काठमाडौं । सन् २०२५ बलिउडका तीन खान अभिनेताहरू शाहरुख, सलमान र आमिरको लागि महत्वपूर्ण हुनेछ । किनभने तीनैजना अभिनेताको उमेर यस वर्ष ६० वर्ष पूरा हुनेछ ।
सबैभन्दा सुरुमा मार्च १४ मा आमिर ६० पुग्नेछन् । त्यसपछि नोभेम्बर २ मा शाहरुख र डिसेम्बर २७ मा सलमानले ६० वर्षको उमेर पुग्नेछन् । यी तीनैजनाले बक्स अफिसमा शासन त गर्नेछन् तर ६० वर्ष पुगेपछि के उनीहरुको स्टारडममा असर पर्ला ?
बलिउड व्यापार विश्लेषक तरण आदर्श यससँग असहमत छन् । उनी भन्छन्, ‘उमेर केवल संख्या मात्र हो । मानिसलाई उनीहरूको उमेरबारे थाहा छ र अझै पनि उनीहरु यी स्टारलाई लिएर क्रेजी छन् ।’
तरण अगाडि भन्छन्, ‘उनीहरु ९० को दशकका सुपरस्टार हुन् जसले बक्स अफिसमा मात्रै हैन, हाम्रो मनमा पनि राज गरेका छन् । उनीहरू आज पनि सान्दर्भिक छन् र समयसँगै परिवर्तित पनि । उदाहरणका लागि ‘सिकन्दर’ । स्पष्ट छ कि सलमान यसमा भिन्न छन् तर यसमा मास दर्शकलाई चाहिने सबै तत्व समावेश छन् ।’
तरणका अनुसार अब यी तीन खान अलि परिपक्व भूमिकामा देखिनेछन् । ‘उनीहरू अब स्वीट्जरल्याण्डमा दौडिन सक्दैनन्,’ उनी भन्छन्, ‘तर जब तपाईं परिपक्व भूमिकामा देखिनुहुन्छ र आफ्नो उमेरसँगै काम गर्नुहुन्छ । तपाईं दर्शकसँग जोडिन सक्नुहुन्छ ।’
अर्का विश्लेषक अतुल मोहनले शाहरुख, सलमान र आमिरलाई वृद्ध नायकहरूप्रति दर्शकको बढ्दो दृष्टिकोणले फाइदा भएको टिप्पणी गरे ।
‘अहिले धेरै कुरा भिन्न छन् । यसअघि ५० वा ५५ वर्ष पुगेका कलाकारले चरित्र भूमिका खेल्न थालेका थिए,’ उनी भन्छन्, ‘शाहरुखका फिल्म धेरै चल्न थालेका छन् । सलमानको एउटा कमजोर फिल्मले पनि सय करोड भारु कमाउँछ । अमिताभ बच्चन, दिलीप खन्ना, राजेश खन्ना, धर्मेन्द्रले ६० वर्ष पुग्नुअघि नै चरित्र भूमिका खेल्न थालेका थिए ।’
उनले अगाडि भने, ‘जबसम्म राम्रा किसिमका फिल्म बन्दैनन् तबसम्म उनीहरूलाई दर्शकले स्वीकार गर्दैनन् । उनले साउथ स्टारहरूको उदाहरण पनि दिए जो खानभन्दा ठूला छन् र बक्स अफिसमा राज गरिरहेका छन् । रजनीकान्त ७० वर्षभन्दा माथिका छन् र उनका फिल्मले धेरै कमाउँछन् । कमल हसनले यो उमेरमा आफ्नो करिअरको सबैभन्दा ठूलो हिट ‘विक्रम’ (२०२२) दिए ।
वितरक र प्रदर्शक राज वंशल भन्छन्, ‘यसले उनीहरूको स्टारडमलाई असर गर्छ । तर रणवीर कपुर बाहेकका कुनै पनि अभिनेता त्यति बलियो देखिएनन्, जसले आफ्नो स्टारडमलाई चुनौती दिन सक्छन् । त्यसकारण तिनीहरूले आफूहरुलाई यति लामो समयसम्म निरन्तरता दिइरहेका छन् । यसर्थ उनीहरू भाग्यमानी छन् ।’
तीन खानका लागि सन् २०२५
दुःखको कुरा, ६० वर्ष पुगेको वर्ष शाहरुखका फिल्म रिलिज हुनेछैनन् । उनको अर्को फिल्म ‘किङ’ मार्च २०२६ मा सिनेमाघरमा आउने अपेक्षा गरिएको छ । यस फिल्ममा अभिषेक बच्चन र अभय वर्मासँगै उनकी छोरी सुहाना पनि छन् । भर्खरै सुजोय घोषले प्रोजेक्ट छाडेपछि यो फिल्म चर्चामा आएको थियो । सिद्धार्थ आनन्दले अब यो एक्सन फिल्म निर्देशन गर्नेछन् ।
सलमानको ‘सिकन्दर’ इदमा रिलिज हुँदैछ । आमिरको ‘सितारे जमीन पर’ सन् २०२५ को पूर्वार्द्धमा रिलिज हुने अपेक्षा छ । उनी आफ्नो निर्माण हुने फिल्म ‘लाहोर १९४७’ मा पनि सहायक भूमिकामा रहनेछन् । राजकुमार सन्तोषीले निर्देशन गरेको यो फिल्ममा प्रीति जिन्टा र अली फजलबाहेक सन्नी देओलले अभिनय गरेका छन् ।