३० मंसिर, काठमाडौं । राजन मगराती र निर्जला श्रेष्ठले तेश्रो राष्ट्रिय फ्रिस्टायल रोलर स्केट प्रतियोगितामा आइतबार उपाधि जितेका छन् । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा राजन र महिलामा निर्जला पहिलो भएका हुन् ।
गल्फुटारमा भएको प्रतियोगिताको पुरुषमा सोहन गुरुङ दोश्रो र रोहन कुँवर तेश्रो भए । महिलामा सन्ध्या मगरले रजत तथा र निमिषा तामाङले कांस्य जिते । पुरुष-महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
पुरुषमा सहभागी २ सय ५० खेलाडी मध्ये ४० तथा महिलामा सहभागी १ सय ५० मध्ये १० खेलाडी प्रतियोगिताको मुख्य प्रतिस्पर्धामा सहभागी भएका थिए । खेलाडीको छनोट चरणको खेल शनिबार भएको थियो । सोही छनोट चरणबाट खेलाडी छानिएको आयोजक संघका महासचिव सत्य थापाले जनाएका छन् ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्लाइम्विङ संघका अध्यक्ष रमेश पौडेल, आयोजक संघका अध्यक्ष अच्युत खनाललगायतले पुरस्कृत गरे ।
समापनका अवसरमा अध्यक्ष खनालले यसै प्रतियोगिताको प्रदर्शनलाई आधार आधारमा महिला र पुरुषमा ५-५ गरी १० खेलाडीलाई दक्षिण कोरियामा जुनमा हुने एसियन रोलर डारबी प्रतियोगितामा सहभागी गराइने जानकारी गराए ।