काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालमा रहेका धार्मिक क्षेत्रहरूको प्रचार गरी पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं.१ भैरबडाँडा (भागवतपुर)मा श्री तिरुपति बालाजी दिव्यधामको निर्माणको शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री लामाले नेपालमा रहेका धार्मिक क्षेत्रहरूको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।
उहाँले आगामी वर्ष दिव्यधाम निर्माणको लागि आवश्यक बजेट बिनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले दिव्यधामको परिकल्पना धेरै राम्रो भएको र निरन्तर इमान्दारितापूर्वक मेहनत गरे निर्माण सम्भव भएको बताउनुभयो ।
दिव्यधाम निर्माणमा स्थानीय जनता, वन समितिहरू, स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललितबहादुर घलानले सबै जातजाति, भाषाभाषी, राजनीतिक दल तथा संघ संस्थाको सहयोगमा दिव्यधाम निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले तिरुपति बालाजी दिव्यधाम निर्माणको लागि हेटौँडा उपमहानगरपालिका छनौट भएकोमा खुशी व्यक्त गर्नुभयो ।
व्यक्तिगत प्रयासमा थालिएको दिव्यधाम निर्माणको कार्यमा उपमहानगरपालिकाबाट सक्दो सहयोग उपलब्ध हुने भन्नुहुँदै उहाँले स्थानीय सरकारले आफ्नो क्षेत्रको विकासका सबै पाटोमा ध्यान दिनुपर्नेमा हेटौँडा उपमहानगरपालिका सक्रिय रहेको बताउनुभयो ।
श्री तिरुपति बालाजी दिव्यधाम निर्माणका लागि हेटौँडा उपमहानगरपालिका–२ निवासी अशोक शाक्यले जग्गा उपलब्ध गराउनुभएको छ ।
धाम निर्माणका लागि शिलान्यास कै दिन ३५ लाख २७ हजार छ सय ६३ रुपियाँ सहयोग जुटेको धाम निर्माण समितिका सचिव यदुनाथ सुवेदीले जानकारी दिनुभयो ।
दिव्यधाम अन्तर्गत उक्त क्षेत्रमा श्री तिरुपति बालाजीको मन्दिर, पञ्चमुखी हनुमानको मूर्ति, गोपुर, ज्येष्ठ नागरिक केन्द्र, बाल उद्यान, योग साधना भवन, जडीबुटी उद्यान, शहीद स्मारकदेखि नकौली हुँदै मकवानपुरगढीसम्म केबुलकार, स्वास्थ्य केन्द्र, बसपार्क, प्रहरी घर, तीर्थयात्री निवास, विवाह मण्डप, धार्मिक सांस्कृतिक परिवेश झल्कने तिरुपति नगरी बस्ती, सुरुङ्गमार्गसहितको सालग्राम भगवान्, संकल्पकर्ता स्वामी जनार्दनाचार्यको मूर्ति निर्माण गर्ने, तिरुपति सिसमहल, हवन मण्डल, पुष्करिणी तलाउ निर्माण, तिरुपति गौशाला, तिरुपति चरणपादुका निर्माण गर्ने योजना रहेको परिकल्पनाकार धर्मदत्त घिमिरेले जानकारी दिनुभयो ।