Saturday, November 30, 2024
घरसमाचारहृदयभित्र छचल्किएको राष्‍ट्रप्रेम

हृदयभित्र छचल्किएको राष्‍ट्रप्रेम

यसपालि लामो समयको अन्तरालपछि घर जाने मौका मिल्यो। आफ्ना लालाबाला, घरपरिवार, साथीभाइ लगायत इष्‍टमित्रहरूसँग भेटघाट एवं भलाकुसारी गर्न पाउनु पनि ठूलै सौभाग्यको कुरो रहेछ। यो अवसरको सदुपयोग गर्न पाउँदा दशैं आए जत्तिकै महसुस भयो मलाई।

आफ्ना छोराछोरीहरूसँग बसीबियाँलो गर्नु, उनीहरूको पढाइ, सुख-दुःख, जीवनको लक्ष्य, भविष्यको चिन्तन तथा योजनाको बारेमा जिज्ञासा गर्नु पिताको कर्तव्य एवं जिम्मेवारी दुवै हो। त्यसमाथि पनि बैंसालु उमेरमा पाइला टेक्न लागेका छोराछोरीहरूलाई केही कुराहरूमा सामान्य सचेत गराउनु, रचनात्मक सुझाव एवं सल्लाह दिनु र भविष्यको बारेमा खाका कोर्न सिकाउनु पनि असल पिताको नैतिक कर्तव्य हो। त्यसो त आफ्ना सन्ततिहरूको कुभलो कुन आमा-बुबाले चिताएका हुन्छन् र ? संसारमा त्यस्ता अभिभावक छैनन् जो आफ्नो मनमस्तिष्कमा सन्ततिहरूको भविष्यको पिरलो वा चिन्तनले ठाउँ ओगटेको नहोस्! नत्र त मलाई मनको भडाँस पोख्न के जरूरी थियो र ? हिजो पाखुरा सुर्किंदै आमाबुबालाई घुर्की लाएर फुर्किंदै हिंडेको अल्लारे केटो आज आमाबुबाको त्यही ठाउँ ओगट्न पुगेपछि सोच्न बाध्य हुनुपरेको हो। आमाले त भन्नुहुन्थ्यो- ‘तिमरूलाई कति दुःखजिलो गरेर हुर्काएँ, तिमरूका छोराछोरी जन्मेपछि थाहा पाउनेछौ एक दिन।’ आमाले भन्नुभएको यो वचन मलाई अहिले जस्तो लाग्छ।

हुन पनि हो– जब आमाको आधा माया बुहारीले खोसी, अचानक छुट्टीभिन्न भइयो र सन्तानको नाममा काखमा एउटा रगतको डल्लो हुर्किन थाल्यो तब उसलाई हुर्काउन कति दुःख र कष्‍ट व्यहोर्नुपर्दछ भन्ने कुरो कि त भोग्नेलाई थाहा होला कि नजिकबाट महसुस गर्नेहरूलाई।

एक बसाइँको कुरो हो। म घर विदाको अन्तिम चरणमा गुज्रिरहेको थिएँ। पारिलो घाममा बसेर केश कोरिरहेकी छोरीलाई मैले जिज्ञासु भावका साथ सोधें- ‘छोरी ! तिम्रो लक्ष्य/योजना के छ ? अनि भविष्यको बारेमा तिमीले के सोचिरहेकी छ्यौ ?’

छोरीले छोटो जवाफ दिइन्- ‘मैले यसबारे केही सोचेकै छैन। म त विदेश जाने हो।’

मैले संयमित हुँदै प्रश्‍न गरें- ‘के तिमीलाई आफ्नो देशको बारेमा कुनै चिन्ता छैन ? तिमीलाई यो देशको माया लाग्दैन ? तिमी यो देशको नागरिक होइनौ ? तिम्रो यो देशप्रति कुनै जिम्मेवारी नै छैन ?’

छोरीले आवेग ओकल्दै भनिन्– ‘यो देशले हामीलाई के दिएको छ जसले गर्दा देशको बारेमा सोच्न बाध्य हुनुपर्ने ?’

मैले आश्चर्यभाव व्यक्त गरें– ‘तिमीलाई कसले सिकायो यस्तो वाहियात् कुरो ? अनि कसले भर्‍यो तिम्रो दिमागमा मन्द विष ?’

छोरीले घुर्की लगाउँदै भनिन्– ‘कलेजका साथीहरू प्रायः यस्तै कुरा गर्छन् त म के गरूँ ? बरू जग्गा बेचेर भए पनि मलाई विदेश पठाउनुहोस् बाबा।’

मैले थोरै आक्रोश पोखें– ‘भनेपछि तिमीलाई पनि विदेश जाने सरुवा रोग लागिसक्यो ? कति सजिलै भन्न सक्यौ कि जग्गा बेचेर भए पनि विदेश पठाउनु ?’

छोरी केही बोलिनन्। म पनि केही बोलिनँ। हुनत प्रेमको रोग लाग्ने उमेरमा विदेश जाने रोगले सताउनु कुन नौलो कुरो थियो र ! म आफैं आश्चर्यमा परें कि प्राथमिक हुँदै माध्यमिक तह पार गरेर उच्च शिक्षाको खुड्किलो उक्लँदै गरेकी एउटा कलेजमा अध्ययनरत नवयुवक वा युवतीको मनमस्तिष्कमा विदेश जाने महत्त्वाकांक्षा र लठैत सपनारूपी संक्रमणले कति सजिलै आक्रमण गर्न सफल हुन्छ ? छोरीले दिएका जवाफहरूको संवेदनशीलताप्रति म घोत्लिन थालें। म झण्डै भकासिएँ पनि।

हुनत मैले विदेश नै नजानु/जानुहुँदैन भन्न खोजेको कहाँ हुँ र ? एउटा पिता आफ्नो सन्तानको उज्ज्वल भविष्यको लागि कसरी पत्थर बन्न सक्दछ र ! तर आफ्नो देशलाई लत्याएर केवल विदेश जाने लहड र स्वार्थको दुनो सोझ्याउनुभन्दा पनि जन्मभूमिप्रतिको अपमान र नकारात्मक दृष्‍टिकोणले मेरो मुटु बढी आहत भएको पो हो कि !

साँच्चै ! छोरीसँगको यो छोटो संवादले मलाई ठूलो चक्मा दियो। म विचलित हुन पुगें। म सन्तुष्‍ट हुनै सकिनँ। मैले उनको जवाफमा राष्‍ट्रियता, देशको भूगोल, सार्वभौमिक अखण्डता, देशको माटो र माटोको सुगन्ध सलबलाएको पटक्कै पाउन सकिनँ। विशेषगरी वर्तमान समाजमा परेका वा पारिएका विभिन्न सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक प्रभाव र तिनका जिम्मेवार तत्वहरूको बारेमा म केही सोच्न बाध्य भएँ। मलाई लाग्यो कि यो उनको जिद्दी वा हठ मात्र नभएर वर्तमान परिवेशको एउटा प्रतिनिधि आवाज हो जसले नेपाल, नेपाली र अबोध विद्यार्थीको अनिश्‍चित भविष्यको एकैसाथ प्रतिनिधित्व गर्दछ। फलस्वरूप आज लाखौं संख्यामा नेपाली विभिन्न बहानामा आफ्नो स्वर्गतुल्य मातृभूमि छोडेर विदेश जान लालायित एवं पलायन हुन बाध्य छन्।

आज पनि देशमा एउटा ठूलो तप्का छ जसले देशलाई आफ्नो प्राणभन्दा प्यारो मान्दछन्। देश भनेपछि निद्रामा पनि जुरूक्क उठ्ने र देशका लागि हुरूक्क हुने मानिसहरू धेरै छन् जसले देशलाई सर्वस्व ठान्दछन्। उनीहरूलाई विदेश पलायन हुन र विदेशको उपचारमा किञ्चित विश्‍वास छैन। बरू आफ्नै देशको सुगन्धित माटोमा फुलेका र लटरम्म फलेका फलफूल, कन्दमूल र जडीबुटीहरूको सेवनले शक्ति आर्जन गर्दै  वृद्धावस्थामा आफ्नै देशमा प्राणको भार र अन्तिम सास बिसाउन चाहन्छन्। देश एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहदेखि आफ्नो प्राणको आहुति दिने चार शहीदहरू गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्द लगायत जहानियाँ राणाशासनको अन्त्यदेखि वर्तमान लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गरिएका विभिन्न ऐतिहासिक संघर्ष, वीरताका गाथा र इतिहास साक्षी छन्।

कुनै पनि देशले आफ्नो जन्मभूमि र इतिहासप्रति गर्व गर्न सक्ने स्तरमा दृढतापूर्वक उभ्याउनका लागि आफ्ना नागरिक एवं विद्यार्थीलाई यसबारे समयमै सुसूचित एवं प्रशिक्षित गर्नु अत्यन्त जरूरी छ जसले गर्दा उनीहरू आफ्नो देशको मौलिक विविधता र वैभवप्रति गर्व गर्न सकून्/सिकुन्।

तर अफशोस ! सरकार मौन छ। सम्बन्धित निकायको कुनै चासो छैन। राजनीतिक वृत्त केवल गुलियो भाषण गर्नमा व्यस्त छ। र, विकास नारामा मात्र सीमित।

देशको कुल क्षेत्रफल पनि बताउन नसक्ने व्यक्ति वा विद्यार्थीबाट देशले के अपेक्षा गर्ने ? जसले देशको इतिहास पढ्दैन, माटोलाई सुम्सुम्याउँदैन र श्रद्धापूर्वक छातीमा टाँस्दैन त्यस्ता व्यक्तिहरूले देशलाई माया गर्दछन् र देशलाई आवश्यक परेको बेला प्राण उत्सर्ग गर्दछन्/गर्नेछन् भनेर कसरी विश्‍वास गर्नु ?

आधुनिक शैक्षिक पद्धतिको धरातल कमजोर बन्दै गएको छ। शिक्षाको गुणस्तर खस्किंदै गएको छ। देशको बागडोर सम्हाल्ने विद्यार्थीको भविष्य हाँक्ने शिक्षकहरूको उत्साह पनि दिन प्रतिदिन घट्दै गएको छ। पाठ्यक्रमहरूको निर्माण यसरी गरिएको छ कि जतिसक्दो घोक, धेरै नखोक। जाँचमा पास होऊ। ‘एनी हाउ’ जागिर खाऊ। विदेश जाऊ। टन्न पैसा कमाऊ। र, मोजमस्तीमै जीवन बिताऊ।

स्वयं विद्यार्थीलाई नै यो कुराको गहन आत्मबोध छैन कि अथक् मिहिनेत (कर्म) बाट आफ्नो भाग्य र भविष्य बदल्ने र त्यसको निर्णायक फैसला गर्ने सर्वाधिकार आफ्नै हातमा अन्तर्निहित छ भन्ने कुरा।

आधुनिक युग ‘इन्टरनेट’को दास बनिरहेको छ जसले विश्‍वलाई नै एउटा सूक्ष्म ग्रामीण बस्तीको रूपमा रूपान्तरण गरिसकेको अवस्था छ। सामाजिक सञ्जालरूपी साम्राज्यको तीव्र विस्तार भएसँगै मानिसहरूको सोच, दृष्‍टिकोण र जीवनशैलीमा व्यापक परिवर्तन र बदलाव आएको कुरालाई नकार्न सकिंदैन। कतिसम्म भने आफ्नो देशको कुल क्षेत्रफल गुगलमा ‘सर्च’ गरेर हेर्नुपर्ने स्थिति आइसक्यो।

आजकल विद्यार्थीको स्मरण र चिन्तन शक्ति पनि कमजोर एवं ह्रास हुँदै गइरहेको छ। सानातिना फुटकर हिसाबहरू गर्नको लागि पनि मोबाइल र क्याल्कुलेटरको भर पर्नुपर्ने स्थिति छ। भविष्यमा विद्यार्थीले म कुन देशको नागरिक हुँ भनेर बताउन पनि इन्टरनेटको सहारा लिनुपर्ने दिन नआउला भन्न सकिन्न। विद्यालयले भूगोलको नक्सा त पढायो तर राष्‍ट्रियता र जिन्दगीको नक्सा पढाएन/पढाइएन। उत्तर र दक्षिण ध्रुवमा रहेका दुई विशाल चट्टानहरूका बीचमा रहेको आध्यात्मिक मणिका बारेमा परिचित गराइएन। आफ्नो जीवनको आध्यात्मिक नक्सा पहिचान गर्न ल्याकत राख्ने नैतिक शिक्षा लगायतका पाठ्यक्रमहरूको अभाव दिनानुदिन खट्किंदै गएको कुरा पनि सत्य हो। बौद्धिक वृत्तमा यो कुराको चर्चा वा बहस बेला–बेलामा नभएको होइन तर पनि समस्या ज्युँका त्युँ छ।

आखिर किन ? हो, कुनै जमाना थियो कि विगत केही दशक अगाडि पढेका वा पढाइएका कुराहरू आजपर्यन्त हाम्रो मन र मस्तिष्कमा गहिरो प्रभाव छेड्न सफल भएका थिए/छन्। साँच्चिकै भन्नुपर्दा गुरुहरूले पढाउने कला, गुरुवर्गहरूको हँसिलो मुहार, गुरु-विद्यार्थी सम्बन्ध र विद्यार्थीको मनमस्तिष्कमा दीर्घकालसम्म प्रभाव पार्न सक्ने शैक्षिक पाठ्यक्रमहरू वास्तवमै चोटिला, स्वादिला र कालजयी थिए। उदाहरणार्थः न्याउरी मारी पछुतो, लालु र कालु, झूटो बोल्यो कि पोल्यो, कमिला र ढुकुरको कथा, दाउरे र बञ्चरो, कछुवा र खरायोको दौड, चरीको विलाप, भँगेरा र भँगेरी, किसानको रहर, काठमाडौं शहर, ताराबाजी लै लै, पाप लाग्छ (नटिप्नु फूलका कोपिला), व्याधा र हरिण, भानुभक्त र घाँसी, यात्री, पागल, आफूलाई बिर्संदा आदि सदा स्मरणयोग्य छन् जसलाई स्मरण गर्दा आज पनि उत्तिकै ऊर्जा एवं प्रेरणा प्राप्‍त हुन्छ।

वास्तवमा यस्ता मौलिक पाठ्यक्रमहरूको निर्माण एवं अध्यापनले विद्यार्थीको बालसुलभ मनमस्तिष्कमा दूरगामी प्रभाव पार्ने मात्र नभएर उनीहरूको शैक्षिक भविष्य र जीवनको प्रतिकूल परिस्थितिमा निर्णायक क्षमतालाई पनि आध्यात्मिक रूपमा निर्देशन एवं अभिप्रेरित गर्दछ। शास्‍त्र (गीता) मा पनि बताइएको छ कि जो आफ्नो लक्ष्यमा दृढ छन् तिनको उद्देश्य पनि एउटै हुन्छ तर जो दृढ प्रतिज्ञ छैनन् तिनको मन र बुद्धि अनेक शाखाहरूमा विभाजित हुन्छ। फलस्वरूप आज अधिकांश मानिस तथा विद्यार्थी आफ्नो जिन्दगी र भविष्यका बारेमा दिग्भ्रमित एवं विचलित छन्। त्यसैले शैक्षिक पाठ्यक्रमहरूमा नैतिक तथा आध्यात्मिक शिक्षाको अभाव खट्किएको बारम्बार महसुस गरिनु स्वाभाविक हो, जुन वर्तमान समाजमा दिन प्रतिदिन बढ्दै गएको अपराध, अराजकता र उच्छृंखलताको पराकाष्‍ठा आध्यात्मिक ज्ञानको अभावको कारण सृजित परिणाम हो भन्दा फरक नपर्ला।

तर विडम्बना ! आजकल अधिकांश विद्यार्थी कविता पढ्दैनन्। कथा सुन्दैनन्। आफ्नो देशको कला, भाषा, धर्म, साहित्य, भूगोल वा इतिहासमा कुनै अभिरुचि नै छैन। केवल मोबाइल चलाउन अभ्यस्त हुँदै गएका छन् जसले गर्दा उनीहरूमा मौलिकता नै हराइसकेको छ। सृजनशील क्षमताको नितान्त अभाव देखिन्छ। धैर्य पटक्कै छैन। सानातिना कुरामा पनि चाँडै रिसाउने र झर्किने गर्दछन्। केही भन्यो कि अँध्यारो मुख लगाउँछन्। ठूलो गाली गर्‍यो कि कतै ज्यानै फाल्लान् भन्ने डर।

लाग्दछ, उनीहरूको उर्वर मस्तिष्क मोबाइलले खरानी पारिसक्यो। दिनभर मोबाइलमा घोप्टिन्छन्। अँध्यारो कोठामा लुक्छन्। सूर्य कतिबेला उदायो वा अस्तायो कुनै अत्तोपत्तो नै छैन।

फेसन (पहिरन) टिकटक अनुसार चाहिने। कानमा ‘इयरफोन’को ठेडी कोचेर प्रायः र्‍याप गीतहरू सुन्छन्। दिउँसै झ्याप हुन्छन्। खाजा पनि प्रायः ड्राइफुड मात्र रूचाउँदछन्। अनि ब्रोइलर कुखुराको मासु विना भात नै खाँदैनन्। त्यसैले लाग्दछ कि उनीहरू पनि ब्रोइलर कुखुरा जस्तै मन्द बुद्धिका हुँदै गएका छन्।

उर्फ ! सबभन्दा मलाई अप्ठ्यारो र लज्जास्पद महसुस त त्यसबेला हुन्छ कि उनीहरू नेपाली भाषा बोल्न र लेख्न पनि राम्रोसँग जान्दैनन्। ह्रस्व र दीर्घ खुट्याउन त परै जाओस्, खुट्टो काटिएका र टुक्रिएका वा टुक्र्याइएका अक्षरहरू स्पष्टसँग जिब्रो फट्कारेर उच्चारण गर्न पनि सक्दैनन्-जान्दैनन्। जब कि उनीहरू माध्यमिक तह पार गरेर उच्च शिक्षामा अध्ययनरत नौजवान विद्यार्थी हुन्। दिशा र दिसा छुट्याउन नसक्ने विद्यार्थीले कसरी आफ्नो भविष्य, जिन्दगी र देशको दिशा बदल्न सक्दछन् ? यसबाट राज्य र अभिभावकले के अपेक्षा गर्ने ? आखिर दोष कसको ? दोषी को ? सरकार, अभिभावक, शैक्षिक संस्था, स्वयं विद्यार्थी या समाज कि सचेत नागरिक ?

म बाटोमा पनि चुकचुकाइरहें। जब आफ्नो देश दुख्दा नदुख्ने छाती, देश रूँदा नरुने वा नरसाउने आँखा र देशलाई आवश्यक परेको बेला मन, वचन र कर्मले प्राणोत्सर्ग गर्न तयार नहुने नागरिक के नागरिक ? नेपाली हामी रहौंला कहाँ नेपालै नरहे …!

देशमा एउटा ठूलो डफ्फा छ जो आफ्ना लालाबाला र सन्ततिहरूको भाग्य र भविष्य आफ्नी गृहलक्ष्मीको हातमा सुम्पेर श्रीमान्‌हरू विभिन्न पेशा र रोजीरोटीको सिलसिलामा घर छोड्न बाध्य छन्। श्रीमतीले पनि आफ्ना छोराछोरीहरूको सम्पूर्ण भरोसा विद्यालयमा सुम्पिन्छिन्। त्यसैगरी विद्यालयहरूले विद्यार्थीको भविष्य शिक्षकहरूको काँधमा सुम्पेका हुन्छन्।

म सोच्न बाध्य हुन्छु कि देशभक्त हुनुपर्ने एउटा जिम्मेवार नागरिक किन दिनदहाडै देश छोडेर विदेश जाने कुरा गर्छ ? किन नेपाल भूमिमा सुरक्षित भविष्य देख्दैन ऊ ? अनि मनमस्तिष्कमा कहाँबाट प्रवेश गर्दछन् देशबाट अचानक पलायन हुने कुराहरू ?

मैले आजसम्म यसको सन्तोषजनक जवाफ पाउन सकेको छैन- “किन कमजोर सावित हुँदैछ राष्‍ट्रप्रेम ? किन दिनप्रतिदिन चोइटिंदैछ राष्‍ट्रिय एकता ? किन स्खलित हुँदैछ सामाजिक सद्भाव ? किन छचल्किंदैन कोही कसैको हृदयमा राष्ट्रभक्ति ? किन टुसाउँदैन मनमस्तिष्कमा राष्ट्रिय एकताको टुसो ? किन अङ्कुरण हुँदैन मुटुमा राष्ट्रको निस्वार्थ प्रेम ? किन नाकको टुप्पोमा ठोस्सिंदैन माटोको सुगन्ध ? अनि आँखामा हाले पनि नबिझाउने प्यारो देश छोडेर किन विदेश जान मरिहत्ते गर्दैछन् नेपालीहरू ?”

आखिर किन ? मैले चारैतिर फगत अँध्यारो, छलकपट र अस्तव्यस्त देख्न थालें। आफैंले टेकेको जमिन भासिएको देखें। प्रायः मानिसहरूमा नैतिक इमान गुमेको देखें। यस्तो अस्तव्यस्तताको जगमा म कुन आशा, विश्‍वास र भरोसाको जंगे पिल्लर निर्माण गरूँ ? मैले यावत् समस्या र चुनौतीका बीच एउटै मात्र अक्षम्य दोष देखें। त्यो हो- “हामीले देश विकासको नाममा केवल आदर्श र आश्‍वासनको गुलिया चकलेटहरू मात्र बाँड्यौं। नेपथ्यमा अकुत सम्पत्ति कमाउने/कुम्ल्याउने गुप्‍त योजनालाई अघि सारेर ‘रेमिट्यान्स’ भित्र्याउने वहानामा आफ्नै देशका सोझा नागरिकहरूलाई जबर्जस्त विदेश खेद्‍ने कुटिल महत्त्वाकांक्षाको ग्रेटवाल निर्माण गर्‍यौं। तर आफ्ना सन्ततिहरूको मनमस्तिष्कमा नेपाल र नेपालीको सुरक्षित, सुनिश्चित एवं उज्ज्वल भविष्य निर्माणको लागि भीष्म प्रतिज्ञा सहितको धरहरा निर्माण गर्न सकेनौं। मुटुको स्पन्दनभित्र विश्‍वलाई हायलकायल पार्ने वैदिक सनातन धर्म र आध्यात्मिक एवं आर्य सभ्यताको मर्मलाई उद्‍बोधन गर्ने सर्वोच्च शिखर ‘सगरमाथा’ स्थापित गर्न सकेनौं। शिरमा अनेक विविधतामा राष्‍ट्रिय एकताको प्रतिविम्ब झल्किने सुनौलो चन्द्र र सूर्य अङ्कित नेपाली राष्ट्रिय झण्डा फहराउन सकेनौं। आँखामा नेपाल आमाको सुन्दर विग्रह सजाउन सकेनौं। साथै, अहिंसाका प्रवर्तक भगवान् गौतम बुद्धको देश भनेर विश्‍वले गर्व गर्ने एउटा अलौकिक वेदभूमिका बासिन्दा भएर पनि हामीले आफ्नै नागरिकहरूको हृदयमा विश्‍व शान्ति र मानवताको सन्देश बीजारोपण एवं प्रवाहित गर्न सकेनौं। जसले गर्दा आज हामी राडी बेचेर खाडी जान बाध्य भयौं। विदेशीहरूको दास मात्र होइन अकालमा मृत्युको गास भएर बाकसमा फर्किन अभिशप्‍त छौं।

साँच्चिकै ‘वसुधैव कुटुम्बकम्’ मा विश्‍वास एवं गर्व गर्ने हामी नेपालीहरू यतिखेर विश्‍व मानचित्रमा एक मात्र सनातन वैदिक भूमि ‘नेपाल’ को दर्शन गर्न आतुर एवं नतमस्तक हुने विदेशी पाहुनाहरूको भव्य स्वागतार्थ हातमा माला र पुष्पगुच्छा लिएर जुटिरहेका हुनेथियौं न कि विदेशी भूमिमा पिक, सावेल र गैंती उचाल्न विवश। र, नेपथ्यमा एउटा राष्ट्रिय गीत गुञ्जायमान भइरहेको हुनेथियो– गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली, जय जय जय हे नेपाल सुन्दर शान्त विशाल …. !

चाणक्य नीतिका अनुसार विपरीत दिशाबाट बहेको हावाको झोक्कालाई प्रतिकार गर्न नसक्ने वृक्ष कि भुईंमा ढल्दछ/ढल्नुपर्दछ कि त उसको हाँगाहरू लाछिन्छ वा भाँचिन्छ। सन्ततिहरूको संस्कार र शिक्षाको हकमा पनि यही नीति लागू हुन्छ। अभिभावक वा घरलाई पहिलो पाठशाला मानिन्छ। विद्यालयलाई दोस्रो पाठशाला मानिन्छ भने समाज तेस्रो पाठशाला।

समग्रमा सरकार सम्पूर्ण रूपमा देशको जिम्मेवार अभिभावक र संरक्षक हो। तसर्थ एउटा रगतको डल्लो हुर्काउन, शिक्षित तुल्याउन र उसलाई देशको एउटा जिम्मेवार नागरिक बनाउने कुरा वास्तवमा कठिन तपस्या हो। यो कार्य सम्बन्धित अभिभावक, शैक्षिक संस्था र सरकार यी तीन अङ्गहरूको परस्पर सहकार्य एवं समन्वयबाट मात्र सम्भव छ। यसको लागि जनमानसमा आध्यात्मिक ज्ञान वितरण गर्न र शैक्षिक पाठ्यक्रमहरूमा आध्यात्मिक शैक्षिक नीति अविलम्ब लागू गर्न अत्यन्त अनिवार्य छ।

बिदाको समय घर्किन लागेकाले म हतार–हतार आफ्नो साथमा तीन थान पुस्तक श्रीमद्‌भगवद्‍गीता यथारूप, महर्षि वेदव्यास र नेपाली बृहत् शब्दकोश बोकेर आफ्नो पूर्ववत् थलोमा फर्किएँ ताकि यसबारे केही कुरा लेखूँ। समग्रमा म एउटा निष्कर्षमा आएर टुङ्गिएँ जुन मेरो लेखनको मुख्य मर्म यसैमा निहित रहेको छः

“साधारण मानिसहरूलाई व्यावहारिक आचरणद्वारा जनतालाई शिक्षा दिनसक्ने एउटा नेताको सधैं आवश्यकता हुन्छ। स्वयं आफैं धुम्रपान गर्ने नेताले जनतालाई धुम्रपान नगर्ने शिक्षा दिन सक्दैन। भगवान् चैतन्य महाप्रभुले भन्नुभएको छ- ‘शिक्षकले शिक्षा दिनुभन्दा पहिले त्यो कुरालाई आफैंले आचरण गरेर देखाउनुपर्दछ।’ यस किसिमको व्यावहारिक शिक्षा दिने शिक्षकलाई आचार्य वा आदर्श शिक्षक भनिन्छ। त्यसैले सर्वसाधारणलाई शिक्षा दिने शिक्षकले शास्‍त्रका सिद्धान्तको पालना गरेकै हुनुपर्दछ। तसर्थ नेता वा शिक्षकको उपदेश यस्तै प्रामाणिक शास्‍त्रका सिद्धान्तमा आधारित हुनुपर्दछ। राज्यको राजा होस् वा प्रशासन प्रमुख होस्, स्कूलको शिक्षक होस् वा घरको बाबु होस् यी सबै सर्वसाधारण अबोध मानिसहरूका स्वाभाविक नेता मानिन्छन्। यस्ता सबै प्रकारका स्वाभाविक नेताहरूको आफ्ना आश्रितहरूप्रति एउटा ठूलो जिम्मेवारी हुन्छ। अतः तिनीहरू सबै नैतिक तथा आध्यात्मिक नियमका प्रामाणिक पुस्तकहरूसँग राम्ररी परिचित हुनु आवश्यक छ।” – पृष्‍ठ १५८, श्रीमद्‍भगवद्‍गीता यथारूप।

म बाटोमा पनि चुकचुकाइरहें। जब आफ्नो देश दुख्दा नदुख्ने छाती, देश रूँदा नरुने वा नरसाउने आँखा र देशलाई आवश्यक परेको बेला मन, वचन र कर्मले प्राणोत्सर्ग गर्न तयार नहुने नागरिक के नागरिक ? नेपाली हामी रहौंला कहाँ नेपालै नरहे …!

अन्त्यमा प्रिय छोरी ! मैले हिम्मत हारेको छैन। ऋण काढेर वा आफ्नो मिर्गौला बेचेरै भए पनि विदेश जाने तिम्रो हठ ढिलोचाँडो अवश्य पूरा गरूँला। तर म ‘जग्गा’ बेचेर तिम्रो विदेश जाने कहर पूरा गर्न असमर्थ छु। किनकि आगामी लाखौं शताब्दीसम्म नेपालको अनिश्‍चित राजनीतिक भविष्यलाई निश्‍चित गन्तव्यसम्म आँक्नको लागि आवश्यक एउटा असल सन्तान जन्माउने मातृरूपी नेपाल आमाको पवित्र कोख र धर्तीको माटोमाथि मलाई ठूलो आत्मविश्‍वास एवं भरोसा छ। शहीदको रगत, देशभक्त नेपालीको आँशु र रेमिट्यान्सको पसिनाले निथ्रुक्कै भिजेको मातृभूमिलाई बन्धकी राखेर यो देशको माटो (जन्मभूमि) सँग म कुनै पनि किसिमको सम्झौता गर्न सक्दिनँ/गर्ने छैन चाहे जुनसुकै मूल्य चुकाउनु किन नपरोस्। जननी जन्मभूमिश्‍च स्‍वर्गादपि गरीयसी! बरू देशले रगत मागे मलाई बलि चढाऊ! हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला …. ! जय मातृभूमि नेपाल !

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -