मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै राजनैतिक दलको सहमतिमा नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।
४९ औँ मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको अवसरमा मङ्गलवार हेटौँडामा आयोजित कार्यक्रममा महामन्त्री थापाले संविधानमा रहेका कमीकमजोरी सच्याउने र व्यवहारमा ठिक ढङ्गबाट अघि बढ्न संविधान संशोधन गर्ने गरी सत्ता साझेदार दलहरुबीच संयन्त्र निर्माण भएको र सो संयन्त्रले साझा धारणा निर्माण गरेर अन्य दलसँग संवाद गरेर संरचनागत एजेन्डामा छलफल गर्ने बताउनुभयो ।
उहाँले संविधानले व्यवस्था गरेका समावेशीता, सङ्घीयता लगायतका व्यवस्थालाई खलल पुर्याउने विषयमा भने पुनरावलोकन गर्न कांग्रेस तयार नरहेको बताउनुभयो ।
महामन्त्री थापाले काँग्रेसले निर्वाचन प्रणालीलाई सुदृढ गरी ४० प्रतिशत मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्ने गरी छलफल भइरहेको समेत बताउनुभयो । आगामी निर्वाचनको समयमा काँग्रेसले परिणाम पत्र बोकेर नागरिक माझ जानुपर्ने हुँदा जिम्मेवारी र जबाफदेहिता सहित ३ वर्ष काम गरेर देश केही हुँदैछ भन्ने सन्देश दिन जरुरी रहेको समेत उहाँले बताउनुभयो ।
आगामी निर्वाचनसम्म सरकार दायाँबायाँ नहुने भन्दै उहाँले सरकार ढल्छ, टिक्दैन भन्ने तर्कमा कुनै सत्यता नरहेको समेत बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले सहकारी ठगीमा कांग्रेसका कोही नेता कार्यकर्ता जोडिए तत्काल पक्राउ गरी कानुन अनुसार कारबाही गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य मोहन आचार्य, अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।