Tuesday, January 7, 2025
घरक्राइम चेकसमाचार लेखेको भन्दै पत्रकार जियालाललाई धम्की, पत्रकार महासंघद्वारा कारवाहीको माग

समाचार लेखेको भन्दै पत्रकार जियालाललाई धम्की, पत्रकार महासंघद्वारा कारवाहीको माग

वीरगंज/समाचार लेखेको विरोधमा पत्रकार जियालाललाई धम्की आएको छ।

केहि दिन अगाडी साहले ‘विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पार्टीमा प्रवेश गराइएको’ भन्ने शीर्षकमा समाचार लेखेपछि असंतुष्ट पक्षले उनलाई सार्वजनिक बेइज्जती साथै धम्की  दिएको साहले जनाएका छन्।

पत्रकार साहले धम्कीको लिखित जानकारी नेपाल पत्रकार महासंघ पर्सालाई दिएपछि महासंघ पर्सा शाखाले समाचार लेखेकै कारण सामाजिक सञ्जालमार्फत दिइएको धम्की र मानसिक दबाबप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार महासंघ पर्साका सचिव विजय कुमार महतोले जारी गरेको प्रेस विज्ञप्तिमा सिधा कुरा डटकम अनलाइन पोर्टलमा प्रकाशित एक समाचारलाई लिएर पत्रकार साहलाई लक्षित गर्दै धम्कीपूर्ण गतिविधि भएको उल्लेख गरिएको छ ।

साहले केही दिन अगाडी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवाप्रसौनीमा आयोजित कार्यक्रममा ‘विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पार्टीमा प्रवेश गराइएको’ भन्ने विषय समाचार लेखेका थिए ।

महासंघ अनुसार उक्त समाचारपछि सामाजिक सञ्जालमा पत्रकार साहको फोटो प्रयोग गरी धम्कीपूर्ण स्ट्याटस लेख्नु र लेख्न लगाउनु अत्यन्त आपत्तिजनक कार्य हो ।

महासङ्घले यदि प्रकाशित समाचारप्रति कुनै असन्तोष भए कानुनी उपचारको बाटो अपनाउनुपर्नेमा सामाजिक सञ्जालमार्फत धम्की दिनु आम सञ्चारकर्मी र सञ्चारमाध्यममाथि प्रहार भएको ठहर गरेको छ । विगत केही समयदेखि सञ्चारकर्मीप्रति देखिएका विभिन्न प्रकारका धम्की र दुर्व्यवहारले लोकतन्त्रको पक्षमा उभिएका सञ्चारकर्मीमाथि असुरक्षा सिर्जना गरेको महासङ्घको भनाइ छ ।

महासंघले यस्तो घटनालाई गम्भीरतापूर्वक लिएर सम्बन्धित पक्षलाई पत्रकारहरूमाथि गरिने दुर्व्यवहार रोक्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

पत्रकार महासंघ ले लोकतन्त्र र विधिको शासनको पक्षमा काम गर्ने सञ्चारकर्मीहरूलाई डर धम्कीबाट बचाउन सरकार, राजनीतिक दल र सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरेको छ । साथै, पत्रकार साहविरुद्ध भइरहेको धम्कीपूर्ण गतिविधिको छानबिन गरी कानुनी कारबाही थाल्न जोडदार माग गरेको छ ।

महासंघले पत्रकारको सुरक्षा र सम्मानका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको समेत दोहोर्‍याएको छ ।

नेपाल पत्रकार महासंघ पर्साले पत्रकार जियालाललाई धम्की दिएको घटना विरुद्ध जारी गरेको विज्ञप्ति
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -