Friday, January 10, 2025
घरसमाचारजहाँ बिरामी बोक्नसमेत पुरुष भेटिँदैनन्

जहाँ बिरामी बोक्नसमेत पुरुष भेटिँदैनन्




मुगु । केही दिन पहिले सामाजिक सञ्जाल फेसबुकमा मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका–४ माझचौरबाट एक कारुणिक दृश्य देखियो। दृश्यमा ४÷५ जना अधबैँसे महिलाहरूले स्टेचरमा बिरामी बोकेर माझचौरस्थित एक निजी औषधि पसलतर्फ लगिरहेका थिए। बिरामी ७० वर्षीय पञ्चा टमटा थिइन्, जो दमको समस्याले थला परेपछि गाउँमा उपचार सम्भव नभएर औषधि पसलसम्म पुर्‍याइएको थियो।

बिरामीलाई बोकेर लग्ने यी महिलाहरू खत्याड–३ माथिखर्क गाउँकै स्थानीय हुन्। महिलाहरूले डेढ घण्टाको पैदल दुरी पार गरेर बिरामीलाई मेडिकल पुर्‍याउनु यस जिल्लामा सम्भवतः यो पहिलो घटना हो।

खत्याड–११ रातापानीका कमल कार्कीले यो दृश्य देखेर तस्बिर खिची फेसबुकमा राख्दै लेखे,‘‘देशको अवस्था यति दयनीय भइसकेछ। गाउँमा कोही युवा छैनन्, वृद्ध–वृद्धा बिरामी हुँदा बोक्न महिला बाध्य छन्।’

पञ्चा टमटाका छोरा चन्द्रबहादुर टमटा माझचौरमा पसल चलाउँछन्। उनी आमा बिरामी भएको थाहा पाएपछि गाउँ पुगे। तर, गाउँमा युवाहरू कोही नभएकाले महिलाहरूको सहायतामा आमालाई औषधि पसल पुर्‍याउनुपरेको बाध्ययता रहेको बताउनु भयो । आमाको उपचारपछि महिलाहरूले नै घरसम्म बोकी पुर्‍याए।

‘यो कुनै रहर नभई बाध्यता हो’, चन्द्रबहादुरले भन्नुभयो । माथिखर्क गाउँमा ६० घरधुरी दलित समुदाय बसोबास गर्छन्। दशैँ÷तिहारपछि अधिकांश युवा मजदुरीका लागि भारततिर गइसकेका छन्। युवाहरू सबै मजदुरीका लागि पलायन भएसँगै गाउँमा बिरामी बोक्नसमेत कठिनाइ भएको हो । रोजगारीको अभाव, श्रमको उचित मूल्य नपाइने समस्याले युवाहरू गाउँ छोड्न बाध्य छन्। गाउँमा बिरामी, बुढाबुढी र केटाकेटी मात्र छन् ।

मुगु जिल्लाका थुप्रै गाउँको अवस्था यस्तै छ। रोजगारीको अभाव र राज्यको उदासीनताले गाउँहरू युवा विहीनजस्तै बन्दै गइरहेका छन्।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -