बेइजिङ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क र पहुँचको आग्रह गरेपछि बेइजिङले मङ्गलबार कोभिड–१९ सम्बन्धी जानकारी ‘केही पनि नलुकाई’ साझा गरेकोमा जोड दिएको छ ।
चीनको मध्य शहर वुहानमा पहिलो पटक देखा परेको कोभिड–१९ले लाखौँ मानिसको ज्यान लिएको थियो भने अर्थतन्त्रलाई तहसनहस पार्नुका साथै स्वास्थ्य प्रणालीलाई कमजोर बनाएको थियो ।
डब्लुएचओले सोमबार विज्ञप्ति प्रकाशित गर्दै चीनले थप जानकारी साझा गर्नु ‘नैतिक र वैज्ञानिक अनिवार्यता’ भएको बताएको छ ।
“पाँच वर्षअघि।।। चीनले तुरुन्तै डब्लुएचओ र अन्तर्राष्ट्रिय समुदायसँग महामारीको जानकारी र भाइरल जिन अनुक्रम साझा गर्यो”, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मङ्गलबार नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “कुनै पनि कुरामा रोक नलगाई हामीले हाम्रो रोकथाम, नियन्त्रण र उपचारको अनुभव साझा गर्यौँ, यसले अन्तर्राष्ट्रिय समुदायको महामारीसँग लड्ने काममा ठूलो योगदान पुर्याउँछ ।”
यो महिना वुहानमा महामारी फैलिएको पहिलो रिपोर्ट भएको पाँचौँ वार्षिकी हो । कोभिड–१९ महामारीका क्रममा डब्लुएचओले चिनियाँ अधिकारीहरूको पारदर्शिता र सहयोगको कमीको बारम्बार आलोचना गरेको थियो ।
डब्लुएचओको नेतृत्वमा र चिनियाँ सहकर्मीहरूको साथमा विशेषज्ञहरूको टोलीले सन् २०२१ को सुरुमा महामारीको उत्पत्तिको बारेमा अनुसन्धान गरेको थियो ।
एक संयुक्त प्रतिवेदनमा तिनीहरूले भाइरस सम्भवतः बजारमा मध्यस्थ जनावरबाट मानिसमा सर्ने अनुमानलाई समर्थन गरे ।
अनुसन्धानकर्ताहरू त्यसयता चीन फर्कन सकेका छैनन् र डब्लुएचओका अधिकारीहरूले पटक–पटक थप तथ्याङ्क मागेका छन् । रासस