विराटनगर । कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को तयारी तीव्र भएको छ । कोशी प्रदेश भ्रमण वर्ष –२०८२ का लागि कोशी प्रदेश सरकारले सचिवालय स्थापना गरेसँगै त्यसको तयारी तीव्र बनाएको हो ।
भ्रमण वर्षको गतिविधि तथा तयारीका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सचिवालय स्थापना भएको छ ।
भारतको सिक्किम, विहार र उत्तर प्रदेशबाट तथा तेस्रो मुलुकबाट विदेशी पर्यटकलाई भित्र्याउन सडक पूर्वाधार निमार्ण तथा पर्यटकीय गन्तव्यलाई व्यवस्थित गर्ने कामलाई प्रदेश सरकारले तीव्रता दिएको छ ।
भ्रमण वर्षमा वर्षमा बढिभन्दा बढी पर्यटकहरूलाई भित्राउन प्रदेशका पर्यटकीय गन्तव्यहरूको थप पहिचान गर्ने र त्यसलाई व्यवस्थित काम भइरहेको पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेको भनाई छ ।
उहाँले भ्रमण वर्षको सम्पूर्ण तयारी मन्त्रालयले गरिरहेको र भ्रमण वर्ष सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । कोशी प्रदेशमा पर्यटनको धेरै सम्भावना भएकाले यस विषयमा राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जानकारी गराउन प्रदेश सरकारले भ्रमण वर्ष आयोजना गर्न लागेको सचिव घिमिरेको भनाई थियो ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा १० करोड रुपैयाँ बजेट विनियोजन गरेर पर्यटन वर्षको कार्यक्रमलाई अगाडि बढाएको छ । कोशी प्रदेश सरकारले पर्यटन वर्षका लागि विनियोजन गरिएको १० करोड बजेट भौतिक पूर्वाधार निर्माणमा खर्च गर्ने जनाएको छ ।
प्रदेश सरकारले २०८२ लाई कोशी प्रदेश भ्रमण वर्ष घोषणा गरेपछि आफूहरू उत्साहित भएको र बढिभन्दा बढी पर्यटकलाई भित्राउन पहल गर्नुका साथै उनीहरूको आगमन सहज बनाउनुपर्ने होटल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठको भनाई छ । सीमा नाकामा वाह्रय पर्यटक चढेर आउने सवारी साधनको आवत जावतमा सहज नहुँदा अहिले समस्या हुने गरेको उहाँको भनाई छ ।
पर्यटन वर्ष २०८२ का सहसंयोजक एवं पर्यटन व्यवसायी भवेष श्रेष्ठले निजि क्षेत्रको सहकार्यमा आयोजना हुन लागेको पर्यटन वर्षले आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताउनुभयो । निजिक्षेत्रलाई साथमा लिएर सरकारले भ्रमण वर्ष घोषणा गरेकाले यसलाई सफल बनाउन निजिक्षेत्रको हर प्रकारको सहयोग रहने उहाँले बताउनुभयो ।
कोशी प्रदेशमा बढिभन्दा बढी वाह्रय पर्यटकहरूलाई भित्राउँदै “संवृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न प्रदेश सरकारले कोशी प्रदेश भ्रमण वर्ष–२०८२ घोषणा गरेको हो ।
भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण रहेको यो प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर प्रदेशको रुपमा चिनिन्छ । नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमालमध्ये ५ वटा कोशी प्रदेशमा रहेका छन् ।
पाथीभरा, बराहक्षेत्र र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक र धार्मिक सम्पदाहरू रहेका छन् ।
२०८२ वैशाख १ गते तेह्रथुम जिल्लाको लालिगुँरासको राजधानी तिनजुरे मिल्केमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश भ्रमण वर्षको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको छ ।