१० मंसिर, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार देशलाई संकटमुक्त बनाउने अभियानमा लागेको बताएका छन् ।
एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको जिकिर गरे ।
‘जसले मुलुकको अर्थतन्त्रलाई संकट पार्छ, त्यसमाथि प्रहार हुँदैन, जसले संकटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यसमाथि कसरी प्रहार हुन्छ भन्ने अहिले केपी ओलीमाथि भएको प्रहारले बुझ्न सकिन्छ’, महासचिव पोखरेलले भने ।
महासचिव पोखरेलले कतिपय निर्माण व्यवसायीहरूले काम गर्नका लागि लिएको ‘मोबिलाइजेशन फण्ड’ नाफा कमाउन जग्गामा लगानी गरेको, जग्गाको कारोबार सङ्कटमा पर्दा निर्माण व्यवसायी पनि संकटमा परेको र यसले गर्दा विकास निर्माण नै रोकिएको बताए ।
‘निर्माण व्यवसायीलाई राज्यले तय गरेको काम गर्न साझा आचारसंहिता बनाएर स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले भने ।
साथै, अहिलेको समय निर्माण क्षेत्रलाई स्वर्णयुग बनाउन सक्ने भएको र मुलकमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र अत्यन्त शक्तिशाली भएको उनले बताए ।