जनकपुरधाम । विगत दुई दिनदेखि पश्चिमी वायुसंगै चलेको शितलहरका कारणले मधेश प्रदेशका जिल्लाहरूमा अत्यधिक मात्रामा जाडो बढेको छ ।
अत्यधिक मात्रामा जाडो बढेपछि ठाउँ ठाउँमा सर्वसाधारणहरूले आगो बालेर ताप्ने गरेको पाइन्छ । यसका साथै न्यानो, बाक्लो तथा उनी कपडाको बिक्री अत्यधिक मात्रामा भइरहेको छ । यसका साथै हिटर तथा गिजरको बिक्रीमा वृद्धि भएको छ ।
चिसोबाट जोगिनका लागि हर्ट लेमन, चिया तथा कफीको बिक्रीमा पनि वृद्धि भएको छ । अत्यधिक चिसो भएपछि बालबालिका, वृद्ध वृद्धा, दम तथा रुघा खोकीका बिरामीमा थप स्वास्थ्य समस्या बढेको छ । खाग गरेर बाथ तथा गेठीयाका रोगीहरूलाई अत्यधिक चिसोका कारणले स्वास्थ्य समस्या थप बढ्ने भएकाले सजगता अपनाउनका लागि चिकित्सकहरूले आग्रह गरेका छन् ।
चिसोबाट जोगिन चिकित्सकहरूले बिहानको समयमा मर्निङ्ग वाक नगर्न र गर्नै परेको खण्डमा राम्रोसँग ढाकेर मात्र हिँड्न आग्रह गरेका छन् । यसका साथै तातो खानेकुरा मात्र खान प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन प्रसाद सिंहले सल्लाह दिनुभएको छ ।