पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १७ औँ संस्करणको हिसान कास्की स्पोर्टस मिट २०८१ सुरु भएको छ ।
सोमबार देखि सुरु भएको प्रतियोगिता अन्तर्गत पहिलो दिन छात्र बास्केटबलतर्फ १४ खेलहरू सम्पन्न भएका छन् ।
अनौपचारिक रुपमा सुरु भएको प्रतियोगिताको पहिलो दिन पोखरा रङ्गशालामा रहेको बास्केटबल कोर्ट र पुन समाज बास्केटबल कोर्टमा गरी प्लस टु तर्फ १४ खेल सम्पन्न भएको बास्केटबल खेलका संयोजक खिम बहादुर गुरुङले बताउनुभयो ।
१७ औँ संस्करणको हिसान स्पोर्टस मिट औपचारिक रुपमा मङ्गलवार उद्घाटन हुने भएको पूर्व अध्यक्ष बाबुराम पन्तले बताउनुभयो । प्रतियोगिताको उद्घाटन मङ्गलवार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्नुहुनेछ ।
प्रतियोगिता मङ्सिर १४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरू विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैबिच हिसान कास्कीले पोखरा रङ्गशालामा आयोजना हुने १७ औँ संस्करणको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गर्ने भएको छ ।