१ पुस, काठमाडौं । अद्वितीय विरोधाभासहरुका संगम थिए पीएल सिंह । राजा मन पराउँथे, तर निरंकुश राजा मन पराउँदैनथे । ०४६ को जनआन्दोलनका बेला विदेशीहरुको ऐक्यबद्धता जुटाउन दिल्लीमा बसेर युरोप अमेरिकाभरिका नेताहरुसँग कुरा गर्थे । ०६२/०६३ को जनआन्दोलनसँग चाहिँ उनी आफैं सहमत थिएनन् । आठ वर्षअघि ०७३ असारको एक बिहान चाक्सीबारी नजिकैको ताम्सीपाखाको आफ्नो छरपष्ट शयनकोठामा यो पंक्तिकारसँग उनले प्रश्न तेर्स्याएका थिए, ‘जनआन्दोलन पनि एक र दुई हुन्छ र ?’
नयाँ पुस्ताका धेरै पाठकलाई ०६३ को परिवर्तनलाई ‘जनआन्दोलन २’ भनिने गरेको प्रसंग थाहा नहुन सक्छ । काठमाडौं नगरपालिकालाई महानगर घोषणा गर्ने तत्कालीन मेयर पीएल सिंह आज राति अर्थात् १ पुसको राति एक बजे बिते ।
कांग्रेस नेता गणेशमान सिंहले राजनीतिक पुत्रका रुपमा ग्रहण गरेका पीएल सधैं गणेशमान निवासमै बसे । कस्तो मितिमा बिदा हुन पुगे पीएल, जुन मिति केवल क्यालेन्डरको धर्को होइन, नेपालको इतिहासमा निर्वाचित प्रधानमन्त्री बीपी कोइराला, अनि गणेशमान लगायत नेताहरुलाई लामो कैदमा पठाइएको दिनको संयोगका रुपमा चित्रित छ !
केही वर्षअघिसम्म निवास परिसरकै अर्को घरका केही कोठाहरुमा बस्थे पीएल । पोहोर बिरामी परेपछि भने गणेशमान पुत्र प्रकाशमानकै घरमा सरे । म, अनलाइनखबर सहकर्मी लिलु डुम्रे, फोटोपत्रकार आर्यन धिमाल चाक्सीबारी पुग्दा पीएललाई प्रकाशमान, अनि बहिनीहरुले सेवा सुश्रुषा गरिरहेका थिए ।
बिरामी हुनुभन्दा अघि पीएल सिंहको दैनिकी एक्लो थियो । उनी एक्लोपनका शिकार थिएनन्, बरु भोगी थिए । आफ्नो जोगी र भोगी जीवनशैलीमा स्वादले सजाए । पीएल पूराका पूरा बिन्दास । उनी अक्सर हतारमा देखिन्थे । छटपट-छटपट, हडबड-हडबड गरिरहनुपर्ने । तर त्यो हडबड केका लागि हो, उनैलाई थाहा नहुने ।
०७३ असारको एक बिहान यो पंक्तिकार ताम्सीपाखाको घर पुग्दा उनी भर्खरै उठेर कमिजको बटन लगाउँदै थिए । भुइँसम्म आधा लतारिएको ब्ल्याङ्केट । कोठाभरि असरल्ल सामान । पुस्तक, पत्रिका, भुजिया, टी–पट, कोकको बोतल, बडी स्प्रे, र्याक, टीभी । पीएलको कोठा भर्खरै युद्ध सकिएपछिको शहरजस्तो थियो । सम्हाल्न कहाँबाट सुरु गरेर कहाँ टुंग्याउने !
उनले निरन्तर भन्दै आए ‘प्रजातन्त्रको बीउ जोगाउने हो भने मूल्यहरूको रक्षा गर्नुपर्छ । मैले कोइरालासँग मूल्यका लागि लडेको हो । मेरो बाबु डेमोक्रेट थियो वा दाजु–दिदी डेमोक्रेट थिए, त्यसैले म पनि डेमोक्रेट भनेर पुग्दैन । कन्भिक्सन् चाहिन्छ । खै त्यो कन्भिक्सन, नेताहरूमा ? कांग्रेस भएँ भन्यो, मनलागी गर्यो ।’
‘बाई द वे, आर यु म्यारिड ?’ एकसरो कोठा मिलाएजस्तो गर्दै उनी अंग्रेजी–नेपालीमा जिस्किएका थिए, ‘किन हतार गरेको बिहेलाई । जीवन त यसरी पनि चलाउन सकिन्छ ।’
जीवन त ‘यसरी पनि’ चलाउन सकिन्छ । रुचिका अखबार पढ्यो । छानीछानी मदिरा पियो । मन लागी संगीत सुन्यो । फलफूल, मिठाई बोकेर मान्छे भेट्यो । दिउँसो एक बजेतिर रिम्पोचेकहाँ गयो । अनि त्यो सुविधा यी फुक्काफाल ‘ब्याचलर’ लाई नै छ । विवाह गरेर, सांसारिकतामा फस्ने टन्टा को लिइरहोस् ।
सिंहले २०१२ सालमा नेपाल छात्र संघका केन्द्रीय सदस्य हुँदै राजनीति थालेका थिए । पछि उनी गणेशमान सिंहका ‘राजनीतिक पुत्र’ भनी चिनिए । पञ्चायतकालमा पटकपटक जेल परे । २०४६ को आन्दोलनका बेला अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता लिन दिल्ली खटिएपछि उनको बाहिरी सम्पर्क ह्वात्तै बढ्यो । पछि उनले गणेशमानसँगै विश्वका कुनाकुना घुमेर राजनीतिक कूटनीतिक सम्पर्क बढाए ।
पहिलो स्थानीय चुनावबाट ०४९ सालमा काठमाडौं नगरपालिकाका मेयर भए । उनको तीव्र राजनीतिक जीवनमा २०५६ मा ब्रेक लाग्यो । पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग ठाकठुक परेपछि राजनीतिक सक्रियताको आयतन सीमित भयो ।
कोइरालाले काठमाडौं र सोलुखुम्बुका विरोधी खेमाका पार्टी सदस्यहरूको क्रियाशील सदस्यता खारेज गरिदिएपछि केन्द्रीय कार्यसमिति सदस्य सिंहले प्रश्न उठाएका थिए । कोइरालाले उक्त निर्णय अवैधानिक ढंगले गरेर नसच्याएको भन्दै उनले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिए ।
त्यसयता उनले निरन्तर भन्दै आए ‘प्रजातन्त्रको बीउ जोगाउने हो भने मूल्यहरूको रक्षा गर्नुपर्छ । मैले कोइरालासँग मूल्यका लागि लडेको हो । मेरो बाबु डेमोक्रेट थियो वा दाजु–दिदी डेमोक्रेट थिए, त्यसैले म पनि डेमोक्रेट भनेर पुग्दैन । कन्भिक्सन् चाहिन्छ । खै त्यो कन्भिक्सन, नेताहरूमा ? कांग्रेस भएँ भन्यो, मनलागी गर्यो ।’ अनि नेवारी भाषामा गाली–गालीजस्तो अनुभूति हुने शब्दहरु बोल्थे । एकछिन रोकिएर खित्खित् हाँस्थे ।
कांग्रेसमा वंशवृक्षको राजनीति फस्टायो भनेर पीएलले प्रश्न उठाए पनि बीचका यी वर्षहरुमा स्वयं गणेशमान परिवारबाट त्यो मान्यताले बल पाउने हो कि भन्ने प्रश्न पनि छ । पीएल आफैं भने वंशवादमा आधारित राजनीतिको लाभ उठाउन लागेनन् । प्रजातान्त्रिक समाजवादी भइराख्नु अनि व्यक्तिगत जीवनमा अराजकताको स्वाद लिइराख्नुमा उनको दिलचस्पी रह्यो । पीएलका लागि कांग्रेसबाट बाहिरिनु अलिअलि बाध्यता तर धेरै स्वेच्छाको बहिर्गमन रह्यो ।
पीएल आफ्नो दल–निर्वासनसँग कुन्ठित भएर बसेको भने देखिएन । उनी भन्थे, ‘रामचन्द्र १४ वर्ष वनबासमा गएथे । म पनि कांग्रेसबाट वनबास गएको १४ वर्ष नाघ्यो । अझ रामचन्द्रले त बिहे गरेर श्रीमती पनि सँगै लैजान पाएका थिए वनमा, मैले त त्यो पनि गर्न पाइनँ ।’ अनि आफैंलाई उडाउँदै पीएल भित्रभित्र ख्यासासासा हाँसेका थिए ।
आफूसँग एउटा विशेष राजनीतिक डकुमेन्ट रहेको, पार्सल गरेर पठाउने भन्थे । तर त्यो डकुमेन्ट कहिल्यै आइपुगेन ।
पीएल ०४६ लाई मात्रै परिवर्तन मान्थे । ००७ साल र ०६३ को परिवर्तनलाई नेपाली जनताले कम, भारतले बढी सफल पारिदिएको तर्क गर्थे । माओवादीसँग भारतीय भूमिमा बाह्रबुँदे सहमति भएकामा उनको सख्त आपत्ति थियो ।
मैले पीएललाई सोधेको थिएँ, ‘अनि ०४६ को परिवर्तन नि ? यही घरमा भारतीय नेता चन्द्रशेखर आएको भाषण गरेको होइन ? अनि आन्दोलन चर्केको होइन ? भूमि भारत वा नेपाल कहाँ पर्यो भनेर के फरक पर्छ र ?’
पीएल ः ‘उनीहरू भारतीय सत्ताका प्रतिनिधि भएर यहाँ आएका थिएनन् । त्यहाँका जनता र दलका प्रतिनिधि भएर आएथे । बाह्रबुँदे त सत्ताले मिलाइदिएको थियो ।’
पीएललाई बाह्रबुँदेमात्रै होइन, त्यससँगै स्थापित हुन थालेका परिवर्तनका एजेन्डा पनि उत्रो मन परेनन् । संघीयता, धर्मनिरपेक्षतालगायत मुद्दालाई ‘मनपरी गर्न छुट दिएर कांग्रेसको नेतृत्वले बिगारेको’ उनको आरोप र आक्रोश थियो ।
मैले पीएललाई नौ–दसपल्ट जति भेटें । कहिले पत्रकार मीन बज्राचार्य, सुबोध गौतम पनि हुन्थे । कहिले एक्लै भेट्थें । एकपल्ट दिल्लीस्थित नेपाली दूतावासमा पीएल लामै बसेका थिए । हर दिन जसो फोन गरिरहन्थे । आफूसँग एउटा विशेष राजनीतिक डकुमेन्ट रहेको, पार्सल गरेर पठाउने भन्थे । तर त्यो डकुमेन्ट कहिल्यै आइपुगेन ।
हास्यचेतका धनी पीएलसँग पोहोर लिलु र म भेट्न जाँदा उनी चरम बिमारका बीच पनि जिस्किने मुडमै थिए । घरि तलब कति छ भनेर सोध्थे, घरि टाइममै त आउँछ नि होइन भनेर सोध्थे । लिलुले भने, ‘हाम्रोमा टाइममै छ ।’
पीएलले हाँस्दै भनेथे, ‘अँ होला, नेपाली पत्रकारको दुःख मलाई थाहा छैन र ?’
त्यसपछि बहिनीहरुलाई हेर्दै नेवारीमा के–के भने । फेरि नेपालीमा भने, ‘माइन्ड नगर्नुहोला, मैले जिस्केको मात्रै ।’
पीएल जतिखेरै बच्चाजस्तो जिस्किइरहन्थे । तर आधारभूत बुझाइहरुसँग उनी कहिल्यै जिस्केनन् । कांग्रेसलाई पुरानै आदर्शको आभा दिने हो भने प्रजातान्त्रिक मूल्यहरु (लोकतान्त्रिक होइन) को रक्षा गर्नुपर्ने भन्थे । कांग्रेस राजासँगको सम्बन्ध छिनोफानो गरेर अघि बढिसकेको थियो । पीएल नेपाल अधिराज्यको संविधान ०४७ का अपरिवर्तनीय धाराहरुमै अड्किइरहेका थिए ।
को–को नेता भेट्नुहुन्छ आजकाल ?
‘कोही नेता छ र ? नेता छ भने देखाउनुस्, म भेट्न जाउँला,’ उनी भन्थे ।
‘उसो भए तपाईंलाई भेट्न आउलान् ।’
‘किन आउँछन् ? तिनले मलाई नेता मान्छन् र ?’
‘उसो भए कांग्रेस सुधार्न के गर्ने ?’
‘कांग्रेस सुधार्ने टिप्स मसँग छ । तर कांग्रेसलाई नै दिउँला, तपाईंलाई किन दिने ?’ यसो भन्दै उनी बुइँगलसम्म हल्लिने गरी हाँसेका थिए । अनि हामी ताम्सीपाखाबाट कफी पिउन होटल बज्रतिर निस्केका थियौं ।
उनी पाटन गइरहन्थे । कुनै अर्को दिन मलाई पनि लगेर गए । ‘मसँग हिँड्दाहिँड्दै मान्छे आधाआधी नेवार भइसक्छ, इः यो सुबोध (गौतम) लाई हेर्नुस्,’ उनले भनेका थिए ।
पीएलले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका थिएनन् । देउवा पनि पीएल भेट्न गएनन् । तिनै स्वाभिमानी हक्की पीएललाई पार्टी सभापति शेरबहादुर देउवाले चारतारे झन्डा ओढाए । त्यतिन्जेलमा पीएलको बनवास पनि सकिइसकेको थियो ।