Thursday, January 9, 2025
घरसमाचारमेलमिलाप नीतिलाई सघाउन तीन महिनाअघि फर्केका धर्म गौतम

मेलमिलाप नीतिलाई सघाउन तीन महिनाअघि फर्केका धर्म गौतम

१६ पुस, काठमाडौं । २०३३ साल पुस १६ मा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर भारतको निर्वासनबाट नेपाल फर्कनु अघि नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले फरक फरक व्यक्तिहरूसँग परामर्श लिए ।

भारतमा रहेका कांग्रेसका नेताहरूको अतिरिक्त नेपालबाट बुद्धिजीवीहरूसमेत बोलाएर बीपीले पटना र बनारसमा बोलाएर परामर्श लिएका थिए । प्रवासमा बसेका कांग्रेसका नेताहरूसँग ५/६ ठाउँमा भेला गरेर मेलमिलापको नीति लिएर फर्कन लागेको विषयमा छलफल गरे । उनले परामर्श लिएका सबैजनाले नेपाल फर्कन उचित हुने सुझाव दिए । भारतमा बसेर नेपालमा आन्दोलन गर्नु दीर्घकालीन हितमा नहुने परामर्श दिने मध्येका एक थिए– इलामका धर्म गौतम ।

सामूहिक छलफलको निचोड अनुसार धर्म गौतम, कुलबहादुर गुरुङ र वासु रिसाल नेपाल फर्के । उनीहरू मेलमिलापको नीति लिएर बीपी फर्कनु तीन महिनाअघि नै नेपाल आएका थिए । बीपी १६ पुस २०१६ मा स्वदेश फर्किए ।

‘आ–आफ्नो अनुकूलतामा नेपाल फर्कने र आआफ्नो जिल्लामा खटिने निर्णय भयो,’ गौतम सम्झन्छन् । तर, गौतमले गृह जिल्ला इलामको साटो काठमाडौंमा क्रियाशील हुने चाह बीपीसँग राखे । काठमाडौं रोज्नुको कारण बीपीले जवाफ खोजेपछि इलाम सानो ठाउँ भएकाले ठूलो स्थानमा जाने इच्छा राखेको सुनाए ।

बीपीलाई भनेको बोली सम्झँदै गौतम भन्छन्, ‘इलाम सानो ठाउँ हो । जेल एकदम सानो छ । त्यसबेलाको सत्ताले मारेन भने त जेलमै राख्ने हो । काठमाडौं जान पाइयो भने लेखपढ गर्न पाइन्छ भनेर बीपीलाई भनें ।’ गौतमको इच्छाअनुसार बीपीले उनलाई काठमाडौं पठाउने भए ।

नेपाल फर्कने निधो भइसकेपछि गौतम इलामका अर्का नेता केबी गुरुङ र वासु रिसाललाई भेट्न खर्साङ गए । बासु पनि काठमाडौं आउने टुंगो भएको थियो । गौतम र रिसाल काठमाडौं आउने भएकाले केबी गुरुङ पनि सँगै आउने भए ।

पटनाबाट हवाइ मार्ग हुँदै काठमाडौं ओर्लिएका उनीहरूलाई तत्कालीन सरकारले पक्राउ गर्‍यो । अञ्चलाधीशका बयान गराएर रिसालको मुद्दा बागमतीमा चल्ने भएकाले उनलाई काठमाडौंमा राखियो । गौतम र गुरुङको मुद्दा मेचीमा भएकाले दुईजनालाई सम्बन्धित स्थानमा निश्चित तत्कालीन प्रशासनले गरेको थियो ।

मेची लैजान तारतम्य मिलाउन केही समय लाग्ने भएको जानकारी गराउँदै गुरुङ र गौतमलाई अल्पकालका लागि हनुमान ढोका राखियो । ‘एक/सवा महिना जति बस्यौं होला,’ गौतम स्मरण गर्छन् ।

हिरासतमा रहँदा प्रहरीहरूले उनीहरूलाई भनेका कुराहरू अझै गौतमको सम्झनामा छन् । तर्साउने मनसायले ‘तपाईहरूको के छ? कसो छ? नराम्रो सुनिँदैछ,’ भन्ने गर्थे । घरतिर केही खबर पठाउनुपर्ने छ कि भनी साउती गर्थे । कहिलेकाहीं भने राजनीतिक बन्दीले आशा सञ्चार हुने खबर पनि सुन्न पाउँथे ।

गौतम भन्छन्, ‘किसुनजी यही बाटो आउँदै हुनुहुन्छ । झ्यालबाट तपाईंहरूले हेर्न पाउनुहुन्छ है पनि भन्थे ।’ पछि गौतम र गुरुङलाई जेलका लागि चन्द्रगढी लगियो ।

जनमतको घोषणा भएलगत्तै २०३६ सालमा गौतम र गुरुङ रिहा भए । २०४६ यता भने गौतम कांग्रेसको राजनीतिमा क्रियाशील छैनन् । आजको कांग्रेसको समस्यामा उनी एजेन्डामा आधारित नभई स्वार्थमा केन्द्रित समूहलाई देख्छन् ।

वि.सं. २०३३ सालमा पटनामा वीपी कोइरालासँग सामूहिक तस्वीर खिचाउँदै

‘दलमा एकता देख्दिनँ । आआफ्ना गुटहरू छन् । गुटको हितमा काम गर्दा पार्टी र देशलाई कति अहित भयो?,’ पार्टी नेतालाई गौतमको प्रश्न छ ।

पत्रकारितालाई पेशा बनाएका गौतमले पछिल्लो समय भने लेखन कार्यलाई समेत पातलो बनाउँदै लगेका छन् ।

देश बचाउने उद्देश्यले स्वदेश फिर्ता

नेपाली कांग्रेसका संस्थापक नेता २०२५ सालमा जेलबाट छुटेपछि स्वास्थ्य उपचारका लागि भारत गए । भारतबाट नै सशस्त्र आन्दोलन गर्ने घोषणा गरे । २०३०–२०३१ सालमा सशस्त्र क्रान्ति गरे पनि त्यो सफल हुन भने सकेन । बीपी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरू निर्वाचनमै रहेर पञ्चायत व्यवस्थाविरुद्ध संघषरत थिए ।

त्यसै बेला सिक्किमलाई भारतले विलय गरायो । सन् १९७५ अप्रिल ६ मा भारतमा सिक्किम विलय भएको थियो । सन् १९७१ मा पाकिस्तानसँग छुट्टिएर बंगलादेश अर्को देशको रूपमा जन्मिएको थियो । छिमेकी राष्ट्रमा अस्थिरताको वातावरण बढ्दा त्यसले नेपाललाई समेत प्रभावित गर्न सक्ने आकलन गरी बीपी मेलमिलापको नीति लिएर देश फर्किएको गौतम बताउँछन् । क्षेत्रीय देशहरूमा आएको अस्थिरताले गर्दा प्रजातन्त्र मात्रै होइन, देश बचाउने आन्दोलन पनि गर्नुपर्ने आत्मबोधले बीपी फर्केको गौतम सम्झिन्छन् ।

भारतको स्वतन्त्रता संग्राममा बीपी स्वयं संलग्न भएका थिए । स्वतन्त्र संग्राममा लागेका हुँदा समकालीन त्यहाँका नेताहरूले आफूलाई साथ दिने विश्वासमा बीपी थिए । इन्दिरा गान्धीका विरोधीका रूपमा चिनिने राम मनोहर लोहिया, जयप्रकाश नारायणलगातयसँग बीपीको निकटता थियो ।

संकटकाल लागु गरेकी इन्दिरा गान्धीको दबदबाले पनि बीपी स्वदेश फर्कने मनस्थितिमा थिए । ‘बीपीको सम्बन्ध जयप्रकाशसँग धेरै पुरानो थियो । भारतीय सत्ता पक्ष खासगरी इन्दिरा गान्धी बीपीलाई दुःख दिने पक्षमा थिइन्,’ गौतम स्मरण गर्छन् ।

नेपालका राजा महेन्द्र शाह र भारतीय संस्थापनको सम्बन्धमा पनि चिसिएको थियो । बीपीलाई प्रयोग गरेर राजाविरुद्ध भारत खेल्ने आशंकाहरू पनि व्याप्त थिए ।

‘बीपीलाई प्रयोग गरेर राजाविरुद्ध खेल्ने भारतको रणनीति थियो होला । त्यसलाई बीपीले स्विकार्नुभएन । भारतमा बस्न अनुकूल पनि रहेन,’ गौतम भन्छन् ।

गौतमको व्यक्तिगत विश्लेषणमा बीपी स्वदेश फर्कन खोज्नुको अर्को कारण उनको स्वास्थ्य समस्या पनि थियो । ठूलो संख्यामा निर्वासनमा रहेका नेता–कार्यकर्ता, अनुयायीको भविष्यको बारेमा सोंचेर विदेशमा मृत्यु हुन नहुने चिन्ताले पनि फर्किन बल पुगेको गौतम अनुमान लगाउँछन् ।

वि.सं २०३७ सालमा झापाको विर्तामोडमा नेपाली कांग्रेसले आयोजना गरेको पूर्वाञ्‍चल बैठकमा सहभागी हुँदै वीपी कोइराला ।

इतिहासको व्याख्या गर्नेहरूका अनुसार राजा र बीपीका बीचमा मतान्तर हुने प्रमुख विषय शासन जनताको हातमा हुने/नहुनेमा थियो । बीपी राजालाई संवैधानिक हुनुपर्नेमा अडिग थिए । बीपी गणतन्त्रवादी भए पनि नेपालको वस्तुगत अवस्थाले राजा आवश्यक हुने र संवैधानिक हुनुपर्ने विचार उनीमा रहेको गौतम बताउँछन् ।

बीपीको बोली सुनाउँदै गौतम भन्छन्, ‘नेपाल नरहे पनि तिमी हामी त कतैको नागरिक भएर रहौंला । राजा त राजाकै रूपमा रहन पाउँदैनन् ।’ प्रजातान्त्रिक प्रणालीमा राजा हुँदा सम्मान दिने कञ्जुस्याई नगरिने बीपीको विचार रहेको गौतम सुनाउँछन् । ‘मेरो गर्धन मूनि राजाको गर्धन हुन्छ’ भनी बीपीले भन्नुको तात्पर्य व्याख्या गर्दै गौतमले थपे, ‘बाहिरबाट कसैले आक्रमण गर्छ भने पहिले घाँटी थाप्न म तयार छु ।’

२०३३ सालमा बीपी मेलमिलापको नीति लिएर फर्केपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान आयोजना गर्न सुरु गर्‍यो । उक्त परम्परा आजपर्यन्त जारी छ । मेलमिलापको नीतिअनुसार अन्य पक्षसँग छलफल गर्ने माध्यम होस् भनेर कांग्रेसले त्यसबेलादेखि उक्त प्रचलन कायम राखेको छ ।

पछिल्लो समय कम्युनिस्ट दलहरूले समेत चियापान गर्न सुरु गरेका छन् । राज्यका हरेक क्षेत्रका व्यक्तिहरूलाई बोलाएर शुभकामना आदान–प्रदान गर्ने र उक्त दिनमा एक अर्काप्रति आलोचना नगर्ने पद्धतिकै रूपमा दलहरूले लिएका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -