Saturday, January 4, 2025
घरसमाचाररावलको दस्तावेजमा ओलीमाथि आरोपको वर्षा, ९ बुँदे खण्डन

रावलको दस्तावेजमा ओलीमाथि आरोपको वर्षा, ९ बुँदे खण्डन

१७ पुस, काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेको सात दिनपछि बुधबार नेता भीम रावल सञ्चारकर्मीका अघि उभिएका थिए । आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमार्फत् रावलले पाँच दशकसम्म आफ्नोसमेत योगदान रहेको पार्टी एमाले सिद्धान्त र गन्तव्यहीन बनेकाले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति बनाउने निष्कर्षमा पुगेको घोषणा गरे ।

‘एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लागेको छ’, रावलले सार्वजनिक गरेको ३६ पृष्ठको दस्तावेजमा भनिएको छ, ‘आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा धकेलिएको छ ।’

समर्थक र सहभागीले भरिएको हलबाट रावलले पार्टी गठनको अभ्यासमा मातृभूमि जागरण अभियान सुरू गर्ने निर्णय सुनाए, ‘देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्नेछ ।’

नौ बुँदे प्रष्टोक्ति

२०३२ सालदेखि आबद्ध पार्टीको सदस्यबाट आफूलाई निकाल्ने निर्णयलाई भीम रावलले केपी ओलीको तानाशाही, स्वच्छचारी र निरकुंश कदम भनेका छन् । ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने, र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, तर पार्टीले प्रतिक्रियावादी र देशघाती भनेकाहरू, भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाठँ गरी .. ’, रावलको पत्रमा भनिएको छ ।

पार्टी सदस्यबाट निष्कासन गर्ने क्रममा एमालेले लगाएको आरोपबारे भने रावलले उल्टै ओलीलाई प्रतिप्रश्न गरेका छन् । ‘कथित स्पष्टीकरणको मैले जवाफ दिनुभन्दा स्वयं केपी ओलीले नै नेकपा एमालेको देशभक्त, इमान्दार पंक्ति र नेपाली जनतालाई थुप्रै प्रश्नहरूको जवाफ दिनुपर्ने देखिएको छ’, रावलको डकुमेन्टमा भनिएको छ ।

गत ६ कात्तिकमा पार्टीहितविपरीतका गतिविधिमा संलग्न रहेको आरोपसहित एमालेले रावलसँग स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ नदिएका भीम रावललाई १० पुसको सचिवालय बैठकबाट निष्कासन गरिएको थियो ।

रावलले भने स्पष्टीकरण र पार्टी निष्कासनको निर्णय हुँदा गलत तथ्य प्रस्तुत गरिएको दाबीसहित प्रतिप्रश्न गरेका छन् ।

९ शीर्षकमा व्याख्यासहित गरिएको प्रतिप्रश्न मूलतः २०७८ मंसिरमा सम्पन्न दशौं महाधिवेशनयताका घटनाक्रम र ओलीसँग सम्बन्धित छन् ।

१. एकताको महाधिवेशन हुन दिइएन

दशौं महाधिवेशनलाई ओलीले एकताको महाधिवेशन हुन नदिएकाले समस्या बढ्दै गएको रावलको निष्कर्ष छ । आठौंमा झलनाथ खनाल र नवौंमा माधवकुमार नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका ओलीले दशौं महाधिवेशनमा आन्तरिक लोकतन्त्रको धज्जी उडाएका घटना विवरणहरू रावलले सार्वजनिक गरेका छन् ।

२. उपाध्यक्षको प्रस्ताव झुटो

सार्वजनिक प्रचारमा ल्याइएको जस्तो महाधिवेशनका बेला आफूलाई पदाधिकारी प्रस्ताव नगरिएको रावलले प्रष्टोक्ति दिएका छन् । बरू ओलीले मन लागेको पदमा लड्न पाइन्छ भनेपछि अध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गरेको रावलले जवाफ दिएका छन् ।

पदाधिकारी लड्ने व्यक्तिले केन्द्रीय सदस्यको उम्मेदवार हुन नहुने ओलीको कुरा सुनेरै आफूले अध्यक्षमा मात्रै उम्मेदवारी दिएको रावलले बताएका छन् । यद्यपि, ९०४ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा निर्वाचन समितिका अध्यक्ष बिजय सुब्बाले बन्दसत्र हलमा प्रस्तुत गरेको रावलको पत्रमा लेखिएको छ ।

३.नसोधी सल्लाहकार

पार्टी अध्यक्ष पदमा पराजित भइसकेपछि आफूले ओलीलाई धन्यवाद दिन समेत नपाएको गुनासो रावलको छ ।विगतमा अध्यक्ष हार्नेले जित्नेलाई बधाई दिने परम्परा रहे पनि आफूलाई बोल्न नदिएको तर्क रावलले गरेका छन् ।

सल्लाहकारको भूमिका निर्वाह नगरेको भन्ने आरोपमा रावलले आफूसँग कुनै सल्लाह नभएकाले त्यो पद स्वीकार नगरेको जवाफ दिएका छन् । ‘पार्टीले नसोधी वा कुनै व्यक्तिको इच्छाविपरीत कुनै जिम्मेवारी दिएको स्थितिमा विगतमा सम्बन्धित व्यक्तिले नमानेका दर्जनौं घटना मैले देखेको र जानेको छु’, रावलले भनेका छन् ।

४. सम्पर्कमा नरहेको प्रचार झुटो

पार्टीको सम्पर्कमा नआएको भन्ने तथ्य खण्डन गर्न विभिन्न नेताहरूसँग भएको कुराकानी र ओलीसँग भेट्न गरिएको प्रयासहरू रावलले सार्वजनिक गरेका छन् । समर्थकहरूले भरिएको हलमा आफ्नो पत्र बाचन गरेका रावलले दशौं महाधिवेशनपछि कुराकानी र भेटेका नेताहरूको लामै सूची समेत सार्वजनिक गरेका छन् ।

पार्टीको सम्पर्कमा नरहेको भन्ने आरोपमा रावलले उल्टै ओलीलाई नै प्रश्न गरेका छन् । ‘माधव नेपालका विरुद्ध गुटबन्दी गरी राष्ट्रिय स्तरमा नै छाया समिति बनाएर काम गरिरहेको बेला वा बैठक नभएको वा कुनै निश्चित काम नभएको बेला बल्खुको केन्द्रीय कार्याल्य वा माधव नेपालको घरमा तपाई केपी ओली धाउनु हुन्थ्यो र ?’ रावलको प्रश्न छ, ‘अझ तपाई केन्द्रीय कमिटीको बैठकमा समेत ढिलो आउने, लामो बोल्ने र अरुको कुरा नसुनी बैठक छोडेर हिड्ने गरेको त्यस बेलाका केन्द्रीय कमिटीमा सबै सदस्यहरूलाई थाहा छैन र ?’

५. पार्टी नीतिविरुद्ध बोलेको छैन

पार्टीका नीति, निर्णय र नेतृत्वविरुद्ध अभिव्यक्ति दिएको भन्ने आरोपमा रावलले उल्टै चुनौती दिएका छन् । उनको चुनौती छ– मैले नेकपा एमालेको कुन नीति, निर्णयको विरुद्ध कहिले, कसरी, कुन अभिव्यक्ति दिए ? रावलले यो आरोप निराधार र अमूर्त रहेको जवाफ दिएका छन् ।

६. संवादमै थिए, अनिच्छा होइन
आफूसँग सम्वाद गर्न गठन भएको कार्यदलका नेताहरूसँग आफू लगातार सम्वादमा रहेको रावलको जिकिर छ । बरु भीम रावलसँग भेट्ने र कुरा गर्नेको नम्बर काटिन्छ भन्ने चेतावनी पार्टी नेतृत्वबाट दिइएको उल्टो आरोप रावलले लगाएका छन् ।

७. समानान्तर गतिविधि गरेको थिएन

पार्टी निर्देशनको अवज्ञा गरेको र समानान्तर गतिविधि गरेको भन्ने आरोप पनि काल्पनिक र भ्रमपूर्ण रहेको रावलको जवाफ छ । पार्टी नेता र कार्यकर्तासँग भेटघाट हुने गरे पनि कुनै नेता र कमिटीका विरुद्ध गतिविधि नगरेको रावलको प्रष्टोक्ति छ ।

‘के मैले पाँच दशक लामो समय काम गरेको राजनीतिक दलका नेता, कार्यकर्ता र सदस्य तथा शुभेच्छुक जनतासँग भेटघाट गरेको वा कुनै सामाजिक कार्यक्रममा सहभागी हुँदा पार्टीका कार्यकर्ताको समेत सहभागिता हुँदा समानान्तर गतिविधि गरेको ठहरिन्छ र ?’ रावलको प्रतिप्रश्न छ ।

८. पार्टीको प्रतिष्ठा बढाएको थिएँ

सार्वजनिक अभिव्यक्ति मार्फत् पार्टीको प्रतिष्ठामा आँच पुर्याएको आरोप आफूलाई लगाउनु हास्यास्पद भएको टिप्पणी गरेका छन् ।
बरु पार्टीको नीतिको पक्षमा उभिएर प्रतिष्ठा बचाउने काम गरेको दाबी उको छ । उल्टै ओलीको कदमका कारणले पार्टीको प्रतिष्ठामा गम्भीर प्रश्न उठेको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘.. फौजदारी मुद्दाका अभियुक्त, अनैतिक, भ्रष्ट तथा पार्टी निर्माणमा एक थोपा पसिना नबगाएकाहरू एवं विचौलिया र दलालहरूलाई संरक्षण गर्नुका साथै त्यस्तैको स्वार्थमा काम गर्ने नेतृत्वका क्रियाकलापहरू नै पार्टीको सिद्धान्त र नीतिविपरीत छैनन् र ?’

९.स्पष्टीकरण औचित्यहीन

देश, जनता र पार्टीका पक्षमा आफूले गरेको संघर्षहरू सम्झदै भीम रावलले महासचिव शंकर पोखरेलको नामबाट आएको स्पष्टीकरणलाई औचित्यहीन भनेका छन् ।ओलीलाई ज्यान मुद्दामा जेल बसेको भन्ने शब्द नै प्रयोग गरेका रावलले सात दिने स्पष्टीकरणको जवाफ सार्वजनिक गर्नु उचित ठानेको बताएका छन् ।

‘सत्यतथ्य कुरा नेकपा एमाले पंक्ति र जनता समष खुला रूपमा राख्नु सर्वथा उचित हुने हुँदा त्यसरी नै यहाँ प्रस्तुत भएको छु’, रावलको प्रष्टीकरण छ ।

यसरी स्पष्टीकरणको जवाफमा प्रतिप्रश्न गरेको रावलले आफ्नो दस्तावेजको दोस्रो खण्डमा भने ओलीमाथि गम्भीर आरोपहरूको वर्षा गरेका छन् । ओलीमाथि लगाइएको आरोपहरू ७४ बुँदा र उपबुँदाहरूमा व्याख्यासहित प्रस्तुत गरिएका छन् ।

रावलले आफूले उठाएका प्रश्नको जवाफ नदिए आगामी चुनाव ०८४ बाट एमाले पतन हुने चेतावनी पनि दिएका छन् । ‘अतः देशभक्त, लोकतान्त्रिक, न्यायप्रेमी जनता र नेकपा एमाले पंक्तिको तर्फबाट देश र जनताको हितका लागि उठाइएका निम्न लिखित विषय एवं प्रश्नहरूको तपाई केपी ओलीले जवाफ दिनुपर्छ र स्पष्ट गर्नुपर्छ । अन्यथा तपाईले भन्दै आउनु भएको ‘मिसन ०८४’ मिसन पतन सावित हुनेछ,’ रावलको चुनौती छ ।

यस्ता छन् ओलीमाथि रावलका आरोपहरू

  • २०७४ मा वाम गठबन्धनसँग झण्डै दुई तिहाइ बहुमत हुँदाहुँदै उपेन्द्र यादवलाई सरकारमा किन सहभागी गराइयो ?
  •  पार्टीका तर्फबाट वामदेव गौतम नेतृत्वको कार्यदलले दिएको सुझाव किन रद्दीको टोकरीमा फालियो ?
  •  स्थायी कमिटीलाई जानकारी नदिई प्रचण्डसँग पालैपालो प्रधानमन्त्री सहमति किन गरियो ?
  •  प्रधानमन्त्री हुने भएपछि जबजलाई तिलाञ्जलि दिएको होइन ?
  •  प्रचण्डसँग आधाआधा प्रधानमन्त्री हुने गोप्य पाँच बुँदे सहमति गरेर पार्टीभित्र कलहको विजारोपण किन गरियो ?
  •  २०७५ सालमा सुरक्षा परिषद्सम्बन्धी विधेयकमा प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्ने प्रावधान राखेर तानाशाह बन्ने कूआकांक्षा राखेको होइन ?
  •  ‘एसियाको नयाँ देश स्वतन्त्र मधेश’ भन्ने सीके राउतसँग प्रधानमन्त्रीले सम्झौता गर्नु उचित थियो ?
  •  भारतीय दूतावासको धम्कीपूर्ण पत्र आउँदा नेपालमा आयात हुने फलफूल, तरकारी, माछामासु लगायतको विषादी परीक्षण नगर्ने निर्णय कुन स्वार्थमा गरियो ?
  •  एक अर्ब खर्चेर नेपालमा भारतीय चलचित्रकर्मीहरूलाई दिइने आइफा पुरस्कार वितरण काठमाडौंमा गर्ने निर्णय किन भयो ?
  •  गुठी विधेयक किन ल्याउनु भयो ?
  •  होक्जा मुनको घोर कम्युनिष्ट विरोधी मन्तव्य स्वाथका साथ सुन्ने र सम्मान प्राप्त गर्दा देशको प्रधानमन्त्रीको गरिमा रह्यो ?
  •  असमान र अपमानजनक गोर्खा भर्ती बन्द गर्नुका साटो नेपाली युवतीहरूलाई भर्ती जान दिने किन ?
  •  सवारी साधनमा अंग्रेजी भाषामा नम्बर प्लेट राख्ने निर्णय कसको स्वार्थमा गरियो ?
  •  व्यवसायमा विदेशी लगानी आउन नहुने पार्टी नीतिविरुद्ध तपाई किन ?
  •  एमसीसी अध्ययन गर्न पार्टीले बनाएको कार्यदलको प्रतिवेदन किन कार्यान्वयन भएन ? एमसीसी पारित भइरहँदा संसदमा कथित् नाराबाजी नाटक किन ?
  •  घरघरमा खाना पकाउने ग्याँस, रेल, पानी जहाज जस्ता कार्यक्रमहरू कहाँ पुग्यो ?
  •  चोलेन्द्र शमशेर जबराका नातेदार गजेन्द्र हमाल मन्त्री नियुक्त हुँदा किन बोलिएन ?
  •  सर्वोच्च अदालतबाट नेकपाको एकता भंग गराउने फैसला तपाईकै डिजाइनमा भएको होइन ? (अरु घटनाक्रमहरू समेत सामेल गराइएको छ ।)
  •  बालुवाटारमा भारतीय रअका प्रमुख सामन्त गोयलसँग प्रतिनिधि सभा भंग गर्नेबारे कुराकानी गरिएको होइन ?
  •  लुम्बिनीका सांसद विमला वलीलाई अपहरण गर्ने शंकर पोखरलको सत्ता जोगाउन सेना परिचालन किन गरियो ?
  •  ९०० मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना सुटुक्क सम्पने तपाई होइन ?
  •  १७ ठाउँमा जसपालाई सिट छोड्ने अनि कमल थापालाई सूर्य चिन्ह किन दिइयो ? एकनाथ ढकाल एमालेको सांसद कसरी बने ?
  •  ७३ वर्षको बुढो अवस्थामा पनि अध्यक्ष र प्रधानमन्त्रीमा किन मुख वाएको वायै ? पञ्चायतकाल हुँदै १९ पटक मन्त्री भएकाले २० औं पटक मन्त्री किन ?
  •  संविधान दिवसलाई ‘कालो दिवस’ भन्ने राजपालाई संसदीय समितिको सभापति बनाउनुको रहस्य के हो ?
  •  बागमतीको किनारमा बस्नेहरूका लागि बनाइएको भवन प्रधानमन्त्री भएको बेला आफ्नी पत्नी संरक्षक रहेको मानव सेवा आश्रम नाम गैससलाई निःशुल्क किन दिइयो ?
  •  एक व्यवसायीको घरमा सातबुँदे गरी सत्ता फेर्नु अवसरवादी चरित्र होइन ?
  •  तपाई प्रधानमन्त्री भएकै बेला नेपालीहरूलाई नक्कली शरणार्थी बनाएको होइन ? तपाईकै गृहमन्त्रीका छोरा र सुरक्षा सल्लाहकार समेतले ठूलो रकम असुलेको होइन ? २०८० वैशाख २० गते प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमाले (टोपबहादुर रायमाझी) लाई गिरफ्तार नगर्न आग्रह गरेको होइन ?
  •  २०७७ वैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टीमा विग्रह ल्याएको होइन ?
  •  मदन भण्डारी फाउन्डेसनबाट देशभर समानान्तर पार्टी कमिटी चलाएको होइन ?
  •  ५ पुस २०७७ मा प्रतिनिधि सभाको असंवैधानिक निर्णय गरी देश, जनता र पार्टीलाई अनिश्चयतिर धकेलेको होइन ?
  •  संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संविधानमाथि प्रहार गरेको होइन ?
  •  पार्टी बैठकको माग गर्दा १० पृष्ठको पत्र लेखेर तत्कालीन नेकपामा संकट निम्त्याएको होइन ?
  •  तपाईं पाँचै वर्ष प्रधानमन्त्री र प्रचण्ड कार्यकारी अध्यक्ष हुने सहमति कसको स्वार्थमा अवज्ञा गर्नुभयो ?
  •  प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएपछि फागुन २८ गते आफ्ना गुटका केही केन्द्रीय सदस्यको बैठक राखेर पार्टीलाई विभाजनतर्फ धकेलेको होइन ?
  •  बालुवाटार जग्गा प्रकरणमा महासचिव विष्णुप्रसाद पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले अनियमित ढंगले पाएको जग्गा फिर्ता गर्ने योजना तपाईकै होइन ?
  • राष्ट्रको ढुकुटीबाट चारवटा हेलिकोप्टर प्रयोग गरी बर्ड थे मनाउने तपाई होइन ?
  •  राजाको प्रत्यक्ष शासनका बेला समेत अवसर छोप्ने युवराज खतिवडालाई राष्ट्रिय सभाको पदावधि सकिएपछि पनि अर्थमन्त्री बनाउने तपाईं होइन ?
  •  सार्कको अध्यक्ष राष्ट्रको हैसियतले कुनै कुरा नगर्नुमा कसको स्वार्थ र दबाब हो ?
  •  एमसीसी पारित नहुँदै बजेटमा किन राखियो ?
  •  कोरोना संक्रमणका बेला जनताको निःशुल्क उपचार नगर्ने निर्णय भएको होइन ?
  •  एमालेको एकता जोगाउने प्रयासमा संकट ल्याउने गरी २०७८ वैशाख २८ मा प्रधानमन्त्री पदमा विश्वासको मत लिन्छु भन्ने निर्णय किन ?
  •  एमालेको एकता कायम राख्ने गरिएको १० बुँदे सहमति कार्यान्वयनमा एकरुपता किन गरिएन ? एमाले र नेकपा हुँदा सुदूरपश्चिम प्रदेशको इन्चार्ज थिएँ, १० बुँदेपछि किन दिइएन ?
  •  १० बुँदे कार्यान्वयन नभएकाले उक्त कार्यान्वयन गर्ने समितिबाट राजीनामा दिने मेरो निर्णयलाई गम्भीरताका साथ किन हेरिएन ?
  •  राष्ट्रहितविपरीत नागरिक विधेयक ल्याएर अधिकारको दुरुपयोग गरेको होइन ?
  •  दीपक मनाङेलाई निर्विरोध निर्वाचित गराउने र मन्त्री बनाउने तपाईं होइन ?
  •  वामपन्थी एकता नगर्ने शर्तमा प्रधानमन्त्री बन्ने तपाईं ?
  •  गिरीबन्धु टी–इस्टेटबाट जोगिन रातारात गठबन्धन फेरेको हो ?
  •  कुन सिद्धान्तका आधारमा मीनबहदुर गुरूङबाट भवन लिने निर्णय भयो ?
  •  चीन भ्रमणमा जाँदा नेपालको लिपुलेक भञ्ज्याङ प्रयोगबारे मौन रहनुको अर्थ के हो ?
  •  मलाई पार्टीबाट निस्कान र अरु दुईजनालाई निलम्बन गर्ने निर्णयप्रति सातजना पदाधिकारीले दिएको सुझाव नसुन्नुले तपाईंको शैली र व्यवहार निरंकुश र दमनकारी भएको पुष्टि हुँदैन र ?

ओली ०७१ सालमा एमालेको अध्यक्ष बने पनि उनी २०७४ सालमा दुईतिहाइ बहुमत नजिकको प्रधानमन्त्री भएयताका बोलीव्यवहारमा केन्द्रित भएर रावलले आलोचना गरेका छन् । आफूसँग तिक्तता उत्कर्षमा पुगेको दशौं महाधिवेशनका सन्दर्भलाई पटकपटक रावलले दस्तावेजमा दोहोर्याएका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -