-११ मंसिर, काठमाडौं । नेपालले बिली जिन किङ कप (एसिया-ओसिएना) मा मंगलबार लगातार दोस्रो जित हात पारेको छ ।
नेपाल टेनिस संघका सदस्य एवं नेपाली टोलीका व्यवस्थापक अजय विष्टका अनुसार समूह ‘बी’ मा नेपाली महिला टोलीले गुआमलाई ३–० ले पराजित गर्यो ।
बहराइनको मानामामा जारी प्रतियोगिताको सिंगल्समा नेपालकी अभिलाषा विष्टले फ्रेमोन्ट गिब्सनलाई ६–७(३), ७–५ र ६–२ ले पराजित गरिन् । अर्को सिंगल्समा नेपालकी सुनिरा थापाले अमेल्ले हेलेन पेरेजलाई ६–० र ६–० ले सहजै हराइन् ।
डबल्समा नेपालका स्वस्तिका विष्ट र प्रकृति श्रेष्ठको जोडीले फ्रेमोन्ट र इस्पिनोसाको जोडीलाई सीधा सेटमा ६–१ र ६–१ ले पाखा लगाए ।
ग्रुप ३ को प्रतिस्पर्धामा यसअघि नेपालले समूह चरणको पहिलो खेलमा कतारलाई २–१ पाखा लगाउँदै विजयी सुरुआत गरेको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार फिलिपिन्सको सामना गर्ने छ ।