१३ पुस, हुम्ला । पुराना पुस्ताहरूको भनाइ छ, ‘पुसको हिउँ सिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि पुस महिनामा हिउँ परेपछि हुम्ली किसानहरू खुसी छन् । पुस महिनाबाट हिउँ पर्न थालेपछि मंसिर महिनामा खेतबारीमा छरेको जेठासे उवा, जौं, गहुँ राम्रो हुने भएकोले किसान खुसी भएका हुन् ।
हिउँबिना हुम्लीको जीवन चल्दैन भन्दा पनि हुन्छ । हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन् । हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा एक प्रकारको खुसी पनि भित्रिन्छ । हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत भएकाले समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुन्छ ।
हुम्लामा हिउँ नआएपछि मंसिर महिनामा छरेको उवा जौं, गहुँ राम्रो नहुने सिमकोट गाउँपालिका-६ की गीता रावत बताउँछिन् । ‘सिँचाइ छैन समयमै हिउँ परेपछि अन्नबाली राम्रो हुन्छ यस वर्ष पुस महिनामै हिउँ परेपछि जमिन चिसो भइरहन्छ’, रावतले भनिन् ।
पुस महिनामा हिउँ पर्नु हुम्ली जनताका लागि शुभ सङ्केत भएको बताउँछिन् सिमकोट -६ की रूपसी रोकाया । पहिले ४/५ फिट हिउँ पर्ने गरेको बताउँदै उनले अहिले एकदुई फिट मात्रै हिउँ पर्ने गरेकोले किसानमा चिन्ता थपिएको बताइन् ।
उनका अनुसार पुसमा हिउँ परेपछि मंसिर महिना बारीमा छरेको उवा,जौ,गहुँ राम्रोसँग उम्रिन्छ । जेठ महिनामा पाक्छ । हिउँ ढाल परेपछि बालिनाली राम्रो हुँदैन । ‘पहिला- पहिला प्रत्येक वर्ष ५/७ फिटसम्म हिउँ आउथ्यो । पछिल्ला समय जलवायु परिवर्तनका कारण केही वर्षदेखि कम हिमपात हुन थालेपछि स्थानीयवासी चिन्तित हुँदै गएका छन् ’, उनले थपिन् ।
पुस महिनामा हिउँ खेतीपाती मात्रै नभइ जडीबुटीका लागि पनि अत्यावश्यक हुने गरेको स्थानीयहरूको भनाइ छ । तर, भारी हिमपात हुँदा केही दिन जनजीवन भने प्रभावित हुने गरेको छ ।
हुम्ला सदरमुकाम सिमकोटमा बिहान ६ बजेदेखि हिमपात भइरहेको छ । सिमकोटमा एक फिट जति हिउँ जमेको छ । हुम्लाको तापक्रम माइनरस ७ डिग्री छ ।
उत्तर हुम्लाको नाम्खा गाउँपालिकाको लिमीका जाङ, हल्जी, तिल, यारी, मुचु, तुम्कोट, याङगार, याल्वाङ, चाला, केर्मी र हेप्कालगायतका बस्तीमा तीन फिटसम्म हिउँ जमेको छ । हिमपातसँगै ५ हजार २ उचाइको न्यालु लेखको बाटो बन्द हुदाँ लिमीका स्थानीयवासी सदरमुकाम सिमकोट आउन सकेका छैनन् ।