१८ पुस, काठमाडौं । सन् १९६४ मा जवाहरलाल नेहरूको निधनपछि लालबहादुर शास्त्री भारतका प्रधानमन्त्री भए । शास्त्री मन्त्रिपरिषद्मा एकमात्रै महिला मन्त्री थिइन्, नेहरूपुत्री इन्दिरा गान्धी, जसलाई सूचना तथा प्रसार मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
तर, भारतको स्वतन्त्र पार्टीका संस्थापक तथा पूर्वसांसद पीलू मोदीले इन्दिरा गान्धीका विषयमा अनौठो टिप्पणी गरेः मन्त्रिपरिषद्की एक मात्रै पुरुष । मोदीको त्यो भनाइ गान्धी प्रधानमन्त्री रहुञ्जेलसम्म पनि चर्चित रह्यो । गान्धीको निर्भिक व्यक्तित्व तथा निर्णय क्षमतालाई संकेत गर्दै मोदीले उनलाई त्यस्तो उपमा दिइएको इन्डियन नेसनल कांग्रेसले उल्लेख गरेको छ ।
नेपालको परराष्ट्र सेवाको पहिलो अधिकृत तथा प्रथम नेपाली महिला राजदूत बिन्दा स्वारी शाह पनि नेपालको कुटनीतिकी त्यस्तै व्यक्तित्व भएको पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई बताउँछन् ।
‘परराष्ट्र सेवामा लोकसेवा पास गरेर अधिकृत हुने उहाँ पहिलो महिला हुनुहुन्थ्यो, उपसचिव, सहसचिव, राजदूत र अतिरिक्त सचिव बन्ने पनि उहाँ नै पहिलो हो,’ पूर्वसचिव भट्टराई भन्छन्, ‘परराष्ट्र सेवामा एक्लो महिला हुँदा पनि उहाँको योग्यता र क्षमता भने निकै उच्चकोटीको थियो ।’
(तत्कालीन भारतीय राष्ट्रपति रामास्वामी बैंकटरमणलाई सन् १९८८ मा ओहोदाको प्रमाणपत्र बुझाएपछि तत्कालीन राजदूत शाह)
नेपालको परराष्ट्र सेवामा पनि एकजना पुरुष बिन्दा स्वारी (विन्देश्वरी) भन्ने गरिएको कुरा भट्टराई सम्झन्छन् ।
बिन्दा स्वारीका पिता पद्मसुन्दर मल्लले अमेरिका र जापानमा इन्जिनियरिङ पढेका थिए । शिक्षित नागरिक देशमा भए भने शासन व्यवस्थालाई नै चुनौती हुन्छ भनेर राणाहरूले पढालेखा मानिसहरूलाई देशमा बस्न दिँदैनथे । मल्ललाई पनि राणाहरूले देशनिकाला गरेपछि उनी भारतको कर्सियोङ (कर्साङ)मा बस्न थाले । त्यहीँ सन् १९३३ मा जन्मेकी बिन्दा स्वारीले शिक्षादीक्षाको राम्रो अवसर पाइन् ।
उनले कर्साङकै सेन्ट हेलेन्स कन्भेन्ट स्कुलबाट विद्यालय शिक्षा पूरा गरिन् । १९५१ मा स्नातक गरेपछि उनले एक विश्वव्यापी निबन्ध प्रतियोगितामा भाग लिइन् । न्युयोर्क हेराल्ड ट्रिब्युनले आयोजना गरेको सो निबन्ध प्रतियोगितामा ‘भोलिको संसार’ शीर्षकको निबन्ध लेखेर उनी विश्वव्यापी फेलोसिपमा छानिइन् । र, अमेरिका जाने अवसर प्राप्त गरिन् ।
त्यहाँ उनले तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी एस ट्र्युम्यानसँग भेट गर्ने मौका पाइन् ।
मे १९५६ मा, बिन्दा स्वारी शाहले कोलम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजबाट लिबरल आट्र्समा स्नातक उपाधि हासिल गरिन् भने १९५८ मा स्कूल अफ एडभान्स्ड इन्टरनेशनल स्टडीज, जोन्स हप्किन्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरिन् ।
अमेरिकी कलेजबाट स्नातक र स्नातकोत्तर गर्ने उनी पहिलो नेपाली महिला हुन् ।
नेपाल फर्किएपछि उनले केही समयका लागि काठमाडौंमा अमेरिकी पुस्तकालय स्थापना गर्न काम गरिन् । उनले सो पुस्तकालयको पहिलो सदस्य तत्कालीन राजा महेन्द्रलाई बनाएकी थिइन् भने दोस्रो सदस्य तत्कालीन प्रधानमन्त्री बीपीलाई बनाइन् ।
प्रधानमन्त्री बीपी कोइरालाले लोकसेवामा प्रतिस्पर्धा गरी सरकारी सेवामा प्रवेश गर्न हास्याएपछि उनी त्यो बाटोमा लागिन् । र, सन् १९५९ मा उनी लोकसेवा परीक्षामा उत्तीर्ण भई परराष्ट्र सेवाको पहिलो महिला अधिकृत बन्न सफल भइन् ।
सन् १९६१ मा उनको पोस्टिङ अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा भयो, जुनबेला अमेरिकाका लागि नेपाली राजदूत पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला थिए । दुतावासमा प्रथम सचिवका रूपमा कार्यरत उनले राजदूत नहुँदा कार्यवाहक राजदूतसमेत भएर काम गरेको पूर्वसचिव भट्टराईले उल्लेख गरे ।
वासिंगटनमा रहँदा नै उनको भेट नारायणकेशरी शाहसँग भयो, जो जोन हप्किन्स विश्वविद्यालयमै चिकित्साशास्त्र पढिरहेका थिए । उनीहरूबीच सन् १९६६ मा विवाह भयो । डा. शाह त्यसबेलाका नाम चलेका सरुवा रोगका विशेषज्ञ थिए ।
परराष्ट्रको अधिकृतका रूपमा उनले युनेस्कोका लागि नेपाली आयोगको सदस्यसचिव भएर पनि काम गरेकी थिइन्, जसको अध्यक्ष तत्कालीन रानी रत्नराज्यलक्ष्मी शाह थिइन् ।
बिन्दा स्वारी शाहले सन् १९७२ मा निकै महत्वपूर्ण नियुक्ति पाइन् । सन् १९७२ मा बंगलादेश स्वतन्त्र भएपछि नेपालले त्यहाँ दूतावास खोल्यो, र कार्यवाहक राजदूतमा शाहलाई नियुक्त गर्यो । बंगलादेशका लागि पहिलो कार्यवाहक राजदूतका रूपमा रहँदा सैनिक विद्रोह र तत्कालीन राष्ट्रपति शेख मुजिबुर रहमानको हत्याको साक्षी बनेकी थिइन् ।
पञ्चायतको अन्त्यतिर सन् १९८८ मा तत्कालीन राजा वीरेन्द्रले शाहलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरे । यसरी उनी राजदूतको पद सम्हाल्ने पहिलो नेपाली महिला बन्न सफल भइन् ।
नेपाल फर्किएपछि बिन्दा स्वारी शाहले केही समयका लागि काठमाडौंमा अमेरिकी पुस्तकालय स्थापना गर्न काम गरिन् । उनले सो पुस्तकालयको पहिलो सदस्य तत्कालीन राजा महेन्द्रलाई बनाएकी थिइन् भने दोस्रो सदस्य तत्कालीन प्रधानमन्त्री बीपीलाई बनाइन् ।
शाह भारतका लागि नेपाली राजदूत हुँदा परिस्थिति दुई हिसाबले अत्यन्तै चुनौतीपूर्ण थियो । पहिलो– उनी राजदूत भएकै बेला पारवहन सन्धि नवीकरण नभएको भन्दै भारतले सन् १९८९ मा नाकाबन्दी लगायो । लगत्तै नेपालमा बहुदलीय प्रजातन्त्रका पक्षमा भएको आन्दोलन सफल भयो ।
राजनीतिक रूपमा कठीन अवस्था रहेको बेला शाहले दिल्लीमा राजदूतका रूपमा सेवा गरेको भारतका लागि पूर्वराजदूत समेत रहेका डा. भेषबहादुर थापा बताउँछन् । उनी नै भारतका लागि नेपाली राजदूतका रुपमा काम गर्ने सबैभन्दा अन्तिम ‘करिअर डिप्लोम्याट’ भएको पूर्वसचिव भट्टराई बताउँछन् ।
भारतमा तीन वर्ष सेवा गरेपछि उनी परराष्ट्र मन्त्रालयमा फर्किइन, उनी बढुवा भएर अतिरिक्त सचिव भइन् । तर, २०४८ सालमा तत्कालीन सरकारले ३० वर्ष सेवा अवधि पूरा गरेका सबै कर्मचारीलाई अवकास दिने निर्णय गरेपछि उनी सेवा निवृत्त भइन् ।
‘नेपालको परराष्ट्र नीतिलाई आकार दिने काममा शाहको निकै महत्वपूर्ण योगदान छ, उनलाई परराष्ट्र मन्त्रालय र कूटनीतिक क्षेत्रको एउटा महत्वपूर्ण खम्बाका रूपमा लिइन्थ्यो,’ भट्टराई सम्झन्छन् ।
कुटनीतिको कखरा आफूले शाहबाट नै सिकेको भट्टराई सम्झन्छन् ।
पूर्वमन्त्री तथा भारत तथा अमेरिकाका लागि पूर्वराजदूत डा. भेषबहादुर थापा पहिलो महिलाका राजदूतका रूपमा मात्रै होइन, एक कुशल, शिक्षित र योग्य कुटनीतिज्ञका रूपमा विन्देश्वरी शाहले गहिरो छाप छोडेर गएको बताउँछन् । ‘भारत र अमेरिकाजस्तो देशका नियोगमा बसेर उहाँले महत्वपूर्ण काम गर्नुभएको थियो,’ उनले भने ।
नेपालमा राजनीतिक परिवर्तनको आन्दोलन मात्रै होइन, नेपाल–भारत सम्बन्ध चिसिएको कठिन परिस्थितिमा उनले भारतका लागि नेपाली राजदूतको भूमिका निर्वाह गरेको डा. थापा सम्झन्छन् । ‘हामी फरक–फरक समयमा अमेरिका तथा भारतका दूतावासमा रहेर काम गर्यौं त्यसो हुँदा घटना विशेष सम्झन्न, तर उहाँलाई एक क्षमतावान कुटनीतिज्ञ र परराष्ट्र सेवाको विशिष्ट श्रेणीमा पुग्ने पहिलो महिलाका रूपमा भने सम्झन्छु,’ डा. थापा भन्छन् ।
परराष्ट्र मन्त्रालयमा व्यवस्थित फाइलिङ प्रणालीको शुरुआत पनि शाहले नै गरेको भट्टराईको सम्झनामा छ । ‘उहाँले अमेरिकामा पढ्दा लाइब्रेरी साइन्स पनि पढ्नुभएको रहेछ, त्यसले उहाँलाई फाइलिङमा सिपालु बनायो, जुन सीप उहाँले मन्त्रालयलाई संस्थागत गर्न प्रयोग गर्नुभएको थियो,’ भट्टराई सम्झन्छन् ।
शाह नेपालको कूटनीतिक क्षेत्रकी विशिष्ट व्यक्तित्व भएको पूर्वमुख्यसचिव तथा पूर्वपरराष्ट्रसचिव शंकर वैरागी बताउँछन् । शाहले आफ्नो परराष्ट्र सेवाको सुरूआती दिनमा महत्वपूर्ण दिशानिर्देश गरेको उनी सम्झन्छन् ।
सेवानिवृत्त भएपछि भने उनले सम्पूर्ण समय परिवारका साथ बिताइन् । उनै पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भयो ।
शाहका दुई छोराहरू अनिलकेशरी शाह र उज्ज्वलकेशरी शाहमध्ये जेठा छोरा अनिल नेपालका चर्चित बैंकर हुन् । हाल उनी राजनीतिमा प्रवेश गरेका छन् । कान्छा छोरा उज्ज्वलको भने सानै उमेरमा निधन भएको थियो ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले बिहीबार शाह निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।