Sunday, December 15, 2024
घरसमाचारसुनकोसी नदी स्थित फोक्सिन्टारमा बेलिब्रिज निर्माण हुँदै

सुनकोसी नदी स्थित फोक्सिन्टारमा बेलिब्रिज निर्माण हुँदै

उदयपुर । असोज १२ गते आएको भीषण बाढीले भत्काएको फोक्सिन्टारस्थित सुनकोसी नदीको पक्की पुलको विकल्पमा बेलिब्रिज जडान गर्न प्रक्रिया सुरु भएको छ ।

पुनः निर्माण नभएसम्म यातायात पुनः सञ्चालनका लागि सुनकोसी नदीमा बेलिब्रिज जडान गर्न लागिएको गाईघाट दिक्तेल सडक योजना कार्यालयले जनाएको छ । 

उदयपुरको रौतामाई गाउँपालिका–५ र खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका बीच सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल खण्डमा पर्ने यो पुल गत असोज १२ गते सुनकोसी नदीमा आएको भीषण बाढीले भत्काएपछि यातायात अवरुद्ध भएको थियो । 

दुई वर्षअघि मात्रै सञ्चालनमा आएको आर्क डिजाइनको यो पुल निर्माणको अन्तिम काम बाँकी रहँदै बाढीले बगाएको हो ।

गाईघाट–दिक्तेल सडक योजनाले पुल भत्किएपछि वैकल्पिक समाधान स्वरूप बेलिब्रिज निर्माण गर्न मङ्सिर सुरुमा ठेक्का आह्वान गरिसकेको छ । डिई पशुपति ज्ञवालीका अनुसार, ठेक्का सम्झौता पुसको दोस्रो सातासम्म गरिसक्ने र तुरुन्तै निर्माणको कार्य थालिनेछ । 

बेलिब्रिजका सामान पुरानै अवस्थामा भएकाले निर्माण कार्य छिटो सम्पन्न हुने अपेक्षा गरिएको छ । ११ करोड ६० लाखको लागतमा निर्माण भएको यो पक्की पुल सुरुमा गाईघाट– दिक्तेल सडक योजना कार्यालय र पछि पुल सेक्टर १ धरान – इटहरीको सुपरिवेक्षणमा बनेको थियो । 

ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ९ वर्षमा बल्ल निर्माण सम्पन्न भएको भए पनि पुल सरकारलाई हस्तान्तरण गरिनसकेको अवस्थामा नदीमा आएको बाढीले बगाएको डिई ज्ञवालीले बताउनुभयो ।

पुल भत्किएपछि फोक्सिन्टारमा यातायात ठप्प हुँदा यात्रुहरूले झोलुङ्गे पुल प्रयोग गर्नुपरेको छ । 

खोटाङ उद्योग वाणिज्य सङ्घका अनुसार, उपभोग्य वस्तु ओसारपसार गर्न झोलुङ्गे पुलले समस्या झन् बढाएको छ । फोक्सिन्टारमा झोलुङ्गे पुलको विकल्प नहुँदा २५ किलोमिटर तल त्रियुगा नगरपालिका–१४ धाब्लाङ र १० किलोमिटरमाथि रसुवामा रहेका झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने बाध्यता छ । यातायात साधन रसुवामा रोकिएपछि यात्रुहरूले झोलुङ्गे पुल तारेर गाडी चढ्नुपर्ने अवस्था छ ।

पुल सेक्टर इटहरीका सूचना अधिकारी इञ्जिनियर आविष्कार तिम्सिनाका अनुसार, पुल निर्माणमा ढिलाइ हुनुका साथै एप्रोच सडक निर्माण अधुरो हुँदा बाढीले पुल भत्काएको हो । नियमानुसार, ठेकेदार कम्पनीले निर्माण सम्पन्न भएपछि ५ वर्षसम्म मर्मत सम्भारको जिम्मा लिनुपर्छ । तर, यो प्रकरणलाई दैवी प्रकोपको रूपमा केलाउनुपर्ने सडक विभागको धारणा रहेको उहाँले बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -