काठमाडौँ । अग्रता जोगाउन नसक्दा च्याम्पियन बनिसकेको नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको अन्तिम खेलमा न्यु रोड टिम (एनआरटी) सँग २–१ ले पराजित भएको छ ।
हारपछि २२ खेलमा ४८ अङ्क जोडेको पुलिस शीर्ष स्थानमा रह्यो । जित दर्ता गरेको एनआरटीले समान खेलबाट ४७ अङ्कका साथ दोस्रो स्थानमा रहेर लिग अन्त्य गरेको छ ।
मङ्गलवार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन पुकार गोले र अर्जित तामाङले गोल गरे । पुलिसका लागि सुवास बमले गोल गरे ।
मङ्गलवारै सम्पन्न अर्को खेलमा सङ्कटाले एपिएफविरुद्ध ३–१ को जित निकाल्यो ।
जितसँगै २२ खेलमा ४५ अङ्क जोडेको सङ्कटाले तेस्रो स्थानमा रहेर लिग अन्त्य गरेको छ । पराजित एपिएफ समान खेलबाट ३२ अङ्कका साथ छैटौँ स्थानमा रह्यो । सङ्कटालाई जित दिलाउन सुदीप लामा, दिलान लिम्बु र कृष्णबहादुर आलेले गोल गरे । एपिएफका लागि सुनिल थिङले गोल गरे ।