१८ पुस, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली बिहीबार अपराह्न पार्टी बैठकलगत्तै पूर्वराष्ट्रपति विद्या भण्डारी भेट्न चपली निवास गए । प्रधानमन्त्री तथा पूर्वराष्ट्रपति दुवैतर्फका स्रोत भन्छन्, ‘अढाई घन्टा सौहार्द वार्ता भयो ।’ तर भेटघाटका पृष्ठभूमि भने धेरै सौहार्द छैनन् ।
शीतल निवासमा दुई कार्यकाल बिताएपछि पूर्वराष्ट्रपति भण्डारी फेरि एमाले अध्यक्ष बन्न चाहन्छिन् ।
अनलाइनखबरसँग गत असोजमा बोल्दै उनले आफू पार्टीमा फर्केर अध्यक्ष बन्ने सम्भावना टरिनसकेको बताएकी थिइन् । उनले राष्ट्राध्यक्ष बन्ने बेला नौ वर्षअघि ‘निष्क्रिय’ पारेको पार्टी सदस्यता गत वैशाखमा नवीकरण गरिसकेकी छन् । अनि जिल्ला–जिल्लाबाट काठमाडौं आउने एमाले नेता कार्यकर्तालाई पूर्वराष्ट्रपति भण्डारीले प्राथमिकतासाथ भेट्न थालेकी छन् । एमालेमा अचेल अवसर नपाउने कार्यकर्ताका पीडा भण्डारीले मज्जैले सुन्दिन थालेकी छन् । भण्डारीका गतिविधि, अनि उनलाई भेट्न जाने नेता–कार्यकर्ताका नाम ओलीको जानकारी बाहिर छैनन् ।
यिनै पृष्ठभूमिको प्रतिक्रियामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले दुई साताअघि भण्डारीबारे अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । मंसिर अन्तिम साता एमालेको संगठन विभागद्वारा आयोजित कार्यक्रम समापनमा बोल्दै ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई यसअघिका महत्त्वपूर्ण जिम्मेवारीमा आफूले नै प्रस्ताव गरेको जस लिए । अनि उनलाई राजनीतिमा ल्याउनुपरे आफैंले प्रस्ताव गर्न सक्ने संकेत दिँदै अनावश्यक रुपमा ‘गल लगाएर नतान्न’ पार्टी नेताहरूलाई चेतावनी नै दिए । उनले यसअघि विराटनगरमा मिडियासँग बोल्ने क्रममा भण्डारीको सम्भावित सक्रिय राजनीतिको प्रसंग झिकेर पार्टीभित्र समस्या पैदा गर्न खोजिएको बताएका थिए ।
ओली–भण्डारी ‘सौहार्द वार्ता’ को पृष्ठभूमिमा यस्ता अरु पनि दृष्टान्त छन्, जसलाई मिहीन ढंगले केलाउँदै छलफल गर्न अढाई घण्टा सायद पर्याप्त हुन्थेन । ‘बीचमा राम्रोसँग उहाँहरूबीच भेटघाट छलफल नभएको लामै भइसकेको थियो,’ उच्च स्रोतले भन्यो, ‘बाहिर चर्चा र गतिविधि बाक्लै बढे, तर जे–जे भए पनि आपसी संवाद भइराख्नुपर्यो नि, होइन ? आज भएको त्यही हो ।’
पार्टीका उच्च तहका नेताहरूले नै भण्डारीलाई सक्रिय गराउन चाहिरहेको एमाले वृत्तमा बहसमै छ । उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू भण्डारीलाई अग्रसर गराउन छलफलमा रहेको गाइँगुइँ चलेको थियो । जसको स्पष्टीकरणमा पौडेलले केही साताअघि एमालेमा ओलीलाई प्रतिस्थापित गर्ने अर्को कुनै नेता नभएको ठोकुवा गर्दैै अन्तर्वार्ता दिनुपरेको थियो । ओलीले आफूमाथि बढ्दो चुनौतीलाई समयमै आंकलन गरिसकेका छन् ।
एमालेका नेता, कार्यकर्ताहरू दिनहुँ भण्डारी निवास चपली जान थालेपछि मंसिर अन्तिम साताको दुईदिने संगठन विभाग कार्यक्रममा ओलीले दिएको सन्देश सिधा थियो । एमाले नेतृत्वमा ७० वर्षको उमेरहद हटिसकेको छ । अनि ओली पोहोर चैतमा स्याङ्जा जिल्ला अधिवेशन उद्घाटन क्रममा आफू अझै २० वर्ष पार्टी नेतृत्वमा रहनसक्ने जिकिर गरेका थिए । पार्टीका केही नेताहरूले बताए अनुसार उनको यो अभिव्यक्ति अरु कोही नभएर पूर्वराष्ट्रपति भण्डारीको सम्भावित सक्रियतातर्फ लक्षित गर्दै दिइएको थियो ।
र, पछिल्लो अर्को प्रसंग पनि छ, जसलाई ओली सहजै पन्छाउने सक्ने अवस्थामा छैनन् । एमालेबाट निष्कासित नेता भीम रावलले बुधबार ओलीलक्षित ७४ बुँदे आरोपपत्रमा ठाउँ–ठाउँमा एमालेभित्र ओली सर्वेसर्वा बन्न जाँदा पार्टी नै शिथिल बन्न पुगेको आरोप लगाएका छन् । त्यसभित्रका कतिपय बुँदाहरूमा पूर्वराष्ट्रपति भण्डारी पनि जोडिन पुग्छिन् । काभ्रेलगायत केही जिल्लामा भण्डारी पक्षीय भन्दै समानान्तर गुट बन्न थालेको परिदृश्यलाई ओलीले नोट गरेको, सम्भवत: यस्ता विषय पनि चपली-भेटमा प्रवेश गर्न सक्ने एमाले नेताहरुले भने ।
बिहीबार ओली स्वयंले अध्यक्षता गरेको पार्टी बैठकमा सरकारमा पार्टीको कार्यक्षमता, नेतृत्वको शैली आदि विषयमा प्रश्नहरू उठेका थिए । ओली आफैंले राष्ट्रिय राजनीति सहज अवस्थामा नरहेको बताएका थिए । बैठकपछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक अवस्थाको बारेमा गम्भीर विवेचना गरिएको टिप्पणी गरेका थिए ।
यसअघि असार २८ मा ओली प्रधानमन्त्री नियुक्त भएको सूचना सार्वजनिक हुनासाथ पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका थिए । त्यसयता दुई नेताबीच बेलाबखत फोनमा कुरा हुने बाहेक खुलेर संवाद नभएको लामो अवधि भइसकेको स्रोत बताउँछ ।
एमालेको सक्रिय राजनीतिमा फर्कन चाहने भण्डारी, अनि उनलाई ‘गल लगाएर नतान्न’ पार्टी पंक्तिलाई चेतावनी दिने ओलीका बीचमा धेरैपछि चपलीमा भएको छलफलले एमालेको आन्तरिक वृत्तमात्रै होइन, राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइदिएको छ ।