Tuesday, January 7, 2025
घरसमाचारब्याटिङ कमजोर भइरहँदा काठमाण्डुलाई बलिङको भरोसा

ब्याटिङ कमजोर भइरहँदा काठमाण्डुलाई बलिङको भरोसा

२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाण्डु गुर्खाजको ब्याटिङ सबैभन्दा कमजोर देखिएको छ । कुनैपनि खेलमा टप अर्डरको भरपर्दो साथ नपाएको काठमाण्डुको टिमलाई खेल जिताउन हालसम्म बलिङकै भरोसा छ ।

काठमाण्डुले बुधबार लुम्बिनीविरुद्धको खेलमा १०३ रनको स्कोर डिफेन्ड गर्दै कीर्तिमान समेत बनायो । बिहीबार जनकपुर बोल्ट्ससँग पनि १०१ रनमै अलआउट भएको काठमाण्डुले उक्त स्कोरलाई पनि डिफेन्ड गर्न सक्ला त भन्ने धेरैको कौतुहलताको विषय थियो ।

विशेषगरी पछिल्ला खेलहरूमा कम रन बन्नु र ब्याटरले संघर्ष गरिरहेको देख्दा धेरैलाई त्यो सोच त आउने नै भयो । तर बिहीबार भने काठमाण्डुले दिएको १०२ रनको लक्ष्य भेट्टाउँदै लुम्बिनीले प्लेअफमा स्थान बनाएको छ । सो क्रममा काठमाण्डुले ५ विकेट भने हात पार्‍यो ।

प्रतियोगिताको सुरूवातदेखि नै काठमाण्डुको ब्याटिङ फितलो देखिएको छ । यस प्रतियोगितामा सबैभन्दा कम रन बनाउने टिम पनि काठमाण्डु नै हो । काठमाण्डुले ५ खेल खेल्दा कुल ५६२ रन मात्र बनाएको छ ।

पहिले ब्याटिङ गर्दा काठमाण्डुले १११, १०३ र १०१ रनको योगफल खडा गरेको छ भने लक्ष्य पछ्याएर जित्ने क्रममा १५३ रन बनाउँदा अर्को एक खेलमा ९४ रनमा अलआउट हुँदै पराजित भएको छ ।

काठमाण्डुले हालसम्म हात पारेको दुई जितमध्ये पहिलो १५० रनको लक्ष्य पछ्याउने क्रममा आएको थियो जहाँ मिडल अर्डरमा सुमित महर्जनले अविजित ४० रन बनाउँदा जेरार्ड एरासमसले ३८ र कप्तान करण केसीले २८ रन बनाएका थिए । यो नै काठमाण्डुको अहिलसम्मको उच्च ब्याटिङ हो ।

काठमाण्डुका लागि माथिल्लो क्रममा खेल्ने ब्याटरहरू पूर्णरूपमा लयबाट बाहिर देखिएका छन् । टप अर्डरमा खेल्ने विदेशी खेलाडीहरू जेरार्ड एरासमसले ५ खेलमा ७३, स्टेफेन इस्किनाजीले ५ खेलमा ७२ रन तथा माइकल लेभिटले ५ खेलमा ६० रन बनाएका छन् ।

यस्तोमा काठमाण्डुका लागि सर्वाधिक रन बनाउनेमा सुमित महर्जन छन् जसले ५ खेलमा ८७ रन बनाएका छन् । त्यस्तै भीम शार्कीले ५ खेलमा ५५ रन बनाएका छन् ।

प्रतियोगिता अगाडि बढ्दै गएपछि विकेट स्लो हुँदै जाने र ब्याटिङ गर्न कठिन हुने विश्लेषणका बीच काठमाण्डुको ब्याटिङ भने पहिलो खेलदेखि नै फितलो देखिएको छ । कम स्कोरमै रोकिने संकेतका बीच लोअर मिडल अर्डर र लोअर अर्डरका ब्याटरहरू आएर केही शटहरू खेल्दै टिमको स्कोर सम्मानजनक अवस्थामा पुगिरहेको छ ।

अर्कोतर्फ बलिङमा भने काठमाण्डु ठीकठाक नै देखिएको छ । बुधबार १०३ रनको स्कोर डिफेन्ड गर्नमा बलरहरूकै शानदार प्रदर्शन रहेको थियो जसको नेतृत्व गरेका थिए कप्तान करण केसी आफैंले । उनले ४ विकेट लिँदा स्पिनर दिपेश कँडेलले ३, जेरार्ड एरासमसले २ तथा पेसर रासिद खानले १ विकेट लिएका थिए ।

सर्वाधिक विकेट लिने सूचीको आठौं नम्बरमा ८ विकेटसहित करण आफैं छन् भने जेरार्ड एरासमसले पनि ७ विकेट लिएका छन् । तर ब्याटिङमा भने काठमाण्डुका ब्याटरहरू कसैले पनि हालसम्म १०० रन कटाउन सकेका छैनन् ।

यस्तोमा काठमाण्डुको कमजोर ब्याटिङलाई बलिङले ढाकेको जस्तो देखिएको छ । ब्याटिङबाट रन नबनेको अवस्थामा बलिङले एक-दुई खेल त जिताउला, तर बलिङबाट खेल जित्न पनि बोर्डमा केही रन हुनु त आवश्यक नै हुन्छ ।

पिचको अवस्थाको कुरा पनि एकतिर छ भने अर्कोतिर ब्याटरको फर्मको कुरा पनि रहन्छ । फर्ममा रहेका ब्याटरहरूले एक-दुई खेलमा प्रदर्शन नगर्लान् तर ब्याटिङ नै नचलेको ब्याटरहरूले प्रदर्शन नगर्ने कुरामा सबै दोष पिचलाई मात्र दिएर पनि हुँदैन ।

खेलपछिको पोस्ट म्याचमा पछिल्लो समय खेलाडीहरूले दोहोर्‍याइरहने एउटै कुरा भनेको ‘पिच…विकेट’ नै हो । धेरैले विकेट स्लो हुँदै गएको कुरा गरिरहँदा सँगसँगै ब्याटरको पनि गल्ती रहेको कुरा भन्न छुटाउँदैनन् ।

जस्तो जनकपुरका कप्तान अनिल शाहले बुधबार ५१ रनमा अलआउट भएपछि पिचलाई मात्र दोष दिएनन्, ब्याटरहरूले शट सेलेक्सनमा पनि ध्यान नदिएको कुरा बताएका थिए । उनी आफैं पनि शून्यमा आउट भएका थिए भने हारको मुख्य कारण ब्याटरहरूको गैरजिम्मेवार शट भएको उनको जिकिर थियो ।

त्यसैगरी लुम्बिनीका कप्तान रोहित पौडेलको कुरा पनि त्यस्तै थियो । उनले पनि चेज गर्न सकिने टार्गेट हुँदा पनि ब्याटरहरूले सम्हालिएर ब्याटिङ नगरेको कुरा औंल्याएका थिए ।

विकेट त स्लो हुँदै जानु स्वभाविक हो तर त्यसमा पनि ब्याटरहरूले अवस्था बुझेर ब्याटिङ गर्न सके राम्रो हुन्छ । काठमाण्डु गुर्खाजको हकमा पनि त्यही कुरा लागु हुन्छ ।

काठमाण्डुले अब खेल्न बाँकी २ खेलमा जित निकाल्नुका लागि ब्याटिङमा जिम्मेवार भएर खेल्नु जरुरी छ । एउटा प्रख्यात भनाई त छ- ब्याटरहरूले खेल जिताउँछन् भने बलरहरूले ट्रफी जिताउँछन् । हुन पनि हो, ब्याटिङ चले खेल जितिन्छ अनि खेल जित्दै गए पक्कै बलरहरूले पनि ट्रफी जित्ने गरेर प्रदर्शन गर्छन् । तर ब्याटिङ नै बलियो छैन भने त्यस्तोमा जतिसुकै राम्रो बलिङ भएपनि सधैं खेल जिताउला भनेर भरोसा गर्न सकिँदैन ।

नमीठो हारपछि सम्हालिएको जनकपुर

अघिल्लो खेलमा ५१ रनमा अलआउट भएको जनकपुरले बिहीबार पनि सुरूवातदेखि विकेट गुमाउन थालेको थियो । ४४ रनमा ४ विकेट गुमेपछि क्रिजमा आएका जिमी नीशमले दिपेश कँडेललाई एकै ओभरमा २ छक्का र १ छक्का प्रहार गरेपछि खेलको मोमेन्टम परिवर्तन भएको थियो ।

नीशम १७ बलमा २७ रन बनाएर एलबीडब्लु आउट भएर खेल फिनिस गर्न नसकेपनि उनीसँग त्यसबेलासम्म टिकेका हर्श थाकरले अन्त्यसम्म खेल्दै जनकपुरलाई खेल जिताए । थाकर २५ रनमा अविजित रहे भने उनलाई मोहमद मोहसिनले १३ रन बनाएर साथ दिए ।

त्यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको काठमाण्डुले आज पनि कम योगफल बनायो । जनकपुरका ललित राजवंशीले निकै किफायती बलिङ गर्दै ४ ओभरमा ८ रन मात्र दिएर ३ विकेट लिएका थिए । काठमाण्डुका लागि एरासमसले बनाएको २० रन सर्वाधिक थियो ।

१०१ रन बनाएपछि बलरहरूलाई निकै मिहिनेत गर्नुपर्ने थियो तर जनकपुर सम्हालिएर खेल्दै जित निकालेर प्लेअफमा पुगेको छ । काठमाण्डुलाई भने धक्का लागेको छ ।

५ खेलमा ४ अंक जोडेको काठमाण्डुले अब बाँकी दुई खेलमा दुवै खेलमा जित निकाल्नुपर्ने छ । यसपछिको खेल पोखरासँग छ भने त्यसपछि विराटनगरसँग खेल्न बाँकी छ । काठमाण्डु अब बढीमा ८ अंकसम्म पुग्न सक्छ ।

जनकपुरले भने अब चितवनसँग खेल्न बाँकी छ जुन खेल जितेमा जनकपुरले शीर्ष २ मा नै फिनिस गर्न सक्ने छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -