिन ल्वागुन, सञ्चालक सदस्यहरू शेरबहादुर महत क्षेत्री, सरिता कालिकोटे, रवि पोर्तेल लगायत छन् । प्रहरीले सहकारीको कागजात पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
कोरोनापछि अधोगति
धरानका लाहुरेलाई लक्षित गरेर खोलिएको बराह ज्वेलरी छोटो समयमा चर्चा कमाएपछि थप व्यापार विस्तार गरेको थियो । २०५२ सालमा स्थापना भएको ज्वेलरीले २०६९ सालसम्म आफ्नो व्यापारिक साम्राज्य विस्तार गरिसकेको थियो । कम्पनीले आफ्नो नामको पछाडि ‘विश्वासको प्रतिक’ उपनाम जोडेको थियो । २०६९ साल माघमा हङकङ गएका बेला इन्द्र उतै मृत भेटिए ।
उनको मृत्युपछि छोरा शिव लामिछाने (विश्वकर्मा) ले बुबाले स्थापना गरेको कम्पनी चलाए । लामिछाने परिवारभित्रका सदस्य रहेर धरानमा बराह ज्वेलरी प्रालि, बराह फेमिली किचेन, बराह डिपार्टमेन्ट स्टोर, बराह भेडेटार मल्टिपर्पोज प्रालि, बराह कृषि उपज तथा पशुपालन प्रालि, कृपा दृश्य डिजिटल प्रडक्सन प्रालि खोलेका थिए ।
धरान बाहिर इन्द्र बराह ट्राभल्स एन्ड टुर्स प्रालि काठमाडौं, नारायण बराह ज्वेलरी इन्ड्रस्ट्रिज प्रालि भरतपुर चितवन, गोरखा एन्ड बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि पोखरा, बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि काठमाडौं, बराह प्रपर्टी सर्भिेसस प्रालि काठमाडौं, बराह नेसनल इन्भेस्टमेन्ट प्रालि, काठमाडौं, ड्रिम ल्यान्ड रियल स्टेट प्रालि लगायत २८ कम्पनी खुलेको छ । दुबईमा अल बराह मिनी मार्केट एलएलसी, हङकङमा इन्द्र बराह ज्वेलरी पनि खुलेको थियो ।
कम्पनी कोरोना महामारीपछि संकटमा फसेको थियो । बराहले सर्वसाधारणबाट संकलन गरेको बचतको ठूलो हिस्सा घरजग्गा प्लटिङ लगानी गरेपछि सर्वसाधारणको बचत फिर्ता गर्न नसकेको बताइन्छ ।
पछिल्लो समय बराह सहकारी २०७८ सालदेखि नै आर्थिक संकटमा परेको थियो । सञ्चालकले बचतकर्ताको रकम फिर्ता गर्ने वाचा गरिरहे । बचतकर्ता आशमा थिए । यो अवधिमा करिब ६ करोड सर्वसाधारणको बचत फिर्ता गरेको देखिएको सहकारी रजिस्ट्रार कार्यालयका प्रमुख खत्री बताउँछन् ।
२३ भदौ २०८१ मा बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछानेले सार्वजनिक अपिल जारी गरी असहज परिस्थितिले दुर्घटना बेहोर्न बाध्य भएको र लगानीको शतप्रतिशत सुरक्षाको जिम्मेवारी कम्पनी सञ्चालक तथा सहकारीका सञ्चालक रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आर्थिक सन्तुलन तत्काल हुने गरी प्याकेज बनाएको अपिलमा उल्लेख थियो । असोजबाट विस्तृत योजना सार्वजनिक गर्ने बताए पनि लामिछानले कुनै योजना सार्वजनिक गरेनन् । त्यसपछि रुष्ट बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।