११ मंसिर, काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका विदेशी खेलाडीद्वय चाडविक वाल्टन र बाबर हायात नेपाल आइपुगेका छन् ।
वेस्ट इन्डिजका वाल्टन र हङकङका हायात मंगलबार काठमाडौं आइपुगेका हुन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।
सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध डेब्यु गरेका दाँयाहाते विकेटकिपर ब्याटर वाल्टनले वेस्ट इन्डिजका लागि टी२०आईमा १९ खेल खेल्दा २२५ रन बनाएका छन् भने सबैखाले टी२० मा १८८ खेलमा ३५७८ रन बनाएका छन् ।
वाल्टनले यसअघि पनि नेपालमा आएर टी२० क्रिकेट खेलिसकेका छन् । सन् २०२२ मा भएको नेपाल टी२० लिगमा उनले जनकपुर रोयल्सबाट खेलेका थिए ।
त्यस्तै बाबर हायात नेपाल र नेपाली क्रिकेट लिगमा परिचित नाम हो । हङकङको टोलीबाट पनि धेरैपटक नेपाल आएर खेलिसकेका दाँयाहाते ब्याटर हायातले यसअघि नेपाली लिगहरू पनि खेलिसकेका छन् ।
हायातले हङकङका लागि टी२० अन्तर्राष्ट्रियमा ७९ खेलबाट २ शतकसहित १९१० रन बनाएका छन् भने सबैखाले टी२०मा १०५ खेलमा २३९८ रन बनाएका छन् ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।
कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपीएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् । त्यस्तै ओमानका पूर्व कप्तान जीशान मक्सूद पनि टोलीमा छन् ।
एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरसँग खेल्नेछ ।