Sunday, December 15, 2024
घरसमाचारझलनाथको टिप्पणी : समाजवादी मोर्चा एउटा अपरिपक्व अभ्यास

झलनाथको टिप्पणी : समाजवादी मोर्चा एउटा अपरिपक्व अभ्यास

फाइल तस्वीर


३० मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई एउटा अपरिपक्व अभ्यासको संज्ञा दिएका छन् ।

पूर्वप्रधानमन्त्री नेता खनालले पार्टीको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको ‘दशौं राष्ट्रिय महाधिवेशन र हाम्रो तात्कालीक कार्ययोजना’ शीर्षकको प्रस्तावमा यस्तो टिप्पणी गरेका हुन् ।

नेपालको कम्युनिस्ट आन्दोलनले एकीकरण र विभाजनका दुवै शृङ्खलाहरू भोग्दै आएको उल्लेख गर्दै उनले संविधान निर्माणपछि एकीकृत हुन खोजेको तर, नसकेको बताएका छन् ।

संविधान बनाइसकेपछि र पहिलो निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेपछि भने वामपन्थी आन्दोलन हेर्दाहेर्दै एकपछि अर्को विभाजनतिर उन्मुख भयो,’ खनालले लेखेका छन्, ‘देशी-विदेशी प्रतिक्रियावादीहरू जे चाहन्थे आन्दोलनका केही नेताहरूले त्यही चाहनालाई पूरा गरिदिए ।’

परिणाममा वर्तमानमा दर्जनभन्दा बढी वामपन्थी समूहहरू फेरि प्रकट हुन पुगेको उनको विश्लेषण छ । उनी अगाडि लेख्छन्, ‘सबै वामपन्थी समूहहरूलाई कसरी साझा सवालमा एक ठाउँ ल्याउन वा वाम एकता निर्माण गर्न सकिन्छ भन्ने सवाल एउटा चुनौतीपूर्ण सवालका रूपमा हाम्रा सामु छ ।’

यही बेला समाजवादी मोर्चाको प्रयत्न देखा परेको उनले बताएका छन् । ‘विभाजित वाम समूहहरूलाई एकताबद्ध गर्नुपर्छ भन्ने नाउँमा केही समय अघि ‘समाजवादी मोर्चा’ बनाउने प्रयत्न पनि देखापर्‍यो । त्यो एउटा अपरिपक्व अभ्यास बाहेक केही थिएन’ खनालको टिप्पणी छ ।

समाजवादी मोर्चा बनाउनका लागि गर्नुपर्ने अभ्यास नै नगरिएको उनको बुझाइ छ । उनी अगाडि लेख्छन्, ‘समाजवादी मोर्चा नै बनाउने हो भने सबैभन्दा पहिले वैज्ञानिक समाजवादको कार्यक्रममा त सहमति हुनै पर्‍यो नि । कुनै पनि मोर्चा वा कार्यगत एकता निश्चित लक्ष्यका आधारमा बन्छ । समाजवादी मोर्चा बन्ने बित्तिकै समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने मुख्य कार्यदिशामा एकरूपता हुनैपर्छ ।’

यी कार्य नभएकाले समाजवादी मोर्चा बनाउने परिस्थिति विकसित नभएको उनको व्याख्या छ ।

नेता खनाल लेख्छन्, ‘त्यसैले यतिबेला समाजवादी मोर्चा बनाउने आत्मगत परिस्थिति विकसित भएको देखिँदैन । परिस्थिति परिपक्क भयो भने फेरि बनाउन नसकिने भन्ने पनि हुँदैन ।’

हाल एकीकृत समाजवादी सहितको समाजवादी मोर्चा छ । मोर्चामा समाजवादीसहित नेकपा माओवादी केन्द्र, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।

तर, अझै पनि समाजवादी मोर्चा भन्दा वामपन्थीहरू एकजुट बन्न सक्ने विकल्प विद्यमान रहेको उनको बुझाइ छ ।

‘सबै वामपन्थीहरू साझा सवालमा एकजुट बन्ने हो भने देशमा अहिले पनि वामपन्थीहरू नै दक्षिणपन्थी शक्तिहरूभन्दा बलियो विकल्पका रूपमा रहेका छन,’ उनले लेखेका छन् ।

केही समयअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतको गठबन्धन स्मरण गर्दै उनले लेखेका छन्, ‘त्यो एकतालाई नीति र कार्यक्रम माथि आधारित एकता बनाउन सकेको भए, एकआपसमा साझा आधारलाई बलियो बनाउन सकेको भए र आफूभित्र उत्पन्न हुने स–साना अन्तर्विरोधहरू, शंका, उपशंकाहरू मैत्रीपूर्ण ढंगले हल गर्दै अघि बढ्न सकेको भए वाम एकताको सरकार नै अहिले पनि रहिरहने थियो ।’

यी चार दलको एकतालाई बलियो बनाउन नसकिएको उल्लेख गर्दै उनले यसको कारक दक्षिणपन्थी औसरवाद भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘त्यस (एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतको गठबन्धन) लाई मुलुकको आमूल परिवर्तनको दिशातिर उन्मुख पारेर अघि लान सकिन्थ्यो । तर त्यो भएन । कम्युनिस्ट आन्दोलनमा जन्मिरहेको दक्षिणपन्थी औसरवादले यो एकतालाई टिक्न दिएन ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -