Friday, January 10, 2025
घरसमाचारएन्टिबायोटिक्सको प्रयोग कति गर्ने ?

एन्टिबायोटिक्सको प्रयोग कति गर्ने ?

अहिले उपलब्ध एन्टिबायोटिक्सलाई भविष्यका पुस्ताका लागि प्रभावकारी बनाइराख्न तिनको सतर्क र मितव्ययी प्रयोग आवश्यक छ ।

एन्टिबायोटिक्सको आविष्कारले चिकित्सा क्षेत्रमा क्रान्तिकारी  परिवर्तन ल्याएको छ । ब्याक्टेरिया विरुद्ध प्रयोग गरिने औषधि नै एन्टिबायोटिक्स हुन् । एन्टिबायोटिक्सले मानिसको मृत्यु र जीवनशैलीलाई नै परिवर्तन गरिदिएका छन् । एन्टिबायोटिक्सको प्रयोग हुनुभन्दा पहिले आधाभन्दा बढी मृत्युहरू संक्रमणको कारणले हुने गर्थे ।

एन्टिबायोटिक र संक्रमण नियन्त्रणका अन्य उपायहरूको विकाससँगै संक्रमणबाट हुने मृत्युहरूको प्रतिशत उल्लेखनीय रूपमा घट्न थाल्यो । यसको परिणामस्वरूप, मानिसहरूको जीवनकाल एकदेखि दुई दशकले बढेको छ ।

एन्टिबायोटिकको प्रयोगले अङ्ग प्रत्यारोपण, क्यान्सरको किमोथेरापी र जटिल सर्जरीहरूलाई सफल बनाउन पनि मद्दत पुर्‍याएको छ । यसका साथै एन्टिबायोटिक्सले एक व्यक्तिबाट अर्कोमा हुने रोगको प्रसारणलाई नियन्त्रण गरेर समुदायमा संक्रामक रोगको रोकथाममा पनि सहयोग गरेको छ ।

दुई ठूला चुनौतीको कारण एन्टिबायोटिक्सको निरन्तर प्रयोग संकटमा पर्न थालेको छ । पहिलो चुनौती भनेको एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको तीव्र वृद्धि हुनु हो । ब्याक्टेरियाले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका कारण एन्टिबायोटिकको प्रभावकारिता खतरामा परेको छ ।

ब्याक्टेरियाहरू बलिया हुँदै गएका छन् र हाल उपलब्ध एन्टिबायोटिक्स निष्प्रभावी बन्दै गएका छन । फलस्वरुप, सामान्य संक्रमणहरू पनि जटिल हुने, संक्रमण दरमा वृद्धि हुने र उपचार खर्च पनि धान्न नसक्ने अवस्थाको सिर्जना हुन्छ ।

एउटा विस्तृत अध्ययन अनुसार, सन् २०५० सम्ममा एन्टिबायोटिक प्रतिरोधी संक्रमणका कारण विश्वभरमा ३९ मिलियनभन्दा बढी मानिसहरूको मृत्यु हुन सक्नेछ । सेप्टेम्बर २४ मा द ल्यान्सेट जर्नलमा प्रकाशित लेख अनुसार सन् १९९० देखि २०२१ को बीचमा प्रति वर्ष एक मिलियन भन्दा बढी मानिसको मृत्यु औषधि प्रतिरोधी संक्रमणका कारण भएको देखिएको छ ।

यो संख्या  सन् २०५० सम्ममा लगभग दुई मिलियन पुग्न सक्ने सम्भावना छ । मानिस तथा जनावरमा  एन्टिबायोटिकको अत्यधिक प्रयोग र दुरुपयोग नै एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको वृद्धिको मुख्य कारण हुन् ।

दोस्रो चुनौती भनेको नयाँ एन्टिबायोटिक उत्पादनमा संलग्न कम्पनी र प्रयोगशालाहरूको संख्या निरन्तर घट्दै जानु हो । नयाँ एन्टिबायोटिक्स विकास गर्न ठूलो समय, स्रोत र लगानी आवश्यक पर्छ । औषधि कम्पनीहरूले आर्थिक प्रतिफलको कमीका कारण एन्टिबायोटिक्स अनुसन्धानलाई प्राथमिकता दिएका छैनन् । ब्याक्टेरियाले एन्टिबायोटिक प्रतिरोध क्षमता विकास गर्ने भएकोले एन्टिबायोटिकको प्रयोग छोटो समयको लागि मात्र हुन्छ जसले गर्दा औषधि कम्पनीहरूले अनुसन्धानमा लगानी गर्न चाहेको देखिंदैन ।

एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको विकास तीव्र गतिमा बढिरहेको छ भने नयाँ एन्टिबायोटिक्सको विकासको गति निकै ढिलो छ । पछिल्ला ३० वर्षमा धेरै कम नयाँ एन्टिबायोटिकहरू पत्ता लागेका छन् ।

‘द प्यु ट्रष्ट’ले विकासको विभिन्न चरणमा रहेका एन्टिबायोटिक्सको विवरण राख्दै आएको छ । यसको रिपोर्ट अनुसार डिसेम्बर २०२० सम्ममा क्लिनिकल ट्रायलको विभिन्न चरणमा र स्वीकृतिको प्रतीक्षामा रहेका एन्टिबायोटिक्सको संख्या जम्मा ४३ थियो । तर यस्तै चरणमा क्यान्सरको उपचारको लागि विकास गरिएका १३०० भन्दा बढी औषधिहरू थिए ।

पहिलो एन्टिबायोटिक पेनिसिलिन सन् १९२८ मा अलेक्जेन्डर फ्लेमिङ्गले पत्ता लगाएका हुन् । हाल उपलब्ध अधिकांश एन्टिबायोटिक ‘एन्टिबायोटिक आविष्कारको सुनौलो युग’ पनि भनिने सन् १९४० को दशकदेखि सन् १९६० को दशकको अवधिमा पत्ता लागेका हुन् । त्यसपछि एन्टिबायोटिक पत्ता लगाउन र विकास गर्न क्रमिक रूपमा कमि आउनुका साथै ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास हुँदै गएपछि अहिलेको संकट निम्तिएको हो ।

हामीलाई नयाँ एन्टिबायोटिकको आवश्यकता सधैं पर्नेछ । महत्वपूर्ण प्रश्न चाहिं अब नयाँ एन्टिबायोटिक्स कहाँबाट फेला पार्ने ? भन्ने हो किनभने परम्परागत खोजका उपायहरू समाप्त हुन थालेका छन् । हालको अवस्था र चुनौतीलाई हेर्दा, एन्टिबायोटिक्सको भविष्य नयाँ विधि र रणनीतिहरूको विकासमा निर्भर रहनेछ । एन्टिबायोटिकको खोज र विकासमा नवीनता आउनुपर्छ । र परम्परागत एन्टिबायोटिक्सको विकल्पहरूमा पनि लगानी गर्नुपर्छ ।

एन्टिबायोटिकको भविष्यको लागि ब्याक्टेरियामा प्रतिरोध क्षमता विकास हुन नदिइकनै समाप्त गर्न सक्ने एन्टिबायोटिक र उपचार पद्धति विकास हुन आवश्यक छ । यही बाटोमा जाँदै पनि छौं । यसको उदाहरण हो क्लोभिब्याक्टिन एन्टिबायोटिकको आविष्कार । क्लोभिब्याक्टिनले ब्याक्टेरियालाई प्रभावकारी रूपमा नष्ट गर्छ र प्रतिरोध विकास हुन दिंदैन ।

हालका एन्टिबायोटिक्सको उपयोगिता कायम राख्न र नयाँ औषधिहरूमा प्रतिरोध विकास हुनबाट रोक्नका लागि ‘एन्टिबायोटिक स्टिवर्डशिप’ कार्यान्वयन गर्नुपर्छ । एन्टिबायोटिक स्टिवर्डशिप भनेको एन्टिबायोटिक्सको प्रभावकारिता जोगाइराख्न, एन्टिबायोटिकलाई उचित र जिम्मेवार तरिकाले प्रयोग गर्ने सिद्धान्त हो ।

एन्टिबायोटिक स्टिवर्डशिपको मुख्य उद्देश्य एन्टिबायोटिक्सको दुरुपयोग र अत्यधिक प्रयोगलाई नियन्त्रण गर्नु  हो । अहिले उपलब्ध एन्टिबायोटिक्सलाई भविष्यका पुस्ताहरूको लागि प्रभावकारी बनाइराख्न, तिनको सतर्क र मितव्ययी प्रयोग आवश्यक छ ।

फेज थेरापी, अर्थात् ब्याक्टेरियोफेज (ब्याक्टेरियालाई प्राकृतिक रूपमा मार्ने भाइरस) को प्रयोग गरेर संक्रमणको उपचार गर्ने प्रविधि, पछिल्लो समय एन्टिबायोटिक प्रतिरोधी संक्रमणको चुनौती सामना गर्न एक आकर्षक विकल्पका रूपमा उभिएको छ । २०औं शताब्दीको सुरुवातमा ब्याक्टेरियोफेजको आविष्कार भएपछि संक्रमण नियन्त्रण गर्न ब्याक्टेरियोफेजको प्रयोग गर्न थालियो । तर, तात्कालीन समयमा  ब्याक्टेरियोफेजको प्रयोग विभिन्न कारणले खासै प्रभावकारी हुन सकेन । पेनिसिलिन र अन्य एन्टिबायोटिक पत्ता लागेसँगै ब्याक्टेरियोफेजको प्रयोग विश्वभरि नै घट्दै गयो । पछिल्लो समय एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको बढ्दो चुनौतीले गर्दा फेज थेरापीले  पुनः ध्यान तानेको छ ।

सन् २००६ मा ब्याक्टेरियोफेजको पहिलो व्यावसायिक उत्पादन सुरु भएसँगै खानाबाट सर्ने खतरनाक ब्याक्टेरिया मार्न कृषि र खाद्य उद्योगमा ब्याक्टेरियोफेजको प्रयोग गर्न थालिएको छ ।

यसैगरी नयाँ एन्टिबायोटिकको खोज र अनुसन्धानमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्न थालिएको छ । एआईले जैविक डेटाबेसमा रहेका लाखौं रासायनिक संरचनाहरू विश्लेषण गरेर एन्टिबायोटिकको गुणहरू भएका नयाँ यौगिकहरू पत्ता लगाउन सक्छ । सन् २०१९ मा अमेरिकाका वैज्ञानिकहरूले एआईको प्रयोग गरेर हालिसिन नामक नयाँ एन्टिबायोटिक पत्ता लगाए । यो एन्टिबायोटिक परम्परागत एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको लागि प्रभावकारी देखिएको छ ।

एआईले सम्भावित औषधिहरूको खोजमा लाग्ने समय र स्रोतको बचत गराउँछ । ‘नेचर केमिकल बायोलोजी’ नामक जर्नलमा प्रकाशित आर्टिकल अनुसार एउटा अनुसन्धानमा वैज्ञानिकहरूले सुरुमा एआई मोडेललाई प्रशिक्षण दिए र ६६८० मलिक्युललाई विश्लेषण गर्न लगाए । एआईले केही घण्टामै सफलतापूर्वक विश्लेषण गरिदियो र प्रयोगशाला परीक्षणको लागि उपयुक्त मलिक्युलको अनुमान गरिदियो । वैज्ञानिकहरूले २४० मलिक्युललाई प्रयोगशालामा परीक्षण गरे र नौ सम्भावित एन्टिबायोटिकहरू फेला पारे । तिनैमध्येको एक हो अबाउसिन जुन विश्व स्वास्थ्य संगठनले अति नै खतरा भनेर सूचीकृत गरेको ‘एसिनेटोब्याक्टर बौमानी’ नामक ब्याक्टेरियाको लागि पनि प्रभावकारी देखिएको छ ।

एन्टिबायोटिक प्रतिरोधको चुनौतीसँग जुध्नको लागी प्रोबायोटिक्स पनि सम्भावित विकल्पको रूपमा विकास हुँदैछ । लाभदायक जीवित सूक्ष्म जीवाणुहरूलाई प्रोबायोटिक्स भनिन्छ । प्राकृतिक रूपमा हाम्रो पाचन प्रणालीमा रहेका सूक्ष्म जीवाणुहरूको समूहलाई गट माइक्रोबायोटा भनिन्छ । गट माइक्रोबायोटाले हामीलाई संक्रमणबाट बचाउने, पाचन प्रणालीलाई सहयोग र प्रतिरक्षा प्रणालीलाई सबलीकरण गर्ने लगायतका विविध कामहरू गर्छन् ।

लामो समयसम्म एन्टिबायोटिकको प्रयोगले वा अन्य कारणले गट माइक्रोबायोटाको सन्तुलन बिग्रियो भने संक्रमण निम्तिन सक्छ । प्रोबायोटिक्सले माइक्रोबायोटाको बिग्रेको सन्तुलनलाई पुनःस्थापना गर्न मद्दत गर्छ । यसका साथै हानिकारक ब्याक्टेरियाको वृद्धिलाई रोक्छ र हाम्रो रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउँछ ।

फिकल माइक्रोबायोटा ट्रान्सप्लान्ट अर्थात्  मानव दिसामा रहेका सूक्ष्म जीवाणुहरू प्रत्यारोपण गरेर स्वस्थ गट माइक्रोबायोटालाई पुनःस्थापना गर्न सकिने अनुसन्धानले देखाएको छ । फिकल माइक्रोबायोटा प्रत्यारोपणलाई आन्द्रामा हुने क्लोस्ट्रीडिअम डिफिसाइल ब्याक्टेरियाको संक्रमणको उपचारमा प्रयोग गर्न थालिएको छ । एन्टिबायोटिक प्रतिरोधको समस्याको दीर्घकालीन समाधानका लागि प्रोबायोटिक्सले ठूलो भूमिका खेल्ने सम्भावना छ । तर, यसको सुरक्षित र प्रभावकारी प्रयोगका लागि थप अनुसन्धान र विकास आवश्यक छ ।

भविष्यमा ब्याक्टेरिया संक्रमणको उपचारमा परम्परागत एन्टिबायोटिकसँग मात्र सीमित नरहेर नयाँ एन्टिबायोटिक, ब्याक्टेरियालाई मार्ने भाइरस, एन्टिबायोटिक प्रतिरोधलाई रोक्ने औषधि, विशेष खालका एन्टिबडी र अन्य नयाँ प्रविधिहरू समावेश हुनेछन् ।

(आचार्य नेप्लिज फार्मिङ इस्टिच्युट डिल्लीबजार काठमाडौंमा अनुसन्धान अधिकृतको रूपमा कार्यरत छन् ।) 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -