१२ पुस, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले लेस्टर सिटी विरुद्ध ३-१ को पुनरागमन जित हात पारेको छ । यस जितपछि लिभरपुलले शीर्ष स्थानमा ७ अंकको अग्रता समेत बनाएको छ ।
लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा जोर्डन आयुले छैटौं मिनेटमै गोल गर्दै लेस्टर सिटीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा कोडी गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको सुरुमै लिभरपुलले अग्रता लियो । ४९औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुलले २-१ को अग्रता बनायो । ८२औं मिनेटमा गाक्पोको पासमा मोहमद सालाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे ।
जितपछि लिभरपुलले १७ खेलबाट ४२ अंक जोडेको छ । लिभरपुलले दोस्रो स्थानको चेल्सीभन्दा अझै १ खेल कम खेलेको छ । १८ खेलबाट चेल्सीको ३५ अंक छ ।
गएराती भएको खेलमा पहिले अग्रता लिएपनि चेल्सी फुलहमसँग २-१ ले स्तब्ध भयो । घरेलु मैदानमा कोल पाल्मरले १६औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर फुलहमले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै दुई गोल गर्यो । ८२औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि रोड्रिगो मुनिजले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै फुलहमलाई २-१ को जित दिलाए । चेल्सी ४५ वर्षपछि घरेलु मैदानमा फुलहमसँग पराजित भएको हो ।
यस जितपछि फुलहम १८ खेलबाट २८ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।
प्रिमियर लिगकै अन्य खेलमा वलभ्सले म्यानचेष्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ । नटिङहम परेस्टले टोटनहम हट्सपरलाई १-० ले तथा न्युकासलले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको छ । वेष्टहम ले साउथह्याम्पटनलाई १-० ले पराजित गर्दा बर्नमाउथ र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।