नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आगामी मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरू हुँदै छ ।
८ टोलीको सहभागिता रहने प्रतियोगितामा बागमती प्रदेशबाट तराई क्षेत्रको प्रतिनिधित्व गर्ने टिमको रूपमा चितवन राइनोज छ ।
यस टिमको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय टोलीका अलराउण्डर कुशल मल्ल छन् । उनी एनपीएलकै कान्छा मार्की खेलाडी हुन् । उनीसँग टोलीमा नेपाली राष्ट्रिय टोलीका भेट्रान खेलाडी शरद भेषावकर छन् । शरदले नेपालका लागि सन् २०१४ को विश्वकप खेलिसकेका छन् ।
त्यसैगरी टिमको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक उमेश पटवाल छन् । पछिल्लोपटक उनले नेपाल टी-२० लिगमा जनकपुरको मुख्य प्रशिक्षकको काम गरेका थिए भने त्यसअघि २०२१ मा एभरेष्ट प्रिमियर लिगमा पोखरामा रहेर पनि काम गरेका थिए । पोखरा प्रिमियर लिग २०१८ मा निर्देशकको रुपमा काम गरेका थिए ।
एनपीएलका लागि हरेक टिमले कम्तिमा चार खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान छ भने खेलाडीको उपलब्धता हेरेर ६ जनासम्म विदेशी खेलाडी टोलीले अनुबन्ध गर्न पाउँछ ।
चितवनले हालसम्म पाँचजना विदेशी खेलाडी अनुबन्ध गरेको छ जसमा इंग्ल्याण्डका अनुभवी खेलाडीदेखि एसोसिएटका कीर्तिमानी खेलाडीसम्म छन् ।
इंग्ल्याण्डका रवि बोपारा, इंग्ल्याण्डकै लुक बेन्केन्सटाइन, नामिबियाका जान निकोल लफ्टी इटन, अफगानिस्तानका हसन एइसाखिल र दक्षिण अफ्रिकाका मर्चेन्ट डे लाङ टोलीमा छन् ।
कस्ता छन् चितवनका विदेशी खेलाडीहरू ?
रवि बोपारा
इंग्ल्याण्डका ३९ वर्षीय बोपारा ब्याटिङ अलराउण्डरका रुपमा खेल्ने गर्छन् । दाँयाहाते ब्याटिङ गर्ने उनी मिडियम पेस बलिङ पनि फाल्न सक्छन् ।
उनले इंग्ल्याण्डका लागि टी२० आईमा ३८ खेल खेल्दा ७११ रन बनाएका छन् भने १६ विकेट लिएका छन् । त्यस्तै सबैखाले टी२० मा गरेर उनले ४७८ खेल खेल्दा ९४८६ रन बनाएका छन् र २९१ विकेट पनि लिएका छन् ।
सन् २०१० मा टी२० विश्वकप जितेको इंग्ल्याण्ड टोलीमा उनी पनि थिए । उनले आईपीएल, बीबीएल, द हन्ड्रेड, भाइटालिटी ब्लास्ट, इन्टरनेशनल लिग, पाकिस्तान, श्रीलंका, बंगलादेश, क्यारेबियन प्रिमियर लिग लगायतका धेरै फ्रेन्चाइज लिगहरु खेलिसकेका छन् ।
जान निकोल लफ्टी इटन
नामिबियाका २३ वर्षीय ब्याटिङ अलराउण्डर लफ्टी इटन विस्फोटक ब्याटिङका लागि परिचित खेलाडी हुन् । उनले १३० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्छन् ।
उनले नामिबियाका लागि टी२० आईमा ३९ खेल खेल्दा ४१४ रन बनाएका छन् भने १२ विकेट पनि लिएका छन् । त्यसैगरी सबैखाले टी२० मा उनले ५१ खेलमा ६०७ रन बनाएका छन् ।
उनले कीर्तिपुरमा नेपालसँगै भएको टी२०आई खेलमा ३३ बलमै शतक बनाएर कीर्तिमान बनाएका थिए । उक्त कीर्तिमान पछि इस्टोनियाका साहिल चौहानले २७ बलमै १०० बनाएर तोडेका थिए । एसोसियट क्रिकेटरमध्ये भने उनी कम बलमा शतक बनाउने लिस्टको शीर्षमै छन् ।
मर्चेन्ट डे लाङ
दक्षिण अफ्रिकाका ३४ वर्षीय बलर मर्चेन्ट अनुभवी खेलाडी हुन् । राष्ट्रिय टोलीबाट धेरै खेल नखेले पनि उनीसँग फर्स्ट क्लास र लिस्ट ए को राम्रो अनुभव छ ।
दाँयाहाते बलिङ गर्ने उनले फर्स्ट क्लासमा १०८ खेलमा ३७५ विकेट लिएका छन् भने लिस्ट ए मा ९८ खेलमा १७० विकेट लिएका छन् । त्यस्तै सबैखाले टी२० मा गरेर उनले १५१ खेलमा १६६ विकेट लिएका छन् । बलर भएपनि उनले आवश्यकता अनुसार रन जोड्न योगदान पनि दिन सक्छन्।
उनले भाइटालिटी ब्लास्ट, इन्टरनेशनल लिग, द हन्ड्रेड, एमजान्सी सुपर लिग, सीपीएल र आइपिएल लगायत चर्चित लिग खेलेका छन् ।
लुक बेनकेन्सटाइन
इंग्ल्याण्डका २० वर्षीय लुक अलराउण्डरको भूमिकामा खेल्न सक्छन् । दाँयाहाते ब्याटिङ गर्ने उनले लिस्ट ए मा १९ खेल खेल्दा ४५१ रन बनाएमा छन् । त्यस्तै लेग ब्रेक बलिङ गर्ने उनले १३ विकेट पनि लिएका छन् ।
सबैखाले टी२० मा उनले ११ खेल खेल्दा १३६ रन बनाएर ४ विकेट पनि लिएका छन् । उनले सन् २०२४ को यू-१९ विश्वकपमा इंग्ल्याण्डको उपकप्तानको भूमिकामा खेलेका थिए । त्यहाँ उनले ब्याटिङ्बाट उल्लेख्य योगदान दिन नसक्दा बलिङबाट ४ विकेट लिएका थिए ।
त्यस्तै उनले भाइटालिटी ब्लास्टमा एसेक्सबाट खेलेका छन् ।
हसन एइसाखिल
अफगानिस्तानका युवा खेलाडी हसन ओपनिङ ब्याटिङ गर्ने गर्छन् ।
१८ वर्षका दाँयाहाते ब्याटर एइसाखिलसँग १६ टी२० खेलको अनुभव छ जहाँ उनले ४२६ रन बनाएका छन् । यसबाहेक उनी अफगानिस्तानको यू-१९ टोलीबाट खेलेका छन् जसमा उनले ८ खेलमा १३२ रन बनाएका छन् ।
उनले अफगानिस्तानबाट पछिल्लो पटकको आइसीसी यू-१९ विश्वकप खेलेका थिए ।