Wednesday, November 27, 2024
घरसमाचारविश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन

लन्डन । विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उहाँको परिवारलाई उद्धृत गर्दै बताएको छ ।

टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो र सोमबार उहाँको निधन भयो ।

अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उहाँ विश्वका सबैभन्दा वृद्ध व्यक्ति बन्नुभएको थियो ।

“उहाँको अन्तिम दिन सङ्गीत र प्रेमले घेरिएको थियो”, परिवारले एक विज्ञप्तिमा भनेको छ, “वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।”

टाइटानिक जहाज डुबेको सोही वर्ष जन्मनुभएका र दुवै विश्वयुद्धबीच जीवित रहनुभएका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई उहाँको दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताउनुभएको थियो ।

“तपाईं या त लामो बाँच्नुहुन्छ वा तपाईं छोटो बाँच्नुहुन्छ र तपाईं यसका बारेमा धेरै गर्न सक्नुहुन्न”, उहाँले भन्नुभएको थियो ।

उहाँले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिनुभएको थियो । “यदि तपाईँ धेरै पिउनुहुन्छ वा धेरै खानुहुन्छ वा धेरै हिँड्नुहुन्छ भने, यदि तपाईँले धेरै केही गर्नुभयो भने, तपाईँले अन्ततः कष्ट भोग्नुहुनेछ”, उहाँले भन्नुभयो ।

दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गर्नुभयो र पछि शेल र बीपी जस्ता तेल कम्पनीहरूमा हिसाब किताबको काम गर्नुभयो ।

उहाँ लिभरपुल फुटबल क्लबका आजीवन समर्थक हुनुहुन्थ्यो र हरेक शुक्रबार माछा र चिप्स खानुहुन्थ्यो ।

विश्वको सबैभन्दा वृद्ध महिला जापानकी ११६ वर्षीया टोमिको इटुका हुनुहुन्छ । रासस

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -