बर्दिया । बाघ अवलोकनका लागि उत्कृष्ट मानिएको बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने अरू देशका भन्दा नेपालीको सङ्ख्या बढी रहेको छ । निकुञ्जमा आउने पर्यटकहरू मध्ये नेपालीको सङ्ख्या बढी देखिएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा आउने विदेश र सार्क मुलुकका पर्यटकको तुलनामा नेपाली पर्यटकको सङ्ख्या बढी रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार मङ्सिर मसान्त सम्म निकुञ्ज भ्रमण गर्ने नेपालीको सङ्ख्या सात हजार एक सय ४५ जना रहेको छ । त्यसैगरी तीन हजार ३६ जना विदेशी पर्यटक र तीन सय ४७ जना सार्क मुलुकका पर्यटकहरू रहेका छन् ।
चाडपर्व र बिदाको समयमा निकुञ्ज लगाएतका पर्यटकीय क्षेत्रमा भ्रमण गर्ने नेपालीको सङ्ख्या बढ्दैको छ । निकुञ्जका अनुसार गत कार्तिक महिनामा सबै भन्दा बढी तिन हजार दुई सय २६ जना नेपालीहरू निकुञ्ज भ्रमण गरेका छन् । मङ्सिर महिनामा एक हजार ९ सय ६० जना र असोज महिनामा एक हजार तिन सय ९ जना नेपाली पर्यटकहरू निकुञ्जको भ्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले बताउनु भयो ।
गत आर्थिक वर्ष २०८०÷८१ मा निकुञ्जमा नेपाली १८ हजार १०, सार्क मुलुक एक हजार चार सय ३७ र विदेशी ६ हजार ६ सय ४८ गरी जम्मा २६ हजार एक सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । आर्थिक बर्ष २०७९÷८० मा विदेश ६ हजार तिन सय ८४ जना, सार्क मुलुक एक हजार दुई सय २८ जना र नेपाली १६ हजार ७ सय ८६ जना गरी २४ हजार तिन सय ९८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश गर्न रु एक सय, सार्क मुलुकका पर्यटकलाई रु सात सय ५० र अन्य मुलुकका पर्यटकका लागि रु एक हजार ५ सय शुल्क लाग्छ ।
पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन र भ्रमण गर्ने पर्यटकहरूको घुँईचो लाग्ने गरेको छ । विशेषगरी बिदाको दिनमा निकुञ्जमा नेपाली पर्यटकको घुइँचो लाग्ने गरेको छ । हात्तीसार, गोही प्रजनन् केन्द्र अवलोकन, जङ्गल सफारी, जङ्गल वाल्कको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको रोजाइमा पर्ने गरेको छ ।राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारामा रहेको गोही प्रजनन् केन्द्र, हात्ती, कछुवा, पाटे बाघ, गैँडा लगायतका जनवार हेरेर फर्किन्छन् । निकुञ्ज सफारी गरेर फर्किएका अधिकांश पर्यटकहरूले पाटे बाघ लगायत अन्य जनावर हेरेर खुसी भएको प्रतिक्रिया दिने गरेका छन् ।