नेकपा माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका प्रा.डा. शिवशरण महर्जन यसपटक जित्नेमा ढुक्क देखिएका छन् । २०७९ को चुनावमा पनि उम्मेदवार बनेर कांग्रेससँग हारेका महर्जन त्यसबेलाको परिस्थिति अहिले नरहेकाले जित्ने आधार तयार भएको बताउँछन् ।
विशेषगरी त्यो चुनावमा एमाले विरुद्ध मोर्चाबन्दी गर्ने लहरमा माओवादीको तयारी कमजोर भएको उनी बताउँछन् । तर यसपटक जित्नेमा उनी आशावादी छन् । उनै महर्जनसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी :
उपचुनावको प्रचार टुंगिदैछ, तपाईंले घरदैलो अभियानमा कस्तो माहोल पाइराख्नुभएको छ ?
राम्रो भइरहेको छ । यसभन्दा अगाडि कीर्तिपुर नगरपालिकामा नेकपा एमाले, नेपाली कांग्रेसले नेतृत्व पाइसकेको छ । अब माओवादीको पालो भन्ने छ । घरदैलो अभियानमा हिंडिरहँदा यहाँका सबै मानिसले अब तपाईंले नै नेतृत्व गर्नुपर्छ भनेर प्रतिक्रिया दिइराख्नुभएको छ । म उत्साहित नै छु । अब जित्छु भन्नेमा आशावादी नै छु ।
तपाईंको नारा पनि ‘अरूलाई धेरै पटक हेरियो, अब यसपटक मलाई हेर’ भन्ने रहेछ…
एकपटक मौका दिनुस् भनेर भनिरहेको छु । यहाँका जनताले यसअघिका सामाजिक कामलाई हेरेर होला, सबै सकारात्मक नै हुनुहुन्छ ।
तपाईंलाई हेर्ने हो कि माओवादीलाई बढी हेर्ने हो ?
दुवै कुरा हो । कसैलाई चिह्न मन नपर्ने रहेछ । कसैलाई मान्छे मन नपर्ने रहेछ । म माओवादीको चिह्न लिएर उठेको छु । माओवादीको सिद्धान्त बोकेको हुँ । तर यस नगरपालिकाको के समस्या छन् मैले नजिकबाट चिनेको छु । विकास निर्माणदेखि यहाँ भएका स-साना समस्यालाई समाधान गर्न सक्छु भनेर नै पुनः चुनावमा होमिएको हुँ ।
यहाँका नागरिकले २०६४ सालमा पनि प्रचण्डलाई जिताएका थिए । माओवादीको चिह्न मन नपर्नुको कारण के छ र ?
त्यो कुरा मसँग सोध्ने होइन नि ! त्यो त जनताले भनिरहेको कुरा हो । मेरो काम राम्रो देखेर नै माओवादीले पुनः टिकट दिएको हो । यहाँका जनताले काम गर्न सक्छ भनेर रुचाउनुभएको छ ।
माओवादी बाहेक दलहरूको समर्थन…
माओवादी सबै अहिले एकै ठाउँमा आउनुभएको छ । पहिला यताउति हुनुभएको थियो । उहाँहरू सबै एकै ठाउँमा समेटिनुभएको छ । अन्य पार्टीका साथीहरूले पनि मलाई सहयोग गर्दा जित निश्चित नै छ ।
यसभन्दा अगाडि पनि चुनावमा लड्नुभएको थियो । त्यसबेला र अहिले के फरक छ ?
धेरै फरक पाएको छु । त्यसबेला पार्टीकै प्राविधिक गल्तीले गर्दा हारेको थिएँ । त्यसबेला एक खालको लहर थियो । माओवादीका कार्यकर्तामा एमाले हराउने लहर थियो । त्यसबेला हाम्रो पार्टीले ३ वडामा उम्मेदवारी नै दिएको थिएन । माओवादीले ३ वडामा उम्मेदवारी नै छोडेकाले र एमाले हराउने लहरमा हार्न पुगें ।
यसपटक त्यस्तो छैन ?
अहिले ठूला दलको प्रतिस्पर्धा छ । यहाँका नागरिकले स्थानीय तहमा अन्य राजनैतिक दलका मानिस सबैलाई परीक्षण गरिसकेका छन् । उहाँहरूको काम देखेर नै आजित भए । तर यसपटक मलाई हेर्न भनिरहनुभएको छ । म स्पष्ट छु– यहाँका जनता मेरै पक्षमा हुनुहुन्छ ।
आत्मविश्वास कस्तो छ ?
म आत्मविश्वासको साथ नै घरदैलो अभियानमा हिंडिरहेको छु ।
आफूले चुनाव जित्दा यो काम गरिछाड्छु, तर अरूले सक्दैनन् भन्ने एजेण्डा ?
मैले विशेष नारा दिएको सुशासन नै हो । भ्रष्टाचारमुक्त र व्यवस्थित कीर्तिपुर नगर बनाउने हो । त्यसबाहेक विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीका कुराहरू मैले एजेन्डाको रूपमा उठाएको छु ।
यस्ता विषय त अरूले पनि उठाइरहेका छन् नि ?
उठाउन त उठाए नि ! तर काम हुनुपर्यो नि !
तपाईंले उठाएका एजेण्डा पूरा गर्ने आधार चाहिं के छ ?
म अहिले मात्रै होइन, सामाजिक क्षेत्रमा काम गरेको धेरै वर्ष भइसक्यो । कीर्तिपुर नगरपालिकामा खानेपानी, यातायात, शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छु । कतिपय अन्य दलका साथीहरूलाई समेत नेतृत्व गरेर सामाजिक काम गरेको छु ।
तपाईंको प्रतिस्पर्धा कोसँग हुन्छ जस्तो लागेको छ ?
ठ्याक्कै भन्न त गाह्रो छ । तर कांग्र्र्रेस र एमालेका साथीहरू नै मेरो प्रतिस्पर्धी हो ।
उहाँहरूले हार्नुपर्ने कुनै मुख्य कारण ?
अहिले देखिएको राष्ट्रिय परिस्थिति पनि एक हो । १८ महिना माओवादी सरकारमा बस्दा गरेका राम्रा कामको कारणले सत्ताबाट हटाउन अन्य दलले प्रपञ्च गरेका थिए । भ्रष्टाचारीलाई बचाउन माओवादीलाई सरकारबाट हटाए ।
जबकि माओवादी सरकारमा हुँदा भ्रष्टाचार मुक्त गर्ने, सुशासन कायम गर्ने, लोडसेलिङ अन्त्य गर्ने, मिटरब्याजीको समस्या समाधान गर्ने काम गरेको थियो । त्यसकारण माओवादीले राम्रो काम गरिरहेको छ भन्ने छाप परेको छ ।
दलका मानिसले काम गर्दैनन् भनेर स्वतन्त्रलाई जिताउनुपर्छ भन्दै कुलमान घिसिङदेखि हर्क साम्पाङ हिंडिराख्नुभएको छ । तपाईंको मत के छ ?
कीर्तिपुर नगरपालिकामा ११ जना स्वतन्त्र नाम लिएर उठ्नुभएको छ, कसलाई विश्वास गर्ने ? उहाँहरूको सिद्धान्त के हो ? उहाँहरू लहडमा मात्रै चुनाव लड्न आउनुभएको हो । कीर्तिपुर नगरपालिकाको अवस्था थाहा नभएको पनि हुनसक्छ । कीर्तिपुरमा स्वतन्त्रले जित्ने स्थिति छैन ।
तपाईं नै जित्नुहुन्छ ?
मैले नै जित्छु भनेर दिन–रात अगाडि बढिरहेको छु ।
तपाईं बाहिर–बाहिर नमस्कार गर्र्दै हिंड्नुहुन्छ तर अरू घरघर पुगिसके भन्ने पनि रहेछ नि !
स्वतन्त्र उम्मेदवारहरू घर भित्र–भित्र जानुभएको होला । उनीहरूको पहिल्यै उम्मेदवारी निश्चित भएको थियो । जहाँसम्म नेपाली कांग्रेसले सबैभन्दा पछाडि उम्मेदवार घोषणा गरेको थियो । समय अभावको कारणले पनि सबै घरमा गएर बस्न नपाएको हो । पहिलो उम्मेदवार घोषणा निश्चित भइसकेकाको बढी घुम्ने मौका भयो होला !