अहिले धेरै मानिस जीवनशैलीजन्य रोगको सिकार भइरहेका छन् । कुन रोग कसलाई कहिले लाग्छ भन्न सकिंदैन । त्यसैले समय-समयमा स्वास्थ्य परीक्षण गरिरहनुपर्छ ।
नियमित स्वास्थ्य परीक्षणबाट रोग लाग्नुभन्दा अगाडि स्वास्थ्यमा कुनै जोखिम छ भनेर हेर्न सकिन्छ । कुनै रोगको संकेत देखिएमा सुरुवाती अवस्थामै उपचार गरेर जटिलताबाट बच्न सकिन्छ ।
स्वास्थ्यप्रति सचेत र सतर्क हुन थालेकै कारण अहिले मानिस घरमै स्वास्थ्य जाँचका उपकरण राख्न प्रेरित भएका छन् । जसको प्रयोगले घरमै विभिन्न स्वस्थ्य जाँच गर्न सकिन्छ ।
ग्लुकोमिटर मनिटर
घरमै मधुमेह परीक्षण गर्ने मेसिनलाई ग्लुकोमिटर भनिन्छ । यो एक पोर्टेबल उपकरण हो, जुन मधुमेह रोगीका लागि प्रयोग गरिन्छ । ग्लुकोमिटरको मद्दतले रगतमा चिनीको मात्रा कति छ भन्ने कुरा थाहा हुन्छ ।
मधुमेहका समस्या भएकाहरूले रगतमा चिनीको मात्रा कति छ भनेर नियमित जाँच गरिरहनु महत्त्वपूर्ण हुन्छ । घरमै ब्लड सुगर परीक्षण गर्दा धेरै फाइदा छन् । जसले गर्दा चिनीको मात्रा कसरी नियन्त्रण गर्ने भन्ने थाहा हुन्छ । के खाएपछि चिनीको मात्रा बढ्छ भन्ने कुरा थाहा हुन्छ ।
ग्लुकोमिटरको मूल्य ११ सयदेखि सुरु हुन्छ ।
पल्स अक्सिमिटर
यदि कसैलाई दम वा फोक्सोसँग सम्बन्धित कुनै रोग छ भने उनीहरूका लागि पल्स अक्सिमिटर उपयोगी हुन्छ । यस यन्त्रको माध्यमबाट बिरामीको शरीरमा अक्सिजनको स्तरमा कमी छ कि छैन भनेर निगरानी गर्न सकिन्छ । यसमा अक्सिजन स्तर र पल्स रेट दुवै पत्ता लगाइन्छ । अक्सिमिटरमा अक्सिजनको स्तर ९५ भन्दा बढी छ भने तपाईं स्वस्थ हुनुहुन्छ । यदि अक्सिजनको स्तर ९० भन्दा कम छ भने तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्छ ।
पल्स अक्सिमिटरको मूल्य बजारमा एक हजार रुपैयाँबाट सुरु हुन्छ ।
रक्तचाप मनिटर
उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ । शरीरमा यसको स्तर कहिले बढ्छ भन्न सकिंदैन । हेर्ने हो भने हिजोआज हरेक घरमा एक न एक उच्च रक्तचापका बिरामी भेटिन्छन् । उच्च रक्तचाप जति खतरनाक छ, न्यून रक्तचाप पनि शरीरका लागि उत्तिकै हानिकारक हुन्छ ।
त्यसैले घरमा कोही उच्च रक्तचापका बिरामी छन् भने रक्तचाप जाँच गर्न रक्तचाप मनिटर लिनु राम्रो निर्णय हुनेछ । जसको सहायताले हरेक दिन रक्तचापको लेभल सजिलैसँग थाहा पाउन सकिन्छ । धेरैजसो डिजिटल बीपी मेसिनले कम वा बढी रिडिङ गर्न सक्छ, त्यसैले दुईदेखि तीनवटा रिडिङ लिएर दोस्रो वा तेस्रो रिडिङलाई सही मान्न सकिन्छ । साथै रक्तचाप नाप्ने सही तरिका पनि थाहा हुनुपर्छ जसले गर्दा सही नतिजा पाउन सकिन्छ ।
डिजिटल ब्लड प्रेसर नाप्ने मेसिनको मूल्य दुई हजारदेखि चार हजार रुपैयाँसम्म पर्छ ।
ईसीजी मनिटर
आजकल मुटुका बिरामीको संख्या पनि बढ्दै गएको छ, पहिले ईसीजीका लागि तुरुन्तै अस्पताल जान्थे तर अब घरमै बसेर पोर्टेबल ईसीजी मनिटरबाट सजिलै मुटुको स्वास्थ्य जाँच गर्न सकिन्छ । यसमा मुटुको गति पनि पत्ता लगाउन सकिन्छ ।
यसको मूल्य ५० हजार रुपैयाँबाट सुरु हुने हुनाले यो केही महंगो छ । आवश्यक पर्ने मुटुरोगीले यो यन्त्र घरमै राख्न सकिन्छ ।
डिजिटल थर्मामिटर
हरेक घरमा थर्मामिटर हुनु अति आवश्यक हुन्छ । विभिन्न प्रकारका थर्मामिटरमध्ये एक डिजिटल थर्मामिटर छनोट गर्दा राम्रो हुनेछ । यसबाट सजिलै ज्वरो नाप्न सकिन्छ । यो बच्चाहरूका लागि पनि प्रयोग गर्न सजिलो हुन्छ । डिजिटल थर्मामिटरमा सही तापक्रम थाहा पाउन सकिन्छ । यसमा दिइएको डिजिटल स्क्रिनमा सजिलै तापमान देख्न सकिन्छ । म्यानुअल थर्मामिटर बाहेक डिजिटल थर्मामिटरले २० सेकेन्डमा शरीरको तापक्रम जाँच गर्न सकिन्छ ।
डिजिटल थर्मामिटरको मूल्य १५० बाट सुरु हुन्छ ।
पेन रिलिफ डिभाइस
दुखाइ कम गर्ने केही उपकरणहरू पनि बजारमा उपलब्ध छन् । जस्तै- हट प्याड, मसाजर र नर्भ स्टिमुलेटरहरु आदि । आफ्नो आवश्यकता अनुसार र चिकित्सकको सल्लाहमा सही प्रकारको उपकरण छनोट गरेर दुखाइबाट छुट्कारा पाउन सकिन्छ ।
हट प्याडको मूल्य २५० रुपैयाँबाट सुरु हुन्छ भने मसाजरको मूल्य कस्तो लिने हो त्यसमा फरक पर्छ ।