Monday, December 16, 2024
घरसमाचार‘२५ प्रतिशत न्यायाधीश मौका पाए भ्याइहाल्ने खालका छन्’

‘२५ प्रतिशत न्यायाधीश मौका पाए भ्याइहाल्ने खालका छन्’

वरिष्ठ अधिवक्ता समेत रहेका रामप्रसाद श्रेष्ठ, चारवर्षे कार्यकाल पूरा गरी न्यायपरिषद् सदस्यबाट भर्खरै अवकाश भए । न्यायाधीशको नियुक्ति, उनीहरूको कामकारबाहीको अनुगमन र निगरानी गर्ने संवैधानिक जिम्मेवारी पाएको न्यायपरिषद्का कामकारबाही र प्रभावकारिताबारे निवर्तमान सदस्य श्रेष्ठसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानी :

दोस्रो कार्यकालमा चार वर्ष बिताएर न्यायपरिषद््बाट अवकाश हुनुभयो । न्यायाधीशहरूको नियमनकारी निकायबाट हेर्दा न्यायपालिका कस्तो देखिंदो रहेछ ?

न्यायपालिका अलि परम्परागत संस्था हो । नेपालमा मात्रै होइन, संसारभरका न्यायपालिकामा यस्तै खालको अभ्यास छ । न्यायपालिकाको राम्रो काम हम्मेसी देखिंदैन, किनभने न्यायपालिकाले आफ्नो कामको प्रचारप्रसार आफैं गर्दैन । अहिले हाम्रो न्यायपालिका साह्रै राम्रो छ, राम्रो गतिले गइरहेको छ भन्ने चाहिं मेरो भनाइ होइन ।

त्यसो हो भने किन न्यायपरिषद्ले प्रभावकारी रूपमा काम गर्न सकेन ?

न्यायपरिषद्‌मा कानूनमन्त्रीको उपस्थितिको विषयमा मेरा प्रश्न छन् । विश्वनाथप्रसाद उपाध्याय, जो २०४७ सालको संविधानको मस्यौदाकर्ता पनि हुनुहुन्थ्यो; उहाँ प्रधानन्यायाधीश भएको बेलाका नियुक्ति पनि विवादरहित हुन सकेनन् । स्वच्छ न्यायपालिकाको लागि कानूनमन्त्रीले जुन सहयोग गर्नुपर्ने थियो, कानूनमन्त्रीबाट त्यो सहयोग हुन सकेन ।

त्यतिबेला म नेपाल बार एशोसिएसनको उपाध्यक्ष थिएँ । मैले तत्कालीन प्रधानन्यायाधीश उपाध्यायलाई कानूनमन्त्रीको उपस्थिति किन राखियो भनेर प्रश्न गरेको थिएँ । उहाँले ‘त्यहाँ सरकारको एउटा सहजकर्ता आवश्यक पर्छ’ भन्ने जवाफ दिनुभएको थियो । आजको मितिमा हेर्दा कानूनमन्त्रीले सहजीकरण गर्‍यो कि हस्तक्षेप ? विश्लेषण गर्नुपर्ने आवश्यकता छ ।

कुनै, कुनै कानूनमन्त्रीसँगको तपाईंको अनुभव निकै तिक्ततापूर्ण पनि रहेछ, नाम भने खुलाउनुभएन !

तपाईंले नाम नसोध्नुहोला । एक जना कानूनमन्त्रीको कार्यकालभर न्यायाधीशहरूको कुनै नियुक्ति नै भएन । हामीले मापदण्ड नल्याएको भए नियुक्तिमा यत्तिको व्यवस्थापन हुँदैनथ्यो । यस्तो विषयमा नेपाल बारले हामीलाई जस दिंदैन । आलोचना मात्रै गर्छ ।

म न्यायपरिषद्को सदस्य भएपछि यसअघिका स्व. लक्ष्मीबहादुर निरौलालाई मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्नुपर्छ भनेको थिएँ । त्यसमा उहाँ पनि सहमत भएपछि हामीले मापदण्ड बनाएका हौं ।

बेठिक फैसला भएको भेटिएको अवस्थामा हामीले कसैलाई छाडेका छैनौं । तर, सबैलाई बर्खास्त गर्नुपर्ने खालको कसुर हुँदैन । गम्भीर त्रुटि वा कमजोरी हुनेलाई मात्रै पदमुक्त गर्ने हो । सामान्य प्रकृतिको त्रुटिलाई नसिहतसम्म दिने हो ।

मापदण्ड बनाएपछि पनि नियुक्ति त विवादरहित हुन सकेनन् !

मापदण्डले केही सुधार भएको छ । यसको नतिजा आउन समय लाग्छ । यसपालि गरेको नियुक्तिबाट कस्ता व्यक्ति आए र उनीहरूले के गरिरहेका छन् भनी हेर्न कम्तीमा पनि १० वर्ष पर्खिनुपर्छ । हिजो मनलाग्दी रूपमा नियुक्ति भइरहेका थिए, अहिले कम्तीमा मापदण्ड बनेको छ ।

मापदण्डका आधारमा नियुक्ति गर्दा पारदर्शिता भयो । प्रभावकारी रूपमा कति योग्य र सक्षम छानियो भनी मूल्यांकन गर्न १० वर्ष लाग्छ । प्रधानन्यायाधीशले न्यायपरिषद्‌मा निष्पक्ष रूपमा काम गर्न सक्यो भने न्यायपरिषद्को भूमिका पारदर्शी हुन्छ । न्यायाधीश नियुक्ति प्रभावकारी बन्छ । न्यायपालिका पनि सुदृढ हुन्छ ।

तपाईं सदस्य भएकै बेलामा न्यायपरिषद्को संरचनामाथि व्यापक प्रश्न उठ्यो । राजनीतिक हस्तक्षेप बढ्यो भनेर पुनर्संरचनाका लागि संविधान संशोधन हुनुपर्ने माग आयो, हैन र ?

न्यायपरिषद्‌मा कार्यपालिकाको प्रतिनिधित्वको विषय ठिक होइन । कहिलेकाहीं असल मानिसको प्रतिनिधित्व भए नराम्रो असर हुँदैन । प्रणालीगत रूपमा भने त्यो राम्रो अभ्यास भएन । असल मानिसको प्रतिनिधित्व भयो भने राम्रो नतिजा पनि दिन्छ ।

अहिले सार्वजनिक वृत्तमा निष्पक्ष न्यायसम्पादनप्रति शंका छ । राजनीतिक विवादमा इजलासको गठन हुनासाथ आदेश वा फैसलाको पूर्वानुमान हुन्छ । न्यायपरिषद्ले राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई गरेको सिफारिसका कारण विश्वसनीयतामाथि यो हदसम्मको प्रश्न उठेको होइन र ?

अहिले न्यायाधीशहरूमाथि जे–जति प्रश्नहरू आइरहेका छन्, तिनमा आंशिक सत्यता छ । क्षमता र इमानदारीमा मानिस योग्य भयो भने जसले नियुक्ति गरे पनि फरक पर्दैन । अमेरिकामा पनि राष्ट्रपतिले नै न्यायाधीशहरू नियुक्ति गर्छन् । योग्य व्यक्ति चयन भयो भने त्यसबाट खासै प्रश्न जन्मिंदैन ।

अहिले सर्वोच्चका केही न्यायाधीशको नियुक्तिमा त्यस्ता प्रश्न आएका छन् । त्यसमा केही मात्रामा राजनीतिक प्रभाव पनि होला । केहीमा कार्यक्षमताको प्रश्न पनि छ । कारण देखाउ आदेश नै जारी नगरी सोझै रिट निवेदन खारेज भएका उदाहरण पनि भेटिन्छन् । क्षेत्राधिकार वा हकदैयाको प्रश्नमा बाहेक कारण देखाउ आदेश जारी गरिन्छ । तर, सर्वोच्च अदालतका केही न्यायाधीशहरूमा यो खालको त्रुटि समेत देखिन्छ ।

त्यसको दोष न्यायाधीश सिफारिस गर्ने न्यायपरिषद्ले बोक्नु त स्वाभाविक होइन र ?

हामीले सबै नियुक्तिलाई व्यवस्थापन गर्न मापदण्ड बनायौं । राजनीतिक व्यक्तिलाई अस्वीकार गरेनौं । न्यायाधीश नियुक्तिमा राजनीतिमा कुनै चासो र रुचि नै नभएको व्यक्ति हुनुपर्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन । हरेक मानिस राजनीतिक प्राणी हो, कुन तहको राजनीतिक सक्रियता भन्ने प्रश्न मात्रै हो ।

कोही मुखर देखिन्छन्, कोही आफूलाई लुकाउँछन् । एउटा बौद्धिक मानिसको राजनीतिक सोच हुँदैन र ? राजनीतिक आस्था राख्नु गलत हँुदैन तर राजनीतिको आधारमा मात्रै नियुक्ति गर्नु गलत हो । तर, कुनै मानिस कार्यक्षमता र इमानदारीको दृष्टिले सक्षम छ भने न्यायाधीश बनाउँदा केही फरक पर्दैन ।

पूर्वन्यायाधीश कृष्णजंग रायमाझीलाई पनि राजनीतिक झुकावको आरोप लाग्थ्यो, लक्ष्मण अर्याललाई पनि त्यस्तै आरोप लागेको थियो । टोपबहादुर सिंहमाथि पनि त्यही आरोप थियो । तर, उहाँहरूको न्यायिक निर्णयमा कुनै प्रश्न उठेन ।

कृष्णजंग रायमाझीलाई राजावादी भन्ने आक्षेप थियो । शंका पनि भयो । तर जाँचबुझ आयोगमा बसेर उहाँले बहालवाला राजालाई जवाफदेही बनाउनुभयो । तसर्थ यो क्षमताको प्रश्न पनि हो । सक्षम र इमानदार भए संवैधानिक पदमा पुगेपछि मानिसले हिजोको पद र भूमिका बिर्सनुपर्ने हो, तर बिर्सिंदैनन् । म पनि विगतमा एउटा राजनीतिक स्कूलिङमा चलेको मानिस थिएँ । तर परिषद्मा पुगेर त्यो काम गरिनँ । बाँकी त अरूले मूल्यांकन गर्लान् ।

चार वर्षको अनुभवलाई हेर्दा न्यायाधीश नियुक्तिमा कसको चासो कस्तो रूपमा प्रकट हुँदोरहेछ ?

न्यायाधीश नियुक्तिमा प्रधानन्यायाधीशको चासो हुन्छ । त्यसैले त हिजोका प्रधानन्यायाधीशहरू पनि न्यायाधीश नियुक्तिमा विवादमा परेका हुन् । कतिपय प्रधानन्यायाधीशले नियुक्तिमा अडान लिनुभएन, किनभने कतिपयको केही चासो थियो होला ।

‘हामीले न्यायाधीशको स्तर पनि हेर्‍यौं । कतिपय निकै इमानदार छन्, तर उनीहरूको न्यायसम्पादन निकै सुस्त गतिमा छ । कतिपयको कार्यक्षमता राम्रो छ, तर आचरण शंकाको घेरामा छ । केही त मौका मिल्यो भने ‘भ्याइहाल्छन् !’

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका अभ्यासहरू हेर्दा न्यायपरिषद्को कामकारबाहीमा एकरूपता देखिएन । कुनै नीति अनि मापदण्ड विनै किन निर्णय भएको होला ? त्यही भएर बारले सात वर्षे अवधिको अवधारणा अघि सारेको हो कि ?

नेपालको सन्दर्भमा सर्वोच्च अदालतको न्यायाधीशको पदावधि सात वर्ष मात्रै राख्नुपर्छ भन्नेमा म सहमत छैन । एउटा पेशाबाट अर्कोमा जाँदा अनुभव हासिल गर्नै एक/डेढ वर्ष लाग्छ । अनि बाँकी पाँच वर्षमा उसले के काम गर्ला ? कार्यकाल कम र बढी हुँदैमा केही फरक पर्दैन ।

इमानदार र सक्षम व्यक्ति चयन हुनु मुख्य कुरा हो । कोही इमानदार हुन्छन्, सक्षम हुन्नन् । कोही सक्षम छन्, इमानदार छैनन् । त्यस्ता न्यायाधीशहरूले कम कार्यकालमा नै पनि न्याय बिगारिहाल्छन् । राम्रो न्यायाधीश चयन भयो भने लामो पदावधिले केही असर पर्दैन ।

अमेरिकामा आजीवन न्यायाधीश हुने व्यवस्था छ । त्यहाँको न्यायपालिका विवादमा छैन । तसर्थ आज हाम्रोमा सक्षम र इमानदारीको मात्रै प्रश्न हो । त्यही खालका न्यायाधीश पठाउन नसकेको कारणले अहिले अवधिको सीमाबारे नयाँ धारणा निस्किएको हो । तर त्यो समाधानको बाटो हैन ।

उच्च अदालतमा कानून व्यवसायीलाई न्यायाधीश नियुक्ति गर्दा अझै बढी राजनीतिक हस्तक्षेप र भागबन्डाका गुनासाहरू आउनुको कारण के हो ?

हाम्रो पालामा उच्च अदालतमा नियुक्त न्यायाधीशमा कानून व्यवसायीको अनुपात बढी भएको होइन । हामीले करिब २५ प्रतिशत कानून व्यवसायी मात्रै सिफारिस गरेका हौं । ती पनि बजारमा उपलब्धमध्ये इमानदारी र क्षमताका आधारमा छनोट गरेका हौं ।

मसँग राम्रो सम्बन्ध भएका कैयौं व्यक्ति न्यायाधीशको सिफारिसमा नपरेका कारण रिसाएका छन् । हामीले तल्लो तहमा कार्यरत न्यायाधीश (क्याडर जज) लाई नै बढी प्राथमिकता दियौं । वरिष्ठता मात्रै हेरेनौं, कार्यक्षमता र इमानदारीलाई पनि प्राथमिकता दियौं ।

संविधानले हरेक तहको न्यायाधीशलाई नयाँ नियुक्ति भनेको छ । तर क्याडर जजहरूले माथिल्लो तहमा जाने अवसरलाई बढुवा ठान्दा रहेछन् । उनीहरूले ‘यति वर्ष काम गरें, म त सर्वोच्च जान पाउनुपर्ने’ भनिरहेका हुन्छन् । न्यायाधीशको पद नियुक्ति हो, बढुवा होइन ।

कोही न्यायाधीशहरू इमानदार होलान् तर सर्वोच्च अदालतमा जाने क्षमता पुग्दैन । कतिपय न्यायाधीशले रिट पनि बुझ्दैनन् जस्तो लाग्छ । उनीहरूलाई सर्वोच्च अदालतमा लगेर के गर्ने ?

जिल्ला र उच्च अदालतमा न्यायाधीशको वर्गीकरण गर्दा २५ प्रतिशत जति अब्बल, इमानदार र क्षमतावान् छन् । उनीहरू चाकडी गर्दैनन्, न्यायपरिषद्‌मा कसैलाई भेट्न पनि आउँदैनन् । आधाजसो समय अनुसार काम गर्छन् । अरू २५ प्रतिशत जति जस्तोसुकै मौका पनि नछाड्ने खालका भेटिए ।

जिल्ला न्यायाधीशहरूलाई वृत्ति विकास र बढोत्तरीमा असाध्यै बेवास्ता गरिएको देखिन्छ । आँकडाहरूले पनि त्यस्तै देखाउँछ, किन होला ?

हिजोको नियुक्तिमा आधा कानून व्यवसायी, आधा न्यायाधीश गरेर अनुपात मिलाएको हो । एकपटकको नियुक्तिमा त ६० प्रतिशत कानून व्यवसायी छन्, क्याडर जजलाई परेको मर्काबारे ध्यान दिएनन् । पछिल्लो पटक त्यसलाई सुधार गरिएको छ । २५ प्रतिशत कानून व्यवसायी मात्रै न्यायाधीश हुँदा बार हामीसँग धेरै रिसाएको थियो ।

इमानदार र निष्ठावान् भएर काम गरेको जिल्ला न्यायाधीश माथि जान नसक्दा ऊ दिग्दार हुन्छ । दिग्दार मनोवृत्तिले उसले राम्रो न्यायसम्पादन गर्न सक्दैन । न्यायपरिषद्को सदस्य भनेको न्यायाधीशहरूको पनि न्यायाधीश हो । बारको सिफारिसमा म सदस्य भएको भन्दैमा वकिलहरूलाई मात्रै ध्यान दिन मिल्दैन । त्यसैले जिल्ला न्यायाधीशको मर्काबारे पनि म संवेदनशील भएँ ।

हामीले कानूनमन्त्रीलाई सरकारको प्रतिनिधिको रूपमा मात्रै व्यवहार नगर, तिमी न्यायपरिषद्को एउटा जिम्मेवार सदस्य बन्नुपर्छ भन्छौं । अनि हामी आफैं चैं वकिलहरूको मात्रै प्रतिनिधि झैं व्यवहार गर्न मिल्छ र ? समग्रमा हेर्दा विभिन्न तहमा राम्रा न्यायाधीश पछिपरेका छन् । तर, अहिले उच्च अदालत हिजोको जस्तो असन्तुलित छैन ।

समस्या स्वीकार गर्ने, तर सम्बोधन नगर्ने अभ्यास भइरहेको हो ?

कतिपय समस्या रातारात समाधान हुँदैनन् । न्यायपालिकालाई हेर्ने आम मानिसको नजर परम्परागत छ । कानून व्यवसायीले आफ्नो सेवाग्राहीलाई परेको मर्का मात्रै बुझेको हुन्छन् । न्यायपरिषद्‌मा पुगेर, त्यहाँबाट हेर्दा मैले नेपालको फौजदारी न्यायप्रणाली मरेको जस्तो अनुभव गरें ।

मैले स्व.लक्ष्मीबहादुर निरौला (न्यायपरिषद्का पूर्वसदस्य) सँग यसबारेमा सल्लाह पनि गरें । धेरै मुद्दा रहेका अदालत भएका क्षेत्रमा गएर मैले ‘नेपालमा फौजदारी न्यायप्रणाली मरेछ’ भनेर अभिव्यक्ति नै दिएँ । मैले उनीहरूलाई ‘कानूनको नजरअन्दाज नगर्नुहोला । तर आरोपित व्यक्ति छुटेका कारणले तपाईं डराउनुपर्दैन’ भनेर अभिव्यक्ति नै दिएँ । फौजदारी न्यायप्रणाली नै मर्‍यो भने न्याय कसरी हुन्छ ?

भारतमा सर्वोच्च अदालत र उच्च अदालतका फैसलाहरूमाथि शैक्षिक एवं प्राज्ञिक रूपमा छलफल, समीक्षा र आलोचना हुन्छ । हाम्रोमा त्यो अभ्यास छैन । एकपटक वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको अध्यक्षतामा त्यो खालको अभ्यास भएको थियो । उहाँको प्रयासले केही सुधार पनि भयो, तर त्यसले लामो समयसम्म निरन्तरता पाउन सकेन ।

विश्वविद्यालय, कलेज अनि बारले फैसला र आदेशमाथि निरन्तर अध्ययन गर्नुपर्छ । त्यसले गर्ने समीक्षा र आलोचना सबैका लागि मार्गदर्शन गर्ने खालको हुनुपर्छ । हाम्रोमा त कानून व्यवसायीहरूले आफ्नो पक्षले मुद्दा हारेपछि न्यायाधीश खत्तम भन्ने संस्कार बस्यो । यसरी त न्यायपालिका चल्दैन ।

वृत्ति विकासमा भएको अवरोधले पनि तल्ला अदालतमा विकृति बढेको ठान्नेहरू छन् । तपाईंको अनुभव कस्तो रह्यो ?

राम्रो मानिसलाई माथि ल्याएर न्यायपरिषद्ले निष्पक्षता देखाउनुपर्छ । तर त्यति गर्दा पनि राम्रो मान्छे नआएमा उनीहरूलाई सम्बोधन गर्नुपर्छ । जस्तो, तल्लो अदालतमा कार्यरत न्यायाधीशलाई माथिल्लो तहमा तान्न सकिएन रे, तर अवकाशको बेलामा एक तह बढुवा गरिदिने हो भने उसको आकांक्षा सम्बोधन हुनसक्छन् । तर त्यसका लागि कानून नै संशोधन हुनुपर्छ ।

हामीले पछिल्लो ३/४ वटा कानूनमन्त्रीहरूलाई यी विषय सम्बोधन गर्न घच्घच्याएको हो । केही त तयार पनि थिए । तर यति छिटोछिटो सरकारको फेरबदल भएका छन् कि कुनैले पनि प्रक्रिया अघि बढाउन सकेनन् ।

न्यायपरिषद्को सदस्य भनेको न्यायाधीशहरूको पनि न्यायाधीश हो । बारको सिफारिसमा म सदस्य भएको भन्दैमा वकिलहरूलाई मात्रै ध्यान दिन मिल्दैन । त्यसैले जिल्ला न्यायाधीशको मर्काबारे पनि म संवेदनशील भएँ ।

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिमा ज्यादा हस्तक्षेप भयो भनेर न्यायाधीश बन्न रुचि राख्नेहरूलाई छनोट गरेर उच्च अदालतमा नियुक्त गर्ने अनि तीमध्येका योग्यतमलाई सर्वोच्च अदालतमा पठाउने भन्ने बहस चलेको छ । यो कस्तो विकल्प हो ?

यो धेरै राम्रो र व्यावहारिक कुरा हो । न्यायाधीशहरूलाई उच्च अदालतमा मात्रै नियुक्त गर्ने र राम्रालाई मात्रै सर्वोच्चमा लैजाने कुरा व्यावहारिक पनि छ । तर त्यसका लागि क्याडर र कानून व्यवसायीहरूको अनुपातलाई सन्तुलित गर्नुपर्छ । सर्वोच्चमा सोझै न्यायाधीश नियुक्त नगर्ने अभ्यास विकास गर्नसके धेरै राम्रो हुन्छ ।

लामो समयदेखि सर्वोच्च अदालतमा न्यायाधीशहरूको पदपूर्ति हुन सकेन । एक समय त एक तिहाइ हिस्सा रिक्त थियो, अहिले चार जनाको पदपूर्ति हुनसकेको छैन । यस्तो किन हुन्छ ?

अहिलेको न्यायपरिषद्‌मा एउटा संरचनागत समस्या छ । एक त सरकार परिवर्तनका कारण कानूनमन्त्री छिटोछिटो परिवर्तन भए । दोस्रो, नियुक्त भएको कानूनमन्त्रीले विषयवस्तु बुझ्न समय लाग्ने भयो । अर्कोतर्फ, समयमा न्यायपरिषद्को बैठक नै हुन नसक्ने परिपाटी बस्यो ।

कहिलेकाहीं प्रधानन्यायाधीशले पनि समय दिंदैनन् । कहिले वरिष्ठतम न्यायाधीशले समय दिंदैनन्, कहिले कानूनमन्त्रीको समय मिलाउन गाह्रो । अरू भूमिका विना न्यायपरिषद्‌मा जो दुई सदस्य हुन्छन्, त्यहाँ उनीहरूले मात्रै समय दिने रहेछन् । न्यायपरिषद्‌मा नियमित रूपमा बैठक डाक्ने प्रणाली बनाउने अनि त्यसमा कोही पनि अनुपस्थित हुन नपाउने व्यवस्था गर्ने हो भने नियमित प्रक्रियाबाट नै न्यायाधीश नियुक्ति हुन्छन् । नभए त हुने यस्तै हो ।

सर्वोच्च बाहेक जिल्ला र उच्च अदालतका न्यायाधीशको कामकारबाही निगरानी गर्ने काम न्यायपरिषद्को हो । यो अवधिमा उनीहरूको भूमिका कस्तो देख्नुभयो ?

हाम्रो न्यायपरिषद् ऐनमा सबै कुरा उल्लेख छ । निरीक्षण, अनुगमन गर्ने अनि गल्ती गर्नेलाई कारबाही गर्ने व्यवस्था पनि छ । तर त्यसलाई हामीले कति प्रयोग गर्‍यौं भन्ने प्रश्न छ । यसभन्दा अघिको न्यायपरिषद्ले निरीक्षण गर्ने बाहेक अनुगमन र निगरानी गर्ने अनि फैसलामाथि अध्ययन गर्ने समिति बनाएको थिएन । हामीले अध्ययन समिति बनायौं । त्यो कति प्रभावकारी भयो भन्ने प्रश्न यथावत् छ । म नै पूर्ण रूपमा सन्तुष्ट छैन ।

फैसला अध्ययन नगरी कसरी न्याय सम्पादनको गुणस्तर थाहा हुन्छ र ? ऐनमै पनि फैसला अध्ययन समितिको परिकल्पना छ । तर, त्यही फैसला अध्ययन समितिमाथि बारले विरोध गर्‍यो । बारले सहयोग गरेन भने निकै गाह्रो हुने रहेछ ।

त्यही समितिमा रहँदा हामीले न्यायाधीशको स्तर पनि हेर्‍यौं । कतिपय न्यायाधीशहरू निकै इमानदार छन्, तर उनीहरूको न्यायसम्पादन निकै सुस्त गतिमा छ । कतिपय न्यायाधीशको कार्यक्षमता राम्रो छ, तर आचरण शंकाको घेरामा छ । केही मौका मिल्यो भने ‘भ्याइहाल्छन् ।’ उनीहरूमाथि हुनुपर्ने जति निगरानी नभएकाले त्यस्तो भएको हो ।

जिल्ला र उच्च अदालतमा न्यायाधीशको वर्गीकरण गर्दा २५ प्रतिशतजति न्यायाधीश अब्बल, इमानदार र क्षमतावान् छन् । उनीहरू चाकडी गर्दैनन्, न्यायपरिषद्‌मा कसैलाई भेट्न पनि आउँदैनन् ।
करिब आधाजसो न्यायाधीशहरू समय अनुसार काम गर्छन् । न्यायपरिषद्ले प्रभावकारी निगरानी गर्‍यो भने उनीहरूले इमानदारीका साथ काम गर्छन् । निगरानी हुन सकेन भने तिनीहरूले अलिअलि भ्याउने मौका खोजिहाल्छन् । अरू २५ प्रतिशतजति जस्तोसुकै मौका पनि नछाड्ने खालका भेटिए ।

हामीले अदालतमा न्यायाधीशहरू व्यवस्थापन गर्दा इमानदार र अब्बल न्यायाधीशले नेतृत्व गर्ने अनि अरू न्यायाधीश मातहतमा रहने गरी व्यवस्थापन गर्‍यौं । करिब दुई/साढे दुई वर्षयता काठमाडौं जिल्ला अदालतमा चलखेलको गुनासो सुनिएको छैन । त्यहाँ पनि अलिअलि चलखेल होला, तर दिनदहाडै डकैती भएको छैन ।

न्यायाधीशको व्यवस्थापन महत्वपूर्ण विषय रहेछ । किनभने सबै मानिस काठमाडौं आउन खोज्छन् । यहाँ सरुवा भयो भने ‘यसो घर बनाउन, दुःखसुख गरेर बन्दोबस्त गर्न सकिन्छ’ भन्ने मानसिकता हुँदोरहेछ । तर त्यसलाई हामीले सकेसम्म व्यवस्थापन गर्‍यौं ।

आम मानिसले वस्तुपरक रूपमा न्यायपालिकाको मूल्यांकन गर्न सक्दैन । कुनै स्वार्थ नभएको न्यायक्षेत्रको व्यक्तिले नै यसको वस्तुपरक मूल्यांकन गर्न सक्छ । मुद्दासँग जोडिएको मानिसलाई आफ्नो मुद्दाकै सरोकार ज्यादा हुन्छ, ऊ निष्पक्ष हुन सक्दैन । त्यसैले न्यायपरिषद्ले फैसलामाथि नियमित अध्ययन र अनुगमन गर्नुपर्छ ।

कतिपय न्यायाधीशहरूमाथि कार्यक्षमताको प्रश्न छ । कतिपयको आचरणमा समस्या छ । यी विषय कसरी सम्बोधन गर्नुभयो त ?

आचरण र कार्यक्षमता दुवै विषयमा उत्तिकै गुनासो आएका छन् । कतिपय न्यायाधीशहरू विषयवस्तुमा पोख्त र इमानदार छन्, तर न्यायिक क्षमता देखिएन । औसत रूपमा परीक्षा उत्तीर्ण गरेर न्यायाधीशमा हुनुपर्ने गुण प्राप्त हुँदैन । उक्त मानिसमा विशेष क्षमता हुनुपर्छ, त्यो भनेको ज्ञानका साथसाथै न्याय दिन्छु भन्ने सोच हुनुपर्छ जसलाई ‘ज्यूडिसियल एटिच्यूड’ भन्ने गरिन्छ ।

कतिपयले ‘तपाईं फैसलाधीश हो, न्यायाधीश होइन’ भनेर व्यंग्य गरेका हुन्छन् । फैसला गर्न कुनै कठिनाइ छैन, तर न्यायाधीश हुन निकै गाह्रो छ । सबैले न्याय गर्न सक्दैनन् । मलाई पनि न्यायाधीशको जिम्मेवारी लिने प्रस्ताव आएको हो, तर म न्यायाधीश हुन सक्दिनँ जस्तो लाग्यो, अनि प्रस्ताव अस्वीकार गरें । न्याय प्रदान गर्नु निकै गम्भीर काम हो ।

मैले एक जना अवकाशप्राप्त न्यायाधीशलाई कुनै कफीसपमा सोधेको थिएँ, ‘श्रीमान्, तपाईंको कार्यकालको राम्रो र नराम्रो पक्ष बताउनुहोस् न !’ उहाँले भन्नुभयो, ‘राम्रो पक्ष तपाईंहरूले मूल्यांकन गर्ने हो । जिल्लामा हुँदा मैले आगलागी ज्यानको मुद्दा फैसला गरेको थिएँ । संलग्न व्यक्ति धरौटीमा छुट्न लायक थियो । तर त्यहाँको सार्वजनिक प्रदर्शन र दबाबले छाड्न सकिनँ । त्यो नराम्रो पक्ष भयो ।’

त्यो दिन ती न्यायाधीशलाई रातभर निद्रा लागेनछ । उहाँले भन्नुभयो, ‘आज पनि मलाई त्यो पीडा हुन्छ ।’ त्यो न्यायाधीशको न्यायिक मन हो । न्यायाधीश त्यस्तै हुनुपर्छ ।

अहिले हाम्रो वरपर ‘म पास भएर आएको हुँ, म टपर पनि हुँ, वरिष्ठतममा पर्थें तर न्यायाधीश हुन पाइनँ’ भन्ने गुनासो व्याप्त छ । उसँग न्यायाधीश हुने मन र विवेक छ कि छैन हेरिएन । न्यायाधीशलाई करिअर ठानियो । यो विशेष क्षमता सहितको सेवा हो ।

‘अहिलेको सन्दर्भमा कानूनमन्त्री न्यायपरिषद्‌मा आउनुहुँदैन । बरु एउटा वरिष्ठतम न्यायाधीश वा वरिष्ठ अधिवक्ता राखे हुन्छ । तर, राजनीतिक सोच र आस्था राखेको मानिसलाई न्यायपरिषद्‌मा लैजानुहुँदैन ।’

 

तपाईंले नै २५ प्रतिशत न्यायाधीशको कामकारबाहीमा गम्भीर समस्या छ भन्नुभयो । न्यायपरिषद्का वार्षिक प्रतिवेदन र अरू आँकडा हेर्दा कारबाहीको संख्या निकै नगन्य देखिंदो रहेछ । परिषद्ले कुनै कारबाही नै गर्दो रहेनछ भनेर बुझौं ?

बाहिरबाट देखिने र भित्रको यथार्थ धेरै फरक हुन्छ । धेरैले न्यायाधीशलाई ‘गलत आचरण’कै दृष्टिकोणले हेरेका हुन्छन् । तर त्यहाँ बसेपछि हामीले उसलाई पनि न्याय गर्नुपर्ने हुन्छ । उसलाई न्याय गर्न सकिएन भने आम न्यायाधीशमाझ निराशा व्याप्त हुनजान्छ । त्यसैले हामीले उसको आचरण र फैसला हेर्ने र त्यसका आधारमा मूल्यांकन गर्ने हो ।

बेठिक फैसला भएको अवस्थामा हामीले कसैलाई छाडेका छैनौं । कुन स्तरको कारबाही भयो भन्ने प्रश्नको विषय बन्ला । तर सबैलाई बर्खास्त गर्नुपर्ने खालको कसुर हँुदैन । गम्भीर त्रुटि वा कमजोरी हुनेलाई मात्रै पदमुक्त गर्ने हो । सामान्य प्रकृतिको त्रुटिलाई नसिहतसम्म दिने हो ।

आचरण र कार्यसम्पादनमा प्रश्न हुनेहरूलाई हामीले यत्तिकै छाडेका छैनौं । अहिले बलात्कारको मुद्दामा आम रूपमा न्यायाधीशहरू ‘कन्जर्भेटिभ’ भइरहेका छन् । त्यो मामिलामा अहिलेको कानून व्यावहारिक छ तर कुनै न्यायाधीशले मुद्दाको रोहमा आरोपित छाडेमा आम मानिसहरूले न्यायाधीशलाई नै गलत देखिरहेका हुन्छन् । तर यथार्थमा त्यस्तो हुँदैन ।

आचरणका विषयमा आचारसंहिता उल्लंघनदेखि भ्रष्टाचारसम्मका गुनासा आइरहेका छन् । त्यस्ता विषयमा कत्तिको केन्द्रित हुनुभयो ?

एक–दुई वटा घटना बाहेक हामी न्यायाधीशको सम्पत्तिसम्म पुगेका छैनौं । तर, छानबिन भएका कतिपयहरू आचरणमा दोषी ठहर भएर कारबाही भोगिसकेका छन् ।

न्यायपरिषद् जति सक्रिय हुनुपर्ने हो त्यति रहेनछ, हैन ?

त्यसमा कुनै शंका छैन । परिषद्को बैठक बस्न नै गाह्रो हुन थाल्यो । अहिलेको संरचना र प्रणालीले पनि केही ढिलो भएको छ । हुनुपर्ने काम नभएको कुरा सत्य हो । यसलाई मैले होइन भन्दिनँ ।

तपाईंहरूले गत वर्ष न्यायपरिषद् नियमावली संशोधन गरेर न्यायाधीशहरूको ज्येष्ठता र वरीयताक्रम उथलपुथल पारिदिनुभयो । के त्यो काम संविधानसम्मत थियो ?

हामीले ठिक ठानेर निर्णय गरेको हो । त्यो ठिक नहुन सक्छ । तर खारेजीका लागि त सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुपर्‍यो । त्यसैलाई लिएर निरन्तर आन्दोलन गर्नु त ठिक होइन नि !

आज गरेको निर्णय हिजोको हकमा समेत लागू हुने गरी अर्थात् पश्चातदर्शी असर हुने गरी नियमावली संशोधन भएको थियो । त्यस्तो गर्न मिल्छ र ?

बारका साथीहरूले जे सोच्नुभएको छ, हामीले त्यसरी निर्णय गरेको होइन । त्यो नियमावली नआएको भए पनि न्यायपरिषद्लाई न्यायाधीशहरूको रोलक्रम तल–माथि गर्ने अधिकार छ । न्यायपरिषद्ले विगतमा यस्तो गरेको पनि हो ।

हामीले सान्दर्भिक रूपमा यस्तो निर्णय गरेको हो । हिजो अन्यायमा परेका मानिसहरूलाई एउटा ढंगले सम्बोधन गर्नुपर्ने थियो । नत्र हीनताबोध र अपहेलित मानसिकता बोकेर उसले असल न्यायसम्पादन गर्न सक्दैन ।

हिजो सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार उच्च अदालतको मुख्यन्यायाधीश भएर गएका थिए । हामीले मुख्यन्यायाधीश होइन, उच्च अदालतको वरिष्ठतम न्यायाधीशसम्म बनाएको हो । यो कुरा मानिसहरूले बुझेनन् ।

न्यायपरिषद्‌मा प्रधानमन्त्री र नेपाल बार एशोसिएसनको सिफारिसमा दुई जना सदस्य हुन्छन् । यी दुवै सदस्य सिफारिसकर्ताप्रति नै बफादार भएर काम गरिरहेको आरोप लाग्ने गरेको छ, के भन्नुहुन्छ ?

नेपालका संवैधानिक पदाधिकारीहरू पटक–पटक विवादमा परेका उदाहरण छन् । संवैधानिक पदमा जानेहरूलाई निर्देशित गर्नुहुँदैन भन्ने कुरा सिफारिसकर्ताहरूलाई हेक्का छैन । नियुक्त हुनेले पनि मैले हिजोको राजनीतिक अवस्था बिर्सनुपर्छ भन्ने सोच्दैनन् । त्यही कारणले यस्ता प्रश्न आइरहेका हुन् ।

नेपाल बार एशोसिएसनले मेरो विरोध गर्नुपर्ने के कारण छ र ? ‘मैले सिफारिस गरेर पठाएँ, तर मेरो कुरा मानेन’ भन्ने उसको गुनासो हो । नत्र एउटा संवैधानिक निकायले गरेको कामकारबाही चित्त नबुझे ऊ न्यायिक प्रक्रियामा जानुपर्ने थियो । सर्वोच्च अदालतको फैसला गलत भयो भनेर झण्डा उठाउने हो र ?

न्यायपरिषद्को संरचनाबारे चौतर्फी प्रश्न उठेका छन् । तपाईंको अनुभवमा यसलाई आगामी दिनमा कसरी व्यवस्थापन गर्नुपर्छ ?

जस्तोसुकै संविधान बनाए पनि नेपालका नेताहरूले यसको मर्म अनुकूलको आचरण देखाउन सकेनन् । न्यायाधीश नियुक्तिका लागि भारतमा जस्तो कलेजियम (वरिष्ठतम न्यायाधीशको समूह) बनाउने कुरा आएको छ । कलेजियममा बस्ने पनि तिनै नियुक्ति भएका न्यायाधीशहरू हुन् । प्रधानन्यायाधीशले त्यो मर्म अनुसार काम गर्छ भन्ने कुनै ग्यारेन्टी पनि छैन ।

संवैधानिक पदमा गएपछि विगतको राजनीतिक संलग्नता र आस्थालाई बिर्सन सक्ने मानिस छनोट गरियो भने सुधार हुन सक्छ । अहिलेको सन्दर्भमा कानूनमन्त्री भने न्यायपरिषद्‌मा आउनुहुँदैन । बरु एउटा वरिष्ठतम न्यायाधीश वा वरिष्ठ अधिवक्ता राखे हुन्छ । राजनीतिक सोच र आस्था राखेको मानिसलाई न्यायपरिषद्‌मा लैजानुहुँदैन ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -